सोमबार, २५ श्रावण, २०८३

आगलागी पीडितलाई गुठीचौर गाउँपालिकाले दियो, राहत

जुम्लाको गुठीचौर गाउँपालिका–१ गडिगाउँमा आगलागीबाट घरसहित धनमाल गुमाएकी ठिसिनी एडिलाई गाउँपालिकाले तत्काल राहत सामग्री उपलब्ध गराएको छ। एकल महिला तथा अपाङ्गता भएकी ठिसिनी ऐडीको साढे दुईतले काठको घर शनिबार राति आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको थियो।

आगलागीबाट करिब २२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। घरसँगै त्यहीँ सञ्चालन गरिएको किराना पसलका करिब ५ लाख रुपैयाँ बराबरका सामान, अन्नपात, सुन, घरायसी सामग्री र एउटा बाख्रासमेत जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन।

घटनाको खबर पाएलगत्तै गुठीचौर गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा वडा नं. ५ का अध्यक्ष कमलबहादुर महत, वडा नं. १ का अध्यक्ष अर्जुनकुमार महतारा, वडा नं. ४ का अध्यक्ष टिकादत्त न्यौपाने लगायत जनप्रतिनिधि तथा कर्मचारीको टोली शनिबार बिहानै घटनास्थल पुगेको थियो।

गाउँपालिका टोलीले पीडित परिवारलाई तत्कालका लागि खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र पाल लगायतका सामग्री गरि करिब ५० हजार बढीको राहत उपलब्ध गराएको छ। गाउँपालिकाले उपलब्ध गराएको राहतलाई दीर्घकालीन पुनःस्थापनाको विकल्प नभई तत्कालका लागि ‘मलमपट्टी’का रूपमा लिएको जनाएको छ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलबहादुर महतले आगलागीको खबर पाएपछि राति नै गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष तथा सम्बन्धित टोलीसँग समन्वय गरिएको बताए।

‘राति १२ बजेर ३२ मिनेटमा खबर पाउनेबित्तिकै हामीले गाउँपालिका अध्यक्ष, वडा अध्यक्षज्यूहरू र सम्पूर्ण टिमसँग फोनबाट समन्वय गर्‍यौँ,’ उनले भने, ‘सरकार नागरिकको साथमा छ भन्ने प्रत्याभूति दिलाउन तत्काल एक महिनासम्म पुग्ने लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न र पाल ल्याएर आएका छौँ।’

गाउँपालिका अध्यक्ष विशेष कामले बाहिर रहेकाले आफूलाई घटनास्थलमा पुगेर तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएको पनि महतले बताए।

‘उहाँले फोन गरेर तुरुन्तै त्यहाँ गएर आज जसरी पनि राहत दिनु भन्नुभएको थियो। त्यसैले हामी यहाँ आएका हौँ,’ उनले भने, ‘यो उहाँहरूलाई मात्रै परेको दुःख होइन, यो हाम्रो पनि दुःख हो। उहाँहरूको दुःखसँग हामीले पनि आफ्नो दुःख मिसाउन पाउनुपर्छ।’

तर घर पुनर्निर्माणका लागि आवश्यक ठूलो क्षतिपूर्ति गाउँपालिकाको स्रोतबाट मात्रै दिन नसकिने उनको भनाइ छ। त्यसैले तत्कालका लागि राहत र आगामी दिनमा पुनःस्थापनाका लागि माथिल्ला सरकारसँग समन्वय गर्ने उनले बताए।

गुठीचौर गाउँपालिका–४ का वडा अध्यक्ष टिकादत्त न्यौपानेले विपद् कुनै पूर्वसूचनासहित नआउने भएकाले यस्ता घटनामा स्थानीय सरकार र समुदायको तयारी महत्वपूर्ण हुने बताए।

‘बाढी आउँछ, सोधेर आउँदैन; आगलागी हुन्छ, सोधेर हुँदैन। यस्ता अप्रत्याशित घटनालाई नै विपद् भनिन्छ,’ उनले भने।

उनका अनुसार गाउँपालिकाले तत्कालका लागि पीडित परिवारलाई करिब १० देखि १५ दिनसम्म धान्न सक्ने गरी विभिन्न सामग्री उपलब्ध गराएको छ।

‘सर्वप्रथम ईश्वरलाई धन्यवाद दिन चाहन्छु, मानवीय क्षति भएन,’ न्यौपानेले भने, ‘गाउँबासीको सक्रियता नभइदिएको भए ठूलो मानवीय क्षति हुन सक्थ्यो। सम्पूर्ण गाउँबासी लागेर आगोलाई नियन्त्रणमा ल्याउनुभयो। त्यसका लागि गडिगाउँबासीलाई धन्यवाद दिन चाहन्छु।’

दीर्घकालीन रूपमा पीडित परिवारको आवास निर्माणका लागि गाउँपालिकाबाट जिल्ला प्रशासन, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्ने उनले बताए।

‘जनता आवास कार्यक्रममार्फत घर निर्माणका लागि हामी निरन्तर पहल गर्नेछौँ,’ उनले भने, ‘गुठीचौर गाउँपालिकाले यस विषयमा तीव्रताका साथ पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।’

गुठीचौर गाउँपालिका–१ का वडा अध्यक्ष अर्जुनकुमार महताराका लागि आगलागीले एउटा घर मात्रै जलेको घटना होइन, घरसँगै पीडितको जीवनको आधार नै गुमेको अवस्थासँगै जुत्नुपरेको बताए।

‘मानवीय क्षति भएन, त्यसका लागि हामी खुसी छौँ,’ वडा अध्यक्ष महताराले भने, ‘तर जसको घर हुँदैन, उसको केही पनि हुँदैन भन्ने गरिन्छ। अहिले ठिसिनी दिदीसँग केही पनि छैन।’

उनले पीडित परिवारलाई तत्काल राहतसँगै पुनःस्थापनाका लागि स्थानीय सरकारदेखि प्रदेश सरकार र सहयोगी मन भएका नागरिकसम्म एकजुट हुनुपर्ने बताए। ‘यो दुःखको घडीमा सबैले थोपा थोपा गरेर सहयोग गर्न आवश्यक छ,’ उनले भने।

महताराका अनुसार असार मसान्तपछि विपन्न तथा दलित आवास कार्यक्रमअन्तर्गत गाउँपालिकाले घर छनोट गर्ने तयारी गरिरहेको छ। गुठीचौरका वडा नं. १ र २ मा पछिल्ला चार वर्षमा एउटा पनि त्यस्तो घर निर्माण हुन नसकेको उल्लेख गर्दै उनले अहिलेको आगलागीले पीडितको घर पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने अवस्था सिर्जना गरेको बताए।

‘यो घर मात्रै होइन, सम्भव भए दुवै घर बनाउन आवश्यक देखिन्छ। उहाँको घर पनि जीर्ण भइसकेको छ,’ उनले भने, ‘यदि प्रक्रिया पूरा हुन समय लाग्ने भयो भने गाउँपालिका र वडा मिलेर लागत साझेदारीमा पनि आवास निर्माण गर्ने विषयमा हामी अघि बढ्छौँ।’

पीडितको आँसु अझ बग्न नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले तत्काल र दीर्घकालीन दुवैखाले सहयोगका लागि पहल गर्ने बताए।

आगलागीबाट घर पूर्ण रूपमा गुमाएकी ठिसिनीको अवस्था बुझ्न जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकाली पनि गडिगाउँ पुगे। उनले पीडित परिवारलाई सान्त्वना दिँदै तत्कालका लागि व्यक्तिगत तर्फबाट तीन बोरा चामल सहयोग गरेका छन्।

उनले आफूलाई घटनाको जानकारी करिब ३ बजेतिर प्राप्त भएको र तत्काल सूचना प्रवाह गर्न नसकेको भन्दै क्षमासमेत मागे।

‘मलाई खड्ग दाइले ३ बजेतिर फोन गर्नुभएको थियो। म निदाएको थिएँ, त्यसैले सूचना प्रवाह गर्न सकिनँ। त्यसमा क्षमा माग्न चाहन्छु,’ थकालीले भने, ‘तत्कालका लागि तीन बोरा चामल लिएर आएको छु।’

उनले आगामी दिनमा आफ्नो व्यक्तिगत तथा जिल्ला समन्वय समितिको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए।

‘आज क्षति भएको यो घरको पुनःस्थापना स्थानीय सरकारले जिम्मा लिनुपर्छ भन्ने मलाई लागेको छ,’ उनले भने, ‘स्थानीय तह, वडा, गाउँपालिका, जिल्ला र प्रदेशसँग समन्वय गरेर पीडितको बास पुनःनिर्माण गर्न म आफ्नो तर्फबाट पछि पर्ने छैन।’

उनले आगो नियन्त्रणमा स्थानीयवासीले खेलेको भूमिकाको समेत प्रशंसा गरे। ‘आगलागी निभाउने काम यहाँका जनताले गर्नुभयो। गाउँबासीले समयमै सक्रियता देखाएर मानवीय क्षति हुनबाट जोगाउनुभयो,’ थकालीले भने।

गाउँपालिकाले उपलब्ध गराएको तत्कालीन राहतले आगलागीबाट गुमेको घर र धनसम्पत्ति फिर्ता ल्याउन सक्दैन। तर विपद्को भोलिपल्टै राज्यका प्रतिनिधि पीडितको आँगनमा पुग्नु र केही दिनका लागि भए पनि खाद्यान्न, कपडा, भाँडाकुँडा र पाल उपलब्ध गराउनु पीडित परिवारका लागि ठूलो मनोवैज्ञानिक सहारा बनेको छ।

गाउँपालिकाले पनि तत्काल राहतलाई क्षतिपूर्तिको रूपमा नभई विपद्को प्रारम्भिक अवस्थामा गरिने सहयोगका रूपमा लिएको छ।

आगलागीमा ठिसिनीको घरसँगै उनकी देउरानी विष्णकली एडिको घरमा समेत आंशिक क्षति पुगेको छ। स्थानीयका अनुसार आगलागी फैलिँदै जाँदा गडिगाउँका बासिन्दा सामूहिक रूपमा आगो नियन्त्रणमा जुटेका थिए। गाउँलेहरूको सक्रियताका कारण आगो अन्य घरमा फैलिनबाट रोकिएको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ।

स्थानीय सरकारको तत्कालीन राहतले केही दिनको गुजारा चलाउन सहयोग गर्ला। तर २२ लाख रुपैयाँ बराबरको क्षति व्यहोरेकी एकल तथा अपाङ्गता भएकी ठिसिनीका लागि पुनःस्थापना भने लामो यात्राजस्तै छ।

गुठीचौर गाउँपालिका, वडा कार्यालय र जिल्ला समन्वय समितिले प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी आवास पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अब ती प्रतिबद्धता व्यवहारमा कहिले र कसरी रूपान्तरण हुन्छन् भन्ने कुराले आगलागी पीडित परिवारको आगामी जीवन निर्धारण गर्नेछ।

हालका लागि भने गडिगाउँकी ठिसिनीको घर खरानी भएको ठाउँमा एउटा पाल ठडिएको छ, त्यस पालमुनि राहतका केही सामग्रीसँगै पुनःघर बन्ने आशा पनि बसेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार