हाम्रो गणतन्त्र चमेरो र छेपारोको कथा जस्तो हो? चमेरोको चरित्र जस्तै हाम्रो गणतन्त्र नबनोस्। यसले अलग खालको भाष्य स्थापित नगरोस।
आज हामी ऐतिहासिक मोडमा छौं। ऐतिहासिक दिनको थप एक वर्ष पार गर्दै पनि छौ। अहिले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा छ। यो व्यवस्था स्थापना गर्न लामो बलिदानिपूर्ण संघर्ष गर्नुपर्यो। यहि संघर्षका क्रममा कहिले सफलता त कहिले सफलताहरु खोसिने क्रम जारी नै रहे। अन्तत: संघर्षले सफलता प्राप्त गर्यो र देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो।
मुलुकमा स्वच्छ राजनीतिक वातावरण नभएको हुँदा केही मुठिभर व्यक्तिहरुको शक्तिमा बोलवाला रहेको थियो। देशका अधिकांश जनता शोषण र उत्पीडनले सताइएका थिए। अधिकतम् जनताको भलाई हुने राजनीतिक अवस्थाको खाँचो महसुस गरेर गणतन्त्र स्थापना गरिएको हो।
गणतन्त्रको वास्तविक सफलताको अर्थ सार्वभौमसत्ता सम्पन्न नेपाली जनता भनेर सगौरव नेपाली जनताले बखान गर्न पाए। हामीले सबै कुरा यहि प्रणालीबाट पाइन्छ भनेर बोलेको पनि दशक बढी नै भइसक्यो।
हाम्रो देशमा उहिले असमानता थियो पछौटेपन थियो, आज पनि छ। केही परिवर्तनको स्वरुप नफेरिएको होइन। जस्तो समानुपातिक प्रतिनिधित्व, महिला, दलित, पछाडी पारिएको समुदाय आदि वर्ग क्षेत्रहरुको पनि सदन देखि स्थानीय पालिका सरकारसम्म र उपभोक्ता देखि अन्य क्षेत्रमा समेत प्रतिनिधित्व गराउनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ।
यो खालको समावेशी प्रतिनिधित्व छनौटमा पनि अनेकौं प्रश्नहरु भने नआएका होइनन्?
लामो समय देखि मुलुक राजनीतिक प्रणाली र नेतृत्वको निरन्तर परिवर्तन भैरहने अवस्थामा छ। इतिहासबाट फर्केर वर्तमानसम्म आइपुग्दा पनि यो सत्ता र सरकार अस्थिरताको रोग निको हुन सकिरहेको छैन। नेपाल र नेपाली जनता जहाँको त्यहीँ रहने भुमरीमा फसेको छ यो भुमरीबाट कहिले छुटकारा पाउने?
गाउँघरको अवस्था जस्ताको त्यस्तै छ। केही दशक अघिसम्म घोडा चल्ने ठुला सडक आज मोटर साइकल गाडी …आदि चल्दै छन्। हिजो र आजको अवस्था आकाश पातालको भइसक्यो।
मान्छेको व्यवहार वातावरणले तय गर्छ भने जस्तै एकतन्त्रीय हुकुमी शासनले जन्माएर बढाएको र हुर्काएको यो देशको प्रत्येक नागरिक चुक्ली चाप्लुसी र चाकडिमा पोख्त छ। नेपाली समाज त्यसबाट छुटकारा पाउन सकेको छैन।
मलाई सम्झना छ गणतन्त्र घोषणा भएको दिन घर दैलो चोक चौतारासम्म दिपावली गरिएको थियोे। जुन हर्ष उल्लासको लाली ओठमा छाएको थियो यथार्थमा आज त्यो लाली कहाँ गयो?
गणतन्त्र स्थापना पछि पनि हाम्रो देशको हालत कस्तो छ, धेरै कुरा गर्नुपर्दैन। सक्नेसम्म, भ्याउनेसम्म उमेर पुगेसम्म, काम पाउनेसम्म सबै पासपोर्ट बनाउने र भिसा आवेदन गर्नमै व्यस्त छन्? गणतन्त्रमा कोहि भोकै पर्दैन कोहि भोकै मर्दैन भनेका होइनौं। खोइ छाक टार्नकै लागि विदेशिनेलाई रोक्न सकेको? चराको त गुण हुन्छ भने घर बनाई दिनेहरुको घर खोइ?
गणतन्त्र आयो भने विकास हुन्छ। समानता हुन्छ। शिक्षा स्वास्थ्य रोजगार देश भित्रै पाइन्छ भन्ने सुनेको थिएँ। तर खै गणतन्त्रले दशकौं नाघ्दा पनि विकास कसरी हुन्छ? विकासका पुर्वाधारहरु केके हुन? शिक्षाको महत्त्व के हो? आधुनिकीकरणको महत्त्व के छ? अनवरत ढंगले बगेका खोलानाला नदीलाई उपयोग गरेर विद्युतिकरण कसरी गर्न सकिन्छ? भन्ने टुंगो लागेको छैन।
देशमा भए भरका युवालाई फ्री टिकट फ्री भिसा, बढी भन्दा बढी देशसँग श्रम सम्झौता गर्दै सस्तो कामदारको रुपमा विदेशिन बाध्य पार्नुको साटो नेपाली युवामा, जनतामा सिपमुलक क्षमताको विकास कसरी गर्न सकिन्छ? देशमा भएको मानवीय संसाधनलाई सक्षम बनाउन के गर्नुपर्छ? उपचारको अभावमा मृत्युको शैयामा छटपटाई रहनुपर्ने बाध्यताबाट छुटकारा पाउने उपाय के हुने? भनेर बहस कहिल्यै गरिएन।
परिवर्तनको अर्थ हिजो हिँडिरहेको बाटोमा शुरुशुरु हिँड्ने काम मात्रै भएको छ। परिस्थिति पछि नयाँ दिशामा मोडिन सकेका छैनौं। हामीसँग उर्बर माटो छ। जमिन छ। ढुङ्गा छ। सिमेन्ट बनाउने सम्पूर्ण चिज छ। काठ छ। खर छ। जस्तापाता बनाउने ठाउँ छ। सबै चिज छ। घर बनाउने दक्ष जनशक्ति पनि छ र दुनियाँका घर पनि बनाएका छन्। र पनि आफ्नो लागि सुरक्षित बस्ने घर छैन।
हामीसँग प्रशस्त जग्गा जमिन छ। खाद्यान्न छैन अनवरत बग्ने नदी खोला झरना छन् तर थोपा सिचाइ छैन। हामीसँग हाम्रो सभ्यता भाषा संस्कृति छन्। तर लगाउने लुगा हाम्रो छैन। बोल्ने भाषा हाम्रो छैन। हाम्रो सामाजिक चालचलन रितिथिती हाम्रो छैन। के गणतन्त्रको उपहार यहि हो? कसरी सार्थक होला सुखी नेपाली समृद्व नेपालको नारा? गणतन्त्रमा समृद्धिको आधार के हुने?
जुनसुकै देशको समृद्धिको आधार त्यस देशको भूगोल र जनता हुन्छ। हाम्रो देशको समृद्धिको आधार पनि हाम्रो देश र नेपाली जनता हुन। गणतन्त्रपछिका हाम्रा जनप्रतिनिधिहरु परिवर्तनका परिकल्पनाकार हुनुपर्ने होइन र? खोइ त्यो देखिएको पञ्चायत कालिन कामको ढराबाट देश अघि बढ्न सकेको छैन।
देश बनाउने श्रमजीवी जनता हुन। खै जनतालाई देशप्रति, सरकारप्रति विश्वसनीयता दिलाउन सकेको? आजको राजनीतिक परिवर्तनको अर्थ समग्र परिवर्तनका लागि हो। यो खाली राजनीतिक परिवर्तन मात्रै होइन। समग्र आर्थिक सामाजिक परिवर्तनको लागि नै यो राजनीति परिवर्तन भएको हो।
आज निरक्षरता, सामाजिक पछौटेपन, खराब कुराहरु, देश र जनताको हितमा नरहेको कुराहरु, गरिबी भोकमरी अशिक्षा भ्रष्टाचार कुशासनले प्रसय पाइएको छ। हरेक गणतन्त्र दिवशले कुख्यात अपराधीहरुलाई हुकुमी शैलिमा न्यायको बक्सिस दिन्छ। १७ औं गणतन्त्र दिवशमा पनि यस्तै बक्सिस पाउनेहरुको पनि लर्को लाग्ने होला।
गणतन्त्रमा रक्सी पिउन र चुरोट सल्काउन जति ठाउँ उपलब्ध छन्, त्यसको अनुपातमा राम्रो लेक्चर सुन्ने ठाउँहरु भएनन्। हाम्रा नेता मन्त्री लगायत प्रतिष्ठित व्यक्ति देखि सामान्य नागरिकसम्म कल्व डान्सबारमा भेटिन्छन्। यी संस्था चाउसरी उम्रिएका छन्। तर संङ्ग्राहलय, कलाकेन्द्र बनाउने तिर ध्यान कसैको गएन। के यस्ता गतिविधिले हाम्रो संस्कार र सभ्यताको रक्षा गर्न सकिन्छ?
देशको अर्थतन्त्र दिनानु दिन बिँग्रदो छ। सहकारी ठगी, चर्को ब्याजदरले सास्ती दिएको छ। जसले गर्दा व्यवसायिक वातावरण भित्र स्थिरता छाएको छ। मजदुरहरुले काम पाउन छोडेका छन्। उर्जा संकट र लगातारको सुरक्षा चासोको डरले लगानी घट्दै गएको छ।
गणतन्त्रमा ठूला ठानियका मानिएका विभिन्न क्षेत्रका नेता, मन्त्री, न्यायाधीश, पत्रकार उद्योगि व्यवसायी कर्मचारी आदिहरुको जन्ममिति के भएको हो? हाम्रो देशको नागरिकता वितरण र जन्ममितिमा साँच्चिकै के भएको हो? कि ठूलो ठानिनु मानिनु गलत हो? वा गैरकानुनी बाटोबाट आउनेहरु मात्रै ठूलो ओहोदामा पुग्ने हुन, गणतन्त्रमा? कि हाम्रो गणतन्त्र चमेरो र छेपारोको कथा जस्तो हो।
एकपटक एउटा चमेरो उड्दै गर्दा माथिबाट खस्यो र छेपारोको पन्जामा पर्यो। उसले छेपारोसँग ज्यानको भिख माग्यो। छेपारोले भन्यो, ‘म त चरा देखि घिनाउँछु। म तँलाई छोड्दिन।’ चमेरोले भन्यो, ‘मत मुसो हु कहाँ चमेरो हु र?’ अनि त्यो छुट्यो।
केही समयपछि त्यो चमेरो फेरि भुइँमा खस्यो र अर्को छेपारोको पन्जामा पर्यो त्यसले त्यो छेपारोसँग ज्यान नलिइदिन बिन्ती गर्यो। त्यो छेपारोले म मुसोलाई देखि सहन्न भन्यो चमेरोले आफू मुसो नभई चमेरो भएको तर्क गर्यो र दोस्रो पटक पनी छुटकारा पायो। यसरी त्यो चमेरोले आफ्नो नाम फेरेर दुई पटक आफ्नो ज्यान बचायो। चमेरोको चरित्र जस्तै हाम्रो गणतन्त्रको भाष्य स्थापित नहोस गणतन्त्र दिवशको शुभकामना।














