लोकतन्त्रले नागरिकलाई अधिकार र सहभागिताको अवसर दिए पनि दलीय प्रतिस्पर्धाले समाजमा विभाजन, द्वन्द्व र शक्ति संघर्ष बढाएको तर्क लेखले अघि सारेको छ। वैदिककालीन सभा र समितिजस्तो जनआधारित नियन्त्रण प्रणालीलाई पुनर्विचार गर्दै राष्ट्र, समाज, परिवार र व्यक्तिको समृद्धिका लागि एकता, साझा शिक्षा, नीति र राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने धारणा लेखमा व्यक्त गरिएको छ।
वैदिक समयदेखि आर्य समाजले देशको शासन व्यवस्थामा पहिलो स्थानमा राजाको अवधारणा अङ्गीकार गरे। राजा स्वेच्छाचारी नबनून् भनेर दुई संस्थाको विकास गरे। ती दुईमध्ये एक सभा र अर्कोको नाम समिति दिइयो। यी सभा र समितिले राजाको चयन गर्ने र राजाका गलत गतिविधिलाई नियन्त्रण लिने काम गर्थे। ती सभा र समितिलाई ब्रह्माका पुत्रीहरू भनिन्थ्यो।
समाजलाई राष्ट्र धर्म पहिलो स्थानमा, त्यसपछि परिवार धर्म र अन्तमा व्यक्ति धर्मलाई स्थान दिइन्थ्यो। जब राष्ट्र सम्पन्न र शान्ति हुँदैन, तब परिवार र व्यक्ति सम्पन्न हुन सक्दैन भन्ने मान्यता थियो। त्यसैले हरेक नागरिकले राष्ट्रप्रति निष्ठा राख्ने गर्दथे।
राज्यको शिक्षा प्रणालीमा पनि वेदान्त, नीति, नैतिकता, आदर्शका पाठहरू पढाइन्थ्यो। त्यसैले समाजमा विभिन्न वाद-विचार हुँदैन थियो, एक वाद रहन्थ्यो। त्यसैले समाजले राजनीतिमा अनेक वादको नाममा लडाइँ–झगडा हुन पाएन। लडाइँ हुन्थ्यो त राष्ट्रको सीमा विस्तारको विषयमा विवाद। लडाइँ भए पनि समाजको आन्तरिक लडाइँ–झगडा, विवाद हुन पाएन।
दार्शनिक प्लेटोले पनि शिक्षा पूरा राष्ट्रको नियन्त्रणमा हुनु पर्दछ। राष्ट्र अध्ययन गराउने शिक्षा समान हुनु पर्दछ। पाठ्यक्रम राज्यले तोकेकोभन्दा बाहिर जानु हुँदैन, जसले गर्दा राष्ट्र आदर्श व्यक्तिका जीवनी, राष्ट्रलाई हित हुने प्रकारका र समाजमा एकता कायम हुन, अनेकता नरहन एउटै शिक्षा लागू गर्न पर्दछ भनेका छन्। नागरिकहरूलाई शिक्षण संस्थाहरूबाट पहिचान हुनु पर्दछ।
फराकिलो सोच-विचार, उच्च भावना रहेका विद्यार्थीलाई समाजको पहिलो स्थानमा राखेर समाजलाई मार्ग दिने बनाउनुपर्छ। शारीरिक बनावट र आचरणमा लडाकु प्रकृतिका विद्यार्थीलाई राष्ट्रको सीमा संरक्षण गर्न खटाउनुपर्छ र सामान्य प्रकृतिका व्यवहार भएका विद्यार्थीलाई उत्पादनको क्षेत्रमा लगाइनुपर्छ भनेर भनेका छन्। त्यसैले प्लेटोको विचार पनि आर्य समाजको वर्ण व्यवस्थाबाट प्रेरित देखिन्छ।
आर्य समाजको समाज सञ्चालन विधि कति उत्तम रहेछ भन्ने कुरा यी महान् विचारकका दर्शनबाट थाहा हुन्छ।
अर्थात् राष्ट्रप्रति बफादार बनाउन राज्यले शिक्षा आफ्नो नियन्त्रणमा राख्नुपर्छ, निजीलाई दिन हुँदैन। निजीले आफ्नो तरिकाले पाठ्यक्रम बनाउँछन्, जसको कारण अनेक वाद अध्ययन गराएर समाजमा एकतामा अनेकता हुन्छ, जसले कुनै समयमा विखण्डन र विवाद पैदा गराउने हुनाले राष्ट्र कमजोर हुन्छ भन्ने मान्यता थियो।
तर पश्चिमी जगतले वैदिक शासन व्यवस्थामा कायम रहेको सभा र समितिलाई दलको रूपमा विकास गराए। सभा र समितिले राजा चयन गर्ने परिपाटीको ठाउँमा राजनीतिक दल बनाएर दलहरू आपसमा चुनाव लडाएर राष्ट्रको सरकार र त्यसको प्रमुख चयन गर्ने व्यवस्थामा विकास गराए, जसलाई स्लाइ प्रजातन्त्र नाम दिए।
वैदिक कालमा सभा र समिति पनि जनताको समूह थियो। त्यही सभा समितिले राजाको चयन गर्ने र राजाको शक्ति दुरुपयोग हुन नदिन नियन्त्रणमा राख्न र राजालाई पदमुक्त गर्ने काम गरेका थिए।
जब वैदिक समाजका सभा र समितिको स्थान राजनीतिक दलले काम गर्ने गरे, त्यहाँ पनि एकतामा अनेकता सुरु भयो। राजनीतिक दलका आफ्ना–आफ्ना वाद हुने भए। आफ्ना आफ्ना उद्देश्य र लक्ष्य हुने भए। त्यहीअनुसार आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिने भए, प्रचारप्रसार गर्ने भए। त्यसको परिणाम समाज विभाजित हुन गयो। त्यो विभाजित समाजले राष्ट्रलाई कमजोर बनाउँछ।
एक दलका मानिस अर्को दलका मानिसबीच मनमुटाव हुने भयो। वादविवाद हुने भयो। सत्ता चलाउने दल विभिन्न शक्ति केन्द्रका घेरामा पर्दै जाने र राष्ट्रहितविपरीत प्रयोग हुँदै जाने भए।
त्यो अवस्था हाल हामीले भोगेका छौँ। यदि कुनै नागरिक ‘म कुनै दलमा आबद्ध हुन चाहन्नँ’ भनेर बस्न सक्ने अवस्था छैन। कुनै दलमा आबद्ध नहुने हो भने बाँच्न पाउने अधिकार छैन। अब इष्टमित्र, नातासम्बन्धभन्दा दलका कार्यकर्ता प्रिय छन्। दलका कार्यकर्ता पनि दलैपिच्छे झुन्ड छन्। ती झुन्डमा अनेक वाद छन्, अनेक विचार छन्, अनेक इतिहास छन्।
ती विचार वादका कारण आपसमा द्वन्द्व छ। विवाद छ। शक्ति संघर्ष छ। छलकपट छ। कुल मिलाएर राजनीति नै अपराधीकरण छ। यो अवस्था विश्वमा नै रहेछ। यो दलीय व्यवस्थाले विश्व अशान्त छ। शक्ति आर्जन गर्न चरम भ्रष्टाचार छ। एक दलका विरुद्ध अर्को दलको असहयोगले द्वन्द्व छ।
तर शक्ति आर्जन गरिसकेका दलका नेताका लागि नियन्त्रण गर्ने न सभा छ, न समिति छ। विरोध गर्ने दलले भाग–हिस्सा मिलेपछि सबै चुपचाप छन्। भागबन्डा नमिल्दासम्म विरोध गरे पनि भागबन्डा मिलेपछि सकियो।
त्यसले राष्ट्रलाई कमजोर बनाउँछ। राष्ट्र कमजोर हुनु भनेको समाज कमजोर हुनु हो। समाज कमजोर हुनु भनेको परिवार दुःखी हुनु हो। परिवार दुःखी हुनु भनेको व्यक्ति दुःखी हुनु हो।
त्यसैले राष्ट्रका लागि धर्म एक, भाषा एक, शिक्षा नीति एक, पाठ्यक्रम एक, वाद एक र नीति एक हुनु जरुरी रहेछ। जसको कारण राष्ट्रले भाषा, धर्म र वादका कारण विखण्डन र अशान्ति व्यहोर्नु पर्दैन।
अन्तमा प्रजातन्त्र, लोकतन्त्र नाम दिने पश्चिमी जगतले वैदिक समयका आर्यहरूले सुरु गरेको सभा र समितिलाई नै दलमा रूपान्तरण गरे। त्यो प्रयोगमा खतरा रहेछ भन्ने देखिन सुरु भएको छ। दलविनाको समाजका नागरिकहरूबाट बनेको सभा र समिति, त्यो सभा र समितिले जन्माएको राष्ट्र प्रमुख नै उत्तम रहेछ।














