मंगलबार दिउँसो जुम्लाको आकाशमा बादल बाक्लिँदै थियो। पहाडी बाटोमा हतारिएका पाइला थिए। एउटा गर्भवती महिलालाई अस्पताल पुर्याउने प्रयास भइरहेका थिए। तर प्रसूति पीडाले कुनै समय तालिका मान्दैन। अस्पताल अझै टाढै थियो। बाटोमै एउटी महिलाले नवजात शिशुलाई जन्म दिइन्।
केही मिनेटमै त्यो दृश्य मोबाइलको पर्दाबाट सामाजिक सञ्जालसम्म पुग्यो। भिडियो भाइरल बन्यो। कसैले राज्यको असफलता देखे, कसैले हिमाली भूगोलको कठोर यथार्थ। धेरैले एउटै प्रश्न गरे, आज पनि नेपालका आमाहरू किन बाटोमै बच्चा जन्माउन बाध्य छन्?

त्यही दिन, त्यही जिल्ला जुम्लामा अर्को दृश्य पनि थियो।
सिंजा गाउँपालिकाको सभाहलमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि र कर्मचारीहरू आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा बैठकमा बसेका थिए। प्रोजेक्टरमा एउटा एउटा तथ्याङ्क देखिँदै थियो। प्रसूति सेवा, खोप, पोषण, परिवार नियोजन, क्षयरोग, अभिलेख व्यवस्थापन, सबै सूचकहरूको समीक्षा भइरहेको थियो।
अचानक एउटा तथ्याङ्कले हल केहीबेर मौन बनायो। पालिकाभित्र अब घरमै सुत्केरी हुने महिला छैनन्। यो कुनै ठूलो सहरको कथा थिएन। न त सुविधासम्पन्न अस्पतालको। यो त्यही जुम्लाको कथा थियो, जहाँ केही घण्टाअघि एउटी महिलाले बाटोमै बच्चा जन्माएकी थिइन्।

जिल्ला एउटै तर सुरक्षित मातृत्वका दुई बिल्कुल फरक अनुहार। पातारासीको घटना एउटा दुर्घटना मात्र थिएन। त्यो नेपालको हिमाली क्षेत्रमा अझै बाँकी रहेको स्वास्थ्य असमानताको प्रतीक थियो। गर्भावस्थामा सबै कुरा सामान्य देखिए पनि प्रसूति कहिले जटिल बन्छ भन्ने अनुमान गर्न सकिँदैन। त्यसैले विश्वभर सुरक्षित मातृत्वको आधार नै संस्थागत प्रसूति मानिन्छ।
तर हिमाली जिल्लाहरूमा समस्या अस्पतालको दूरी मात्र होइन। साँघुरा गोरेटो, बाढीले बगाउने खोला, वर्षामा बन्द हुने सडक, सीमित एम्बुलेन्स, आर्थिक अभाव र कहिलेकाहीँ सामाजिक विश्वास, यी सबैले एउटा गर्भवती महिलाको यात्रा कठिन बनाउँछन्। पातारासीको घटनाले फेरि स्मरण गरायो, प्रसूति व्यक्तिगत घटना होइन, यो राज्यको स्वास्थ्य प्रणालीको परीक्षण पनि हो।
त्यही दिन अर्था मंगलबार सिंजामा दिनभर स्वास्थ्य शाखाको वार्षिक समीक्षा चलिरहेको थियोे। जहाँ फरक कथा सुनिएको थियो। वार्षिक समीक्षा अनुसार पालिकाभित्र घरमै सुत्केरी हुने परम्परा लगभग अन्त्य भइसकेको छ। गर्भवती महिलाहरू स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माइरहेका छन्।

सिंजा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाका अनुसार चार पटक गर्भजाँच गर्ने दर ७६ प्रतिशत पुगेको छ। आठ पटक गर्भजाँच गर्ने नयाँ मापदण्डतर्फ पनि महिलाहरू आकर्षित भइरहेका छन्। प्रसूति पश्चात् चार पटक स्वास्थ्य परीक्षण गराउने दर ६२ प्रतिशत पुगेको छ।
यी सबै तथ्याङ्कले एउटै कुरा भन्छन्, स्वास्थ्य संस्था अब बिरामी भएपछि जाने ठाउँ मात्र होइन, गर्भावस्थादेखि नै भरोसाको केन्द्र बन्दै गएको छ।
विष्टबाडा आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख सी-अहेव कर्णप्रसाद सिम्खाडेका अनुसार केही वर्षअघिसम्म धेरै परिवारका लागि घरमै सुत्केरी हुनु सामान्य अभ्यास थियो। घरका ज्येष्ठ महिलाले प्रसूति गराउने चलन थियो। स्वास्थ्य संस्था अन्तिम विकल्प मानिन्थ्यो। तर अहिले त्यो सोच बदलिएको छ।

उनले भने, ‘गर्भ रहेपछि महिलाहरू नियमित स्वास्थ्य जाँचका लागि आउँछन्। जोखिम पहिचान हुन्छ। सम्भावित जटिलताबारे परिवारलाई जानकारी दिइन्छ। प्रसूति मिति नजिकिँदै जाँदा स्वास्थ्य संस्थासँग निरन्तर सम्पर्क राखिन्छ।’
उनका अनुसार यो परिवर्तन कुनै एक कार्यक्रमले ल्याएको होइन। यो परिवर्तनमा स्वास्थ्यकर्मीको नियमित फलोअप, महिला स्वास्थ्य स्वयंसेविकाको घरदैलो, स्थानीय सरकारको सहयोग र समुदायको बढ्दो विश्वास, यी सबैले भूमिका खेलेका छन्।
सिंजाको सफलताको सबैभन्दा कम चर्चित तर सबैभन्दा महत्वपूर्ण पात्र महिला स्वास्थ्य स्वयंसेविका भएको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण धितालले बताए। उनका अनुसार महिला स्वास्थ्य स्वयंसेविका प्रत्येक गाउँमा पुग्छन्। गर्भवती महिलाको अवस्था बुझ्छन्। आइरन चक्की खाएको छ कि छैन हेर्छन्। खोप छुटेको छ कि छैन सोध्छन्। प्रसूति मिति नजिकिँदा परिवारलाई सम्झाउँछन्।

कतिपय अवस्थामा उनीहरू बिहानै घर पुगेर गर्भवतीलाई स्वास्थ्य संस्थासम्म लैजान पनि सहयोग गर्छन्। सामुदायिक स्वास्थ्य सेवाको यही मौन प्रणालीले ठूलो परिवर्तन सम्भव बनाएको छ।
दाँत आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख पृथ्वी रावत भन्छन्, ‘पहिले धेरै महिलाहरू अन्तिम समयमा मात्रै स्वास्थ्य संस्थामा आउँथे। कहिलेकाहीँ ढिलो भइसकेको हुन्थ्यो। जटिलता बढिसकेको हुन्थ्यो। अहिले त्यो अवस्था क्रमशः बदलिएको छ। गर्भ रहेदेखि नै स्वास्थ्य संस्थासँग सम्बन्ध जोडिने भएकाले जोखिम समयमै पहिचान हुन्छ। आवश्यक परे रेफरल हुन्छ। सुरक्षित प्रसूति सुनिश्चित गर्न सजिलो हुन्छ।’
उनका अनुसार अहिलेको चुनौती दुर्गम बस्तीमा रहेका उच्च जोखिमयुक्त गर्भवती महिलालाई अझ चाँडै पहिचान गर्नु हो।

समीक्षा बैठकमा सबैभन्दा धेरै छलफल भएको अर्को विषय थियो, पूर्ण खोप। पहिलो नजरमा तथ्याङ्क उत्साहजनक देखिन्छ। बीसीजी, पेन्टा र एमआरजस्ता अधिकांश खोपको पहुँच शतप्रतिशतभन्दा माथि पुगेको छ।
तर अर्को सूचकले सबैलाई झस्कायो। पूर्ण खोपको दर ३० प्रतिशतमा झरेको छ। दुई वर्षअघि यो १०५ प्रतिशत थियो। गत वर्ष ११३ प्रतिशत पुगेको थियो। एक वर्षमै यस्तो गिरावट किन? स्वास्थ्य शाखाको विश्लेषणले देखायो, समस्या खोप सुरु गराउनेमा होइन, अन्तिम मात्रा पूरा गराउने क्रममा छ।
कतै खोप कार्ड अद्यावधिक भएन। कतै परिवार बसाइँ सर्यो। कतै अभिलेख छुटे। कतै अन्तिम मात्रा लिन बालबालिका पुगेनन्। स्वास्थ्य शाखा प्रमुख रोकाया भन्छन्, ‘अब हाम्रो प्राथमिकता छुटेका प्रत्येक बालबालिकालाई खोजेर पूर्ण खोप सुनिश्चित गर्नु हो।’
उनका अनुसार सिंजाको अर्को महत्वपूर्ण परिवर्तन स्वास्थ्य संस्थाबाट नियमित प्रतिवेदन बुझाउने दर ८८ प्रतिशत पुगेको छ। डिजिटल अभिलेख विस्तार हुँदैछ।
उनले थपे, ‘तथ्याङ्क समयमै आउन थालेपछि योजना बनाउने प्रक्रिया पनि तथ्यमा आधारित बन्दै गएको छ। पहिले अनुमानका आधारमा हुने निर्णय अहिले प्रमाणमा आधारित हुन थालेका छन्। यसलाई स्वास्थ्य प्रणालीको मौन तर दीर्घकालीन सुधार मान्न सकिन्छ।’
सिंजा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकर धितालका अनुसार यो उपलब्धिको आधार निरन्तर मेहनत हो। अब सेवा विस्तारसँगै गुणस्तर, नियमित अनुगमन र तथ्यमा आधारित योजना निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकता छ।
कार्यवाहक अध्यक्ष सुरतबहादुर रावतका अनुसार अबको प्राथमिकता पूर्ण खोप, किशोरी स्वास्थ्य, पोषण, दुर्गम बस्तीमा एम्बुलेन्स पहुँच र जोखिमयुक्त गर्भवतीको विशेष निगरानी हुनेछ। उनका अनुसार घरमै सुत्केरी अन्त्य हुनु अन्तिम उपलब्धि होइन, अझ गुणस्तरीय स्वास्थ्य सेवाको सुरुवात हो।
पातारासीको बाटोमा जन्मिएको शिशुको पहिलो सासले एउटा प्रश्न जन्मायो, के नेपालका सबै आमाले सुरक्षित प्रसूतिको समान अधिकार पाएका छन्? सिंजाको अनुभवले भने अर्को उत्तर दियो, परिवर्तन सम्भव छ।
जब स्वास्थ्य संस्था समुदायसम्म पुग्छ। जब महिला स्वास्थ्य स्वयंसेविका प्रत्येक घरको ढोका ढकढक्याउँछिन्। जब स्थानीय सरकारले स्वास्थ्यलाई प्राथमिकता दिन्छ। जब स्वास्थ्यकर्मीलाई समुदायले विश्वास गर्न थाल्छ। सिंजामा यही भइरहेको स्वास्थ्य शाखा प्रमुख रोकायाको दाबी छ।
‘
















