शनिबार, २७ असार, २०८३

जुम्लामा १.४१० ग्राम चरेससहित दुई जना पक्राउ, अनुसन्धान जारी

जुम्लामा १.४१० ग्राम चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार असार २५ गते बिहान करिब १०:१० बजे चन्दननाथ नगरपालिका–१ भाडखोलीस्थित जुम्ला–डिल्लीचौर सडकखण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका कनकासुन्दरी गाउँपालिका–१ निवासी २१ वर्षीय गणेश भण्डारीलाई प्रहरीले जाँच गरेको थियो।

खानतलासीका क्रममा उनको साथबाट चरेसजस्तो देखिने कालो पदार्थको डल्ला बरामद भएको प्रहरीले जनाएको छ। प्रारम्भिक तौल गर्दा उक्त पदार्थ ९५० मिलिग्राम रहेको बताइएको छ।

प्रहरीको सोधपुछका क्रममा भण्डारीले उक्त पदार्थ पातारासी गाउँपालिका–२ निवासी २५ वर्षीय रमकृष्ण बोहोरासँग खरिद गरेको बताएका थिए।

त्यसपछि प्रहरीले बोहोराको घरमा खानतलासी गर्दा घरमै सञ्चालन गरिएको पसलको टेबुलको दराजभित्र लुकाइराखिएको चरेसजस्तो देखिने अर्को कालो पदार्थको डल्ला बरामद गरेको थियो। उक्त पदार्थको तौल ४६० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै स्थानबाट गरी जम्मा १.४१० ग्राम चरेस बरामद भएको छ। घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार