शनिबार, २७ असार, २०८३

राज्यले गणेश नेपालीको हत्या गरेको हो !

गणेश नेपालीको आत्मदाह र मृत्युले वर्तमान दुईतिहाइको दम्भ बोकेको सरकारको पतनको घण्टी बजाएको छ। अबका दिनमा निर्धा नागरिकहरूले शासकहरूको अहंकार, नालायकी र क्रूरताको एक-एक हिसाब माग्नेछन्। ​

काठमाडौँको मुटु त्रिपुरेश्वरमा असार २५ गतेको त्यो कहालीलाग्दो दिउँसो। जब २५ वर्षका मुगुका तन्नेरी गणेश नेपालीले आफ्नो शरीरमा आगो सल्काए, त्यतिबेला एउटा मान्छेको शरीर मात्र जलिरहेको थिएन, यो देशको न्याय, गरिबमुखी भनिएको व्यवस्था र दुईतिहाइको दम्भ बोकेको सिंहदरबारको विवेक पनि जलिरहेको थियो।

अस्पतालको शय्यामा जीवन र मृत्युको अन्तिम लडाइँ लड्दा-लड्दै अन्ततः गणेशले संसार छोडे। तर, यो मृत्यु कुनै प्राकृतिक शून्यता होइन। यो त एउटा सीधै राज्यको निर्मम र क्रूर प्रणालीले योजनाबद्ध रूपमा गरेको ‘संस्थागत हत्या’ हो।

गोली चलाएर नागरिक मार्ने हिजोका शासकहरू र आज ‘फाइन’ अनि ‘डोजर’ चलाएर गरिबको सातो लिँदै मृत्युको मुखमा धकेल्ने वर्तमान सरकारमा आखिर के फरक छ? श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको यो आक्रोशपूर्ण प्रश्नले आजको सत्ताको वास्तविक अनुहार छताछुल्ल पारेको छ।

उनले भने, ‘हिजो बन्दुकका नालहरू सोझिन्थे, आज जरिवानाका रसिद र डोजरका दाँतहरू सोझिन्छन्। रूप फेरियो, तर भुइँमान्छेलाई सिध्याउने राज्यको चरित्र कत्ति पनि फेरिएन।’

​नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बडो मार्मिक कविता र कटाक्षसहित सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्रिपुरेश्वरमा मुगुका एउटा २५ वर्षीय युवा गणेशले गरेको अकल्पनीय आत्मदाह प्रयासले निर्मम सहरको विवेकहीन शासन पद्धतिको मुहार चिनाएको हो। यो दशकौंदेखि गिजोलिएको राज्य प्रणाली र शासन व्यवस्थाको उपज हो।’

हो, यो सहर जति झिलिमिली छ, यसको शासन पद्धति त्यति नै अन्धकार र विवेकहीन छ। मुगुको विकट दूरदराजबाट काठमाडौँमा दुःखजिलो गरेर, पसिना बगाएर दुई छाक टार्न खोज्ने एउटा निर्दोष नागरिकलाई यो राज्यले बाँच्ने न्यूनतम आधारसमेत दिन सकेन। विकासका गगनचुम्बी महलहरू ठडिँदै गर्दा सबैभन्दा कमजोर वर्ग कति असुरक्षित छ भन्ने कुराको प्रमाण हो गणेशको यो आत्मघाती कदम।

कलाकार गोविन्द सुनार भन्छन्, ‘विकास त्यतिबेला अर्थपूर्ण हुन्छ, जब त्यसले सबैभन्दा कमजोर नागरिकलाई पनि सुरक्षित बनाउँछ। यदि विकासले केवल भवन उठाउँछ तर मानिस बचाउन सक्दैन भने, त्यो विकास होइन असमानताको सजावट मात्र हो। यो देशमा गरिबले धेरै सपना देख्नुअघि आफ्नो ज्यानको चिन्ता गर्नुपर्ने अवस्था अझै बाँकी छ।”

विडम्बना यो देशमा आज सत्ता र शक्तिको मातमा मत्त भएकाहरू हिजो तिनै युवाहरूको काँधमा चढेर सिंहदरबार छिरेका थिए। काँथ थाप्नेमा गणेश पनि हुन। उनी यो देश फेरिन्छ कि भनेर जेनजी आन्दोलनमा सडकमा ओर्लिएका क्रान्तिकारी तन्नेरी थिए। आन्दोलनका क्रममा उनको हातमा लागेको सामान्य चोट त्यसैको प्रमाण थियो।

जेनजी आन्दोलनकी नेतृ रक्षा बमले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘उनी त्यही आन्दोलनकारी हुन्, जो आफू बाँच्न लायक देश होस् भनेर त्यो दिन सडकमा ओर्लिएका थिए। आज त्यही संघर्षका कारण तिमीहरू सत्ता र शक्तिमा छौ, तर उ तिमीहरूको शासनमा अस्पतालको शय्यामा मृत्यु र जीवनबीच जुधिरहेको छ।’

उनका अनुसार राज्य दुईतिहाइको मातले जे पनि गर्न सकिन्छ भनेर भुइँतहका मानिसहरूमाथि त्रासमाथि त्रास थोपर्दै आइरहेको छ। सत्ताले ट्राफिक नियम उल्लङ्घन गर्दा हजारौँ/लाखौँ जरिवाना तिर्नुपर्ने व्यवस्था तिमीहरूले आफ्नै आर्थिक हैसियतअनुसार ल्याउँदैछ।

उनले थपेकी छन्, ‘तर तिमीहरूलाई याद रहोस्, यो देश १,००० रुपैयाँ जरिवाना तिर्न नसकेर आत्मदाह गर्न बाध्य हुने मानिसहरूको देश हो। ‘देश बनाउँछु’ भन्दै आएकाहरूले सुरुमा त देश बुझ्नुपर्ने देखियो।’

शासकहरूले जरिवानाका कानुनहरू त बनाए, तर ती कानुन आफ्ना करोडौँका गाडी चढ्ने सुकिला-मुकिला मन्त्री र तिनका आसेपासेको हैसियत हेरेर बनाए। उनीहरूले बिर्सिए कि यो देशमा दिनभरि पसिना बगाउँदा पनि साँझ एक हजार रुपैयाँ गोजीमा नहाल्न सक्ने बहुसंख्यक गरिबहरू बस्छन्।

त्यही एक हजार रुपैयाँको जरिवाना तिर्न नसक्दा आत्मसम्मानमा ठेस लागेर एउटा तन्नेरीले आफ्नो शरीरमा आगो झोस्नुपर्छ भने यो सरकार हत्यारा भएको तर्क आज हजारौं कर्णालीबासीले गरिरहेका छन्।

​लेखक तथा साहित्यकार केशव दाहालको आक्रोशले सिंहदरबारका सुकुमार शासकहरूको अनुहारमा कडा थप्पड हानेको छ।

उनले लेखेका छन्, ‘तँहरूलाई लाग्दो हो, निर्धाहरू जलेर मरून् कि लडेर मरून्, भोकले मरून् कि शोकले; देश हँसाउने महान् अभियानमा अलिअलि मान्छेको बलि चढ्नु स्वाभाविकै हो।’

उनले थपेका छन्, ‘मान्छेलाई उठ्नै नसक्ने गरी दण्ड दिएर उत्सव मनाउने उन्मादी शासकहरूलाई फेरि अर्को रङको नयाँ लुगा लगाऊ, बदाम खाँदै गरेको चिटिक्क परेको एउटा फोटो फेसबुकमा हाल। यति गरी कृपया सेवकहरूलाई फेरि जयजयकार गर्ने बहाना देऊ। निर्धा नागरिकहरू आजको दिनसँगै तिम्रो अहंकार, नालायकी र पतनको एक–एक हिसाब सम्झिरहनेछन्।’

जनता सडकमा जिउँदै जलिरहेका छन्, अस्पतालमा सासका लागि संघर्ष गरिरहेका छन्, तर हाम्रा शासकहरू नयाँ-नयाँ रङका सुटमा सजिएर, सामाजिक सञ्जालमा ‘चिटिक्क’ परेका तस्बिरहरू पोस्ट गर्दै ‘सुशासन’ को बाँसुरी बजाइरहेका छन्। जनता दण्डको मारले थिचिएका छन्, शासकहरू उत्सव मनाइरहेका छन्। यो भन्दा ठुलो कुरुप र लाचार दृश्य लोकतन्त्रका लागि अरू के हुन सक्छ?

​गणेश नेपालीको मृत्यु एउटा दुःखद खबर मात्र होइन, यो वर्तमान राज्य प्रणालीको पूर्ण असफलताको रक्ताम्मे घोषणापत्र हो।

लेखक तथा कथाकार ध्रुवसत्य परियारले निकै आक्रोशित हुँदै लेखेका छन्, ‘गणेश नेपालीको मृत्यु सामान्य घटना होइन, सरकारको असफलताको संकेत हो। यो घटनाले घण्टी बजाएको छ- यो सरकारको दिनगन्ती सुरु भो। यो जुनीमा कुनै सरकारको प्रशंसा गर्नै नपाइने भो त! सबका सब चोर।’

जनतामा व्यवस्था र सरकारप्रति यसरी आक्रोश र घृणा पैदा हुनुको कारण राज्यकै रवैया हो। राज्य गरिबमुखी होस्, पिछडिएका वर्गले न्याय पाऊन् भनेर जनताले पटक-पटक जनआन्दोलन गरे, रगत बगाए। तर, परिणाम के आयो? फेरि त्यही गरिबमारा सरकार!

साहित्यकार नारायण वाग्लेले चेतावनीयुक्त भाषामा भनेका छन्, ‘काठमाडौँमा दुःखजिलो गरेर जीविका चलाउने मुगुका गणेश नेपालीप्रति श्रद्धाञ्जली दिएर मात्र पुग्दैन, क्षमायाचनाले पनि पुग्दैन। रवैया फेर, नभए फेरिन तयार होऊ!’

​यो देशमा व्यवस्था फेरियो, सरकारको नेतृत्व गर्ने अनुहारहरू फेरिए, तर जनताको नियति कहिल्यै फेरिएन। हिजो संसद् भवनको अगाडि आफ्नै शरीरमा आगो लगाएर प्राण त्याग्ने इलामका प्रेमप्रसाद आचार्य हुन् वा आज राहदानी विभाग र त्रिपुरेश्वरको सडकमा आत्मदाहको प्रयास गर्ने मुगुका गणेश नेपाली उनीहरूको रोदन, उनीहरूको पीडा र उनीहरूको माग एउटै थियो। उनीहरू भन्थे, ‘हामीलाई यो देशमा गरिखान देऊ, मेहनत गरेर आफ्नै माटोमा सम्मानपूर्वक बाँच्न देऊ।’

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सत्ताको यही चरित्रमाथि प्रहार गर्दै भनेका छन्, ‘सरकार फेरिए पनि जनताको पीडा फेरिएन। त्यसैले हामी सबैले सोच्नुपर्ने बेला आएको छ। राजनीतिक परिवर्तन र कुर्सी परिवर्तन मात्रै मुख्य विषयवस्तु होइन, जनताको जीवन परिवर्तन नै मुख्य विषयवस्तु हो। यो देश गरिब, दुःखी र मेहनत गरेर जीवन चलाउने जनताको पनि हो।’

उनका अनुसार सरकारले सुकिला–मुकिलाको पक्षमा होइन, गरिब र दुःखी जनताको पक्षमा ठोस कदम चाल्नुपर्छ। यही नै सुशासनको वास्तविक मापन हो।

तर, वर्तमान सरकार सुकिला-मुकिला, बिचौलिया र दलालहरूको घेराबन्दीमा यसरी फसेको छ कि उसलाई कर्णालीको मुगुबाट आएको एउटा गरिब युवाको चित्कार सुन्ने फुर्सद नै नभएको पूर्व सांसद दानसिंह परियारले बताए।

उनी भन्छन्, ‘ए हत्यारा भिलेन राजीनामा दे। गणेश नेपालीको रगतको मूल्य खेर जाने छैन र खेर जान दिइने छैन।’

उनका अनुसार जुन राज्यले आफ्ना युवाहरूलाई स्वदेशमै रोजगारी दिन सक्दैन, जसले सामान्य जीवनयापन गर्न खोज्ने भुइँमान्छेहरूमाथि जरिवाना र दण्डको डन्डा बर्साएर आत्महत्याको बाटो रोज्न बाध्य पार्छ, त्यो राज्य न्यायको संरक्षक हुन सक्दैन, त्यो केवल एउटा ‘भिलेन’ र ‘हत्यारा’ रैती मात्र हो।

गणेश नेपालीको आत्मदाह र मृत्युले वर्तमान दुईतिहाइको दम्भ बोकेको सरकारको पतनको घण्टी बजाएको छ। अबका दिनमा निर्धा नागरिकहरूले शासकहरूको अहंकार, नालायकी र क्रूरताको एक-एक हिसाब माग्नेछन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार