असम्भवजस्तै देखिएको एमबीबीएस यात्रादेखि पहिलो ब्याचको ऐतिहासिक सफलतासम्म : अनेक नेतृत्व, सयौँ हात र एउटै सपनाको कथा
जुम्ला । कहिलेकाहीँ इतिहास कुनै ठूलो समारोहबाट सुरु हुँदैन। त्यो एउटा सानो सपनाबाट सुरु हुन्छ। कुनै दिन, कुनै कोठामा बसेर कसैले भन्छ, ‘कर्णालीमा पनि चिकित्सक उत्पादन गर्न सकिन्छ।’
सुन्नेहरूलाई त्यो सपना असम्भवजस्तै लाग्न सक्छ। किनकि कर्णालीमा चिकित्सा शिक्षा सञ्चालन गर्नु भनेको केवल एउटा शैक्षिक कार्यक्रम सुरु गर्नु थिएन। त्यसका लागि पूर्वाधार चाहिन्थ्यो, जनशक्ति चाहिन्थ्यो, अस्पताल चाहिन्थ्यो, प्रयोगशाला चाहिन्थ्यो, पाठ्यक्रम चाहिन्थ्यो, प्रशासनिक संयन्त्र चाहिन्थ्यो र सबैभन्दा ठूलो कुरा, त्यो सपनालाई सम्भव छ भनेर विश्वास गर्ने मानिसहरू चाहिन्थे।
तर आज, त्यो सपना कर्णालीको माटोमा उभिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो एमबीबीएस ब्याचका १८ जना विद्यार्थी सफलतापूर्वक चिकित्सक बनेका छन्।
यो केवल १८ जनाको परीक्षाफल होइन। यो कर्णालीको चिकित्सा शिक्षा इतिहासमा कोरिएको एउटा स्वर्णिम अध्याय हो। यो त्यो यात्राको पहिलो ठूलो परिणाम हो, जुन यात्रामा विभिन्न समयमा प्रतिष्ठानको नेतृत्व सम्हाल्ने उपकुलपति, रजिस्ट्रार, रेक्टर, डीन, प्राध्यापक, चिकित्सक, कर्मचारी, विद्यार्थी, अभिभावक र समग्र कर्णालीवासीको सपना र समर्पण जोडिएको छ।
पहिलो एमबीबीएस ब्याचका विद्यार्थी समीर पौडेलको फोन आयो।
‘धन्यवाद सर, हाम्रो नतिजा आयो। हामी फाइनल एमबीबीएस उत्तीर्ण भयौँ,’ उता केही क्षण मौनता। अनि जवाफ आयो, ‘डा. समीर, हार्दिक बधाई!’
त्यो संवाद छोटो थियो। संवाद विद्यार्थीलाई बधाई छ डा. समीर भन्ने मान्छे थिए, पूर्व डिन डा. रमेश भट्टराई।
उनका अनुसार एउटा शिक्षकका लागि विद्यार्थीले ‘हामी डाक्टर भयौँ’ भनेर सुनाउनु आफैमा भावुक क्षण हो। तर जब ती विद्यार्थी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो एमबीबीएस ब्याचका हुन्छन्, त्यसको अर्थ अझ गहिरो हुन्छ।
किनकि उनीहरु परीक्षा उत्तीर्ण भएका विद्यार्थी मात्रै होइनन्। उनीहरू कर्णालीबाट कर्णालीमै सुरु भएको चिकित्सा शिक्षाको पहिलो पुस्ताका चिकित्सक हुन्। आज १८ जना नव–डाक्टरको सफलताले एउटा प्रश्नको उत्तर दिएको छ, कर्णालीमा पनि विश्वसनीय र गुणस्तरीय चिकित्सा शिक्षा सम्भव छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना आफैमा कर्णालीको स्वास्थ्य इतिहासमा महत्वपूर्ण मोड भएको प्रतिष्ठानको विधेयक संसदमा व्यक्तिगत रुपमा दर्ता गराउने संविधानसभा सदस्य नरेश भण्डारी।
उनका अनुसार कर्णालीका विकट बस्तीमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने र स्थानीय आवश्यकता अनुसार स्वास्थ्य शिक्षा विकास गर्ने उद्देश्यसहित प्रतिष्ठानको अवधारणा अघि बढ्यो।
तर एउटा संस्थाको स्थापना र त्यही संस्थाबाट चिकित्सक उत्पादन गर्नुबीच ठूलो दूरी थियो। त्यो दूरी पार गर्न अनेकौँ नेतृत्व र पुस्ताको योगदान आवश्यक थियो।
यस यात्राको प्रारम्भिक चरणमा प्रतिष्ठानको नेतृत्वमा रहेका पूर्व उपकुलपति डा. पारस आचार्य तथा पूर्व रजिस्ट्रार डा. श्याम लाम्साललगायतको योगदानलाई स्मरण गर्नुपर्ने हुन्छ।
त्यो समयको चुनौती थियो, संस्थाको आधार बलियो बनाउने र भविष्यमा कर्णालीमै उच्चस्तरीय चिकित्सा शिक्षा सञ्चालन गर्न सक्ने वातावरण तयार गर्ने। आजको सफलताको जग त्यही प्रारम्भिक संस्थागत निर्माणमा खोज्न सकिन्छ।
प्रतिष्ठान विस्तार हुँदै जाँदा नेतृत्व पनि परिवर्तन हुँदै गयो। पूर्व उपकुलपति प्रा. डा. राजेन्द्र वाग्ले र पूर्व रजिस्ट्रार विष्णुराज काफ्लेको कार्यकालसँग जोडिएका संस्थागत प्रयासहरूले प्रतिष्ठानको प्रशासनिक तथा शैक्षिक विकासलाई निरन्तरता दिए।
त्यस्तै, पूर्व रेक्टर डा. निरेश थापालगायतले शैक्षिक व्यवस्थापन र संस्थागत संरचना सुदृढीकरणमा योगदान पुर्याए। त्यो समयमा गरिएको कामको परिणाम तत्काल देखिएन होला। तर संस्था निर्माणको काम यस्तै हुन्छ।
आज एउटा भवनको जग बसालिन्छ, भोलि त्यसै भवनमा कक्षा सञ्चालन हुन्छ। आज पाठ्यक्रमबारे छलफल हुन्छ, केही वर्षपछि त्यही पाठ्यक्रम पढेका विद्यार्थी डाक्टर बन्छन्।
कर्णालीको एमबीबीएस यात्राको कथा पनि यस्तै क्रमिक निर्माणको कथा भएको दाबी छ पूर्व उपकुलपति डा. मंगल रावलको।
उनका अनुसार पूर्व रेक्टर डा. डबलबहादुर धामी र पूर्व रजिस्ट्रार नृपेन्द्र महतलगायतको नेतृत्वसँग जोडिएको चरणले पनि प्रतिष्ठानको संस्थागत विकास र शैक्षिक यात्रालाई निरन्तरता दियो।
उनले भने, ‘यसरी नै प्रतिष्ठानमा चिकित्सा शिक्षा सञ्चालनका लागि आवश्यक शैक्षिक वातावरण, प्रशासनिक संयन्त्र र मानवस्रोत निर्माणको काम अघि बढ्दै गएको हो।’
पूर्व डीन गायत्री राईको नेतृत्वमा शैक्षिक पक्षलाई व्यवस्थित बनाउने प्रयासहरू पनि अघि बढे। यी सबै चरणलाई अलग–अलग हेर्दा सायद सामान्य संस्थागत गतिविधिजस्तो देखिन सक्छ।
तर आज पहिलो ब्याचका १८ जना चिकित्सकको सफलतासँग जोडेर हेर्दा ती सबै प्रयासहरू एउटै यात्राका फरक–फरक खुड्किला भएको प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. सुर्यमान म्यानङ्बोको दाबी छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सपना धेरैका लागि सहज थिएन। भौगोलिक अवस्था, पूर्वाधारको चुनौती, जनशक्ति व्यवस्थापन र चिकित्सा शिक्षाको जटिलता—यी सबैका बीच एमबीबीएस सुरु गर्नु आफैमा साहसिक निर्णय थियो।
तर सपना विस्तारै योजनामा बदलियो। योजना संरचनामा बदलियो। संरचना कक्षाकोठामा बदलियो। र कक्षाकोठा अन्ततः चिकित्सक उत्पादन गर्ने थलो बनेको संविधानसभा सदस्य भण्डारीको भनाइ छ।
उनका अनुसार यस यात्रामा प्रतिष्ठानको नेतृत्व सम्हालेका विभिन्न पदाधिकारीको योगदान जोडिएको छ। त्यसैले आजको सफलतालाई कुनै एक व्यक्तिको उपलब्धि भनेर सीमित गर्न मिल्दैन।
एमबीबीएस कार्यक्रम सुरु गर्नु एउटा पक्ष थियो। त्यसलाई गुणस्तरीय रूपमा सञ्चालन गर्नु अर्को ठूलो चुनौती।
पहिलो र दोस्रो वर्षका विद्यार्थीलाई आधारभूत विज्ञानका विषयमा सुदृढ ज्ञान दिन कपिल अम्गाईं, कुशल भट्टराईलगायत आधारभूत विज्ञान संकायका शिक्षकहरूको महत्वपूर्ण भूमिका रहेको पूर्व उपकुलपति डा. मंगल रावलको दाबी छ।
उनका अनुसार शिक्षणमा नयाँ अभ्यासहरू प्रयोग गर्ने प्रयास भयो। विद्यार्थीलाई केवल शिक्षकमा निर्भर नभई आफै अध्ययन गर्ने वातावरण बनाउने अभ्यासहरु अघि बढाइए।
कर्णालीबाट उत्कृष्ट चिकित्सक उत्पादन गर्ने उद्देश्यले गरिएको त्यो प्रयास आजको परिणाममा प्रतिबिम्बित भएको पूर्व डीन डा. रमेश भट्टराईको योगदान छ।
उनका अनुसार त्यसैगरी क्लिनिकल शिक्षातर्फ तुलाकृष्ण गुप्तासहितको क्लिनिकल संकायले महत्वपूर्ण भूमिका निर्वाह गर्यो। अस्पतालको व्यवस्थापन र क्लिनिकल वातावरण निर्माणमा तत्कालीन अस्पताल निर्देशक राजीव शाहको योगदान पनि स्मरणीय रह्यो।
एमबीबीएसको यात्रा कक्षाकोठामा मात्र पूरा हुँदैन। त्यो अस्पतालका वार्डमा पुग्छ। बिरामीको पीडासँग जोडिन्छ। जीवन र मृत्युका जटिल प्रश्नसँग साक्षात्कार गर्छ। त्यही यात्राबाट पहिलो ब्याचका विद्यार्थी चिकित्सक बन्ने अवस्थामा पुगेको उपकुलपति डा. सुर्यमानको तर्क छ।
उनका अनुसार कुनै पनि चिकित्सा शिक्षा कार्यक्रमको सफलता प्राध्यापक र विद्यार्थीले मात्र सम्भव बनाउँदैनन्। त्यसका पछाडि प्रशासनिक संयन्त्रको ठूलो भूमिका हुन्छ। प्रतिष्ठानको एमबीबीएस यात्रामा इन्द्रराज डाँगी, द्वन्द्व शाही, अमृत भण्डारी लगायत प्रशासनिक टोलीको योगदान स्मरणीय रहेको छ।
परीक्षा व्यवस्थापनको जिम्मेवारीमा नृपेश बुढथापालगायतले निर्वाह गरेको भूमिकाले पनि शैक्षिक यात्रालाई व्यवस्थित बनाउन सहयोग पुर्यायो। त्यस्तै, एमबीबीएस पाठ्यक्रम समन्वयमा सुनील बुढाथोकीको योगदान पनि महत्वपूर्ण रह्यो।
यी नामहरू इतिहासका पानामा ठूलाठूला शीर्षकमा नआउन सक्छन्। तर संस्थाको सफलता यिनै पर्दापछाडिका हातहरूले सम्भव बनाउने पूर्व रजिस्ट्रार नृपेन्द्र महतको भनाइ छ।
उनका अनुसार कुनै विद्यार्थीले परीक्षा हलमा बसेर उत्तर लेख्दा उसले आफ्नो अगाडि प्रश्नपत्र मात्र देख्छ। तर त्यो प्रश्नपत्रसम्म पुग्न वर्षौंको प्रशासनिक तयारी, शैक्षिक योजना र व्यवस्थापन जोडिएको हुन्छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एउटा सुन्दर पक्ष यही हो, नेतृत्व परिवर्तन भए पनि संस्थाको सपना रोकिएन। उपकुलपति फेरिए। रजिस्ट्रार फेरिए। रेक्टर फेरिए। डीन फेरिए। तर एमबीबीएस कार्यक्रमको लक्ष्य भने अघि बढिरह्यो।
पूर्व उपकुलपति डा. पारश आचार्यदेखि प्रा. डा. राजेन्द्र वाग्ले र डा. मंगल रावलसम्म, पूर्व रजिस्ट्रार डा. श्याम लाम्सालदेखि विष्णुराज काफ्ले र नरेन्द्र महतसम्म, पूर्व रेक्टर डा. निरेश थापा र डा. डबलबहादुर धामीदेखि वर्तमान नेतृत्वसम्म, हरेक चरणले संस्थाको यात्रामा आ–आफ्नो योगदान थपेको छ।
त्यसैले पहिलो ब्याचको सफलता नेतृत्वको एउटा क्षण होइन। यो निरन्तर नेतृत्वको सञ्चित परिणाम भएको पूर्व रेक्टर डा. डबल बहादुर धामीको भनाइ छ।
उनका अनुसार आज प्रतिष्ठानको नेतृत्व वर्तमान उपकुलपति प्रा. डा. सूर्यमानसहितको टोलीले गरिरहेको छ। पहिलो एमबीबीएस ब्याचको सफलतासँगै वर्तमान नेतृत्वसामु एउटा नयाँ जिम्मेवारी पनि आएको छ।
‘अब प्रश्न ‘पहिलो ब्याच सफल भयो कि भएन?’ भन्ने होइन। अब प्रश्न हो, यो सफलतालाई कसरी संस्थागत बनाउने? कसरी आगामी ब्याचलाई अझ गुणस्तरीय शिक्षा दिने? कसरी कर्णालीका विद्यार्थीलाई चिकित्सा शिक्षामा थप अवसर दिने? कसरी प्रतिष्ठानलाई अनुसन्धान, विशेषज्ञ सेवा र स्वास्थ्य जनशक्ति उत्पादनको उत्कृष्ट केन्द्र बनाउने? रहन्छ,’ उनले भने।
पहिलो ब्याचको सफलता अब आगामी यात्राको आधार बन्नुपर्नेछ। समग्र प्रतिष्ठानका लागि गौरवसँगै जिम्मेवारीको क्षण पनि भएको उपकुलपति डा. सुर्यमानले बताए।
उनका अनुसार आज १८ जना नव–डाक्टरको नामसँग एमबीबीएसको उपाधि जोडिएको छ। तर उनीहरूको व्यक्तिगत सफलताको पछाडि कर्णालीको सामूहिक कथा छ। अभिभावकको त्याग छ। शिक्षकको मेहनत छ। प्राध्यापकको ज्ञान छ। चिकित्सकको प्रशिक्षण छ। कर्मचारीको प्रशासनिक जिम्मेवारी छ। नेतृत्वको निर्णय छ। र प्रतिष्ठानमाथि विश्वास गर्ने हजारौँ कर्णालीवासीको आशा छ।
‘यी १८ जना डाक्टर केवल १८ जना व्यक्ति होइनन्। उनीहरू कर्णालीको सम्भावनाका १८ वटा प्रमाण हुन्। उनीहरू प्रमाण हुन्—दुर्गम भूगोलमा पनि सपना देख्न सकिन्छ,’ उनले भने।
‘उनीहरू प्रमाण हुन्, स्रोत सीमित भए पनि इच्छाशक्ति ठूलो भए असम्भवलाई सम्भव बनाउन सकिन्छ। र उनीहरू प्रमाण हुन्, कर्णाली अब केवल चिकित्सक खोज्ने भूगोल होइन, चिकित्सक उत्पादन गर्ने भूगोल पनि हो भन्ने कुराको।’
















