जहाँ सामान्य सिटामोल पाउनसमेत गाह्रो हुन्थ्यो र जहाँ वर्षौँसम्म डाक्टरको मुख देख्न पाइँदैनथ्यो, त्यस्ता ठाउँमा पुगेर सेवा गरेका कारण दुर्गमका नागरिकको स्वास्थ्य अवस्था कति दर्दनाक र कारुणिक हुन्छ भन्ने कुरा उनले धेरै नजिकबाट, आफ्नै आँखाले बुझेका थिए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जनरल सर्जन डा. सूर्यमान म्याहाङम्बो नियुक्त भएका छन्। प्रतिष्ठानको स्थापना लगत्तै, विस्तार र संस्थागत विकासका हरेक कठिन मोडका प्रत्यक्ष साक्षी तथा सारथी रहेका उनी अब यही संस्थाको शैक्षिक र प्रशासनिक नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुगेका छन्। डेढ वर्षअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गई सेवा गरिरहेका उनको कर्णालीसँगको सम्बन्ध कहिल्यै टुटेन। बरु उनले कर्णालीमा बिताएका वर्षहरूले एउटा चिकित्सकलाई मात्र होइन, एउटा संस्थाको आधारशिला निर्माण गर्ने नेतृत्वलाई पनि परिभाषित गर्यो।

स्रोत–साधनविहीन अवस्थाबाट सुरु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित ‘सिस्टम’मा अघि बढाउने, सर्जरी सेवाको जग बसाल्ने, विपन्न नागरिकसम्म विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने तथा चिकित्सा शिक्षाको आधार तयार गर्ने यात्रामा उनको भूमिका अग्रपङ्क्तिमा रह्यो। त्यसैले उनको उपकुलपति नियुक्तिलाई धेरैले एउटा नयाँ प्रशासकको आगमनभन्दा पनि संस्थाको इतिहास, संघर्ष र भविष्यलाई एकै सूत्रमा जोड्ने निरन्तरताका रूपमा हेरेका छन्।
ताप्लेजुङकोबाट सुरु भएको उनको जीवनयात्रा कसरी चीन, तानसेन हुँदै कर्णालीसम्म आइपुग्यो, किन उनले सहज अवसर छाडेर अभावसँगै बाँच्ने बाटो रोजे र कसरी उनले आफ्नो व्यक्तिगत जीवनभन्दा संस्था र नागरिकको सेवालाई प्राथमिकतामा राखे भन्ने कथा आफैँमा प्रेरणादायी छ। प्रस्तुत छ उनले कर्णालीमै दशकबढी समय गरेको सेवाको बेलिविस्तार।

पूर्वी नेपालको पहाडी जिल्ला, कञ्चनजङ्घाको काखमा अवस्थित ताप्लेजुङमा जन्मिएका डा. सूर्यमान म्याहाङम्बोको जीवनयात्रा आफैमा एउटा जीवन्त विश्वविद्यालय जस्तै छ। अभाव र चुनौतीहरूलाई नजिकबाट नियालेका डा. लिम्बूको चिकित्सा यात्रा सुदूरपूर्वको ताप्लेजुङदेखि सुरु भएर सुदूरपश्चिमका कुना-कन्दरा हुँदै अन्ततः कर्णालीको विकट भूगोलसम्म जोडिन पुग्यो।
डा. म्याहाङम्बोले आफ्नो चिकित्साशास्त्र (एमबीबीएस) को अध्ययन चीनबाट पूरा गरेका थिए। चीनको व्यवस्थित, आधुनिक र प्रविधिमैत्री चिकित्सा प्रणालीबाट उनी निकै प्रभावित थिए। त्यहाँ उनले चिकित्सा विज्ञान मात्र सिकेका थिएनन्, बरु कुनै पनि अस्पताल वा स्वास्थ्य संस्थालाई कसरी एउटा निश्चित ‘सिस्टम’ (प्रणाली) मा सञ्चालन गर्नुपर्छ भन्ने महत्त्वपूर्ण पाठ पनि सिकेका थिए। चीनबाट फर्केपछि उनी जहिले पनि चुस्त व्यवस्थापन, गुणस्तरीय सेवा र प्रविधिमैत्री अस्पतालमा काम गर्न रुचाउँथे।

जुम्ला आउनुअघि उनी पाल्पाको प्रसिद्ध तानसेन मिसन अस्पतालमा कार्यरत थिए। तानसेन मिसन अस्पताल नेपालकै यस्तो स्वास्थ्य संस्था मानिन्थ्यो, जहाँ हरेक काम निश्चित प्रणाली, समयको कडा पालना र विशुद्ध सेवामुखी पद्धतिमा हुन्थ्यो। त्यहाँको व्यवस्थित प्रणालीमा काम गर्दा डा. म्याहाङम्बोले एउटा दक्ष र प्रणालीबद्ध चिकित्सकका रूपमा आफूलाई स्थापित गरिसकेका थिए।
मेडिकल अफिसर छँदा नै उनले देशका विभिन्न दुर्गम क्षेत्रमा पुगेर सेवा गरिसकेका थिए। जहाँ सामान्य सिटामोल पाउनसमेत गाह्रो हुन्थ्यो र जहाँ वर्षौँसम्म डाक्टरको मुख देख्न पाइँदैनथ्यो, त्यस्ता ठाउँमा पुगेर सेवा गरेका कारण दुर्गमका नागरिकको स्वास्थ्य अवस्था कति दर्दनाक र कारुणिक हुन्छ भन्ने कुरा उनले धेरै नजिकबाट, आफ्नै आँखाले बुझेका थिए।

सुरुमा डा. म्याहाङम्बो स्थायी रूपमा सधैँका लागि बस्ने सोच र मानसिकता बनाएर जुम्ला हिँडेका थिएनन्। त्यो बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. निरेश थापाले उनलाई जुम्ला आउन बारम्बार आग्रह गरिरहेका थिए। वास्तवमा डा. थापाको त्यो आग्रहका पछाडि एउटा सकारात्मक स्वार्थ लुकेको थियो, जुम्लाको जिम्मेवारी र त्यहाँको सर्जरी विभागको कमान्ड डा. म्याहाङम्बो जस्तो कुशल र जाँगरिलो सर्जनलाई सुम्पेर आफू केही समयका लागि तानसेन फर्किनु।
डा. म्याहाङम्बो केवल एक वर्षका लागि मात्र सहयोग गर्ने सम्झौता र सोचका साथ २०७१ सालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला आइपुगेका थिए। तर, नियतिले उनको जीवनको एउटा ठूलो र ऐतिहासिक अध्याय कर्णालीकै माटोमा लेख्न तयार पारिसकेको थियो।


तानसेन मिसन अस्पताल र चीनका सुविधासम्पन्न अस्पतालहरूमा काम गरेर अभ्यस्त भएका डा. म्याहाङम्बो जब पहिलोपटक जुम्लाको अस्पतालमा पाइला टेके, तब उनी छाँगाबाट खसेजस्तै भए। जुम्ला आइपुग्नेबित्तिकै उनी फ्रेस हुन वा थकाई मार्न कोठामा गएनन्, बरु सिधै ‘अप्रेसन थिएटर’ (ओटी) कस्तो रहेछ भनेर निरीक्षण गर्न छिरेका थिए।
त्यहाँको दयनीय अवस्था देख्दा उनी छक्क परे। भित्ताहरू उप्किएको एउटा सामान्य कोठा, जसको छतमा चारवटा सामान्य घरायसी चिम झुन्ड्याइएको थियो र बिचमा एउटा मात्रै पुरानो तथा जीर्ण फलामे टेबल राखिएको थियो। त्यसैलाई अप्रेसन थिएटरको रूप दिइएको थियो।

त्यो टिठलाग्दो दृश्य देखेपछि उनको मनमा चिसो पस्यो। उनले आफैलाई प्रश्न गरे, ‘म कस्तो ठाउँमा आइपुगेँ? यस्तो शून्य र स्रोतसाधनविहीन ठाउँमा म कसरी जटिल अप्रेसनहरू गर्न सकौँला? म तुरुन्तै फर्किएर जाऊँ कि के गरुँ!’
उनको मनभित्र ठुलै आँधीहुरी चल्यो। एक मनले भन्योर ‘यहाँ तिम्रो करियर बर्बाद हुन्छ, फर्किऊ।’ तर अर्को मनले भन्यो, ‘यदि तिमीजस्ता सर्जन पनि यहाँबाट भाग्ने हो भने यी गरिब र रोगको पर्याय बनेका कर्णालीबीसीको उपचार कसले गर्छ?’

अन्ततः उनले पाइला पछि सारेनन्। उनले चुनौतीलाई नै अवसरका रूपमा स्वीकार गर्ने दृढ सङ्कल्प गरे। बिस्तारै डाक्टर, नर्स र कर्मचारीहरूको टोली बलियो बन्दै गयो। त्यही टिमको आपसी सहकार्य, समर्पण र कर्णालीवासीको आत्मीयताले उनलाई हरेक दिन काम गर्ने नयाँ ऊर्जा र मानसिक सन्तुष्टि दिन थाल्यो।
डा. म्याहाङम्बो जुम्ला आउँदाको समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाल्यकालमै थियो। प्रतिष्ठानसँग तत्कालीन कर्णाली अञ्चल अस्पतालको पुरानो, जीर्ण संरचना र केही सीमित, पुराना सामानबाहेक केही पनि थिएन। अस्पतालमा विशेषज्ञ डाक्टर र कर्मचारी गरेर जम्मा ६० जनाको सानो टिम थियो, जसले सिङ्गो कर्णालीको स्वास्थ्य भार बोक्नुपर्ने थियो।

जनरल सर्जनका रूपमा जुम्ला आएका उनले हाडजोर्नी बाहेकका प्रायः सबै प्रकारका बिरामीको उपचार एक्लै सम्हाल्नुपर्यो। अस्पतालमा न त पर्याप्त उपकरण थिए, न त छुट्टाछुट्टै विभागका विशेषज्ञहरू नै। स्रोत-साधनको चरम अभावका बीच उनले आफै भिडियोएक्स-रे र इन्डोस्कोपीसमेत गर्नुपथ्र्यो।
डाक्टरहरूको अभाव यतिसम्म थियो कि उनीहरूको दैनिकी निकै कष्टकर हुन्थ्यो। उनीहरू बिहान सबेरै उठेर वार्डमा भर्ना भएका बिरामीहरूको राउन्ड लिन्थे, दिउँसो ओपिडीमा आउने सयौं बिरामीहरूलाई जाँच्दै अस्पतालको प्रशासनिक कामहरू मिलाउँथे र दिनभरिको कामबाट थकित भए पनि राति मात्र फुर्सद मिल्ने हुनाले जटिल प्रकृतिका अप्रेसनहरू गर्थे।

त्यो कठिन समयलाई सम्झिँदै डा. म्याहाङम्बो आज पनि गर्वका साथ भन्छन्, ‘म गर्वसाथ भन्न सक्छु, यहाँको सर्जरी डिपार्टमेन्ट मैले नै स्थापना गरेको हुँ। यो सुनाउँदा मेरो छाती गर्वले चौडा हुन्छ। हामीले सुरुमा जुन जग खन्यौँ र पिलर ठड्यायौँ, आज संस्था त्यही फाउन्डेसनमा उभिएर विशाल रूप लिएको छ।’
विकट भूगोलमा बसेर राष्ट्र र नागरिकको सेवा गर्दा डा. म्याहाङम्बोले भोगेको पारिवारिक पीडा र बिछोडका कथाहरू कम्ती मार्मिक छैनन्। बाहिरबाट हेर्दा एउटा सेतो एप्रोन लगाएको मुस्कुराउने डाक्टर देखिन्छ, तर त्यो एप्रोनभित्र कति धैरे व्यक्तिगत आँसु र छटपटी लुकेका हुन्छन् भन्ने कुरा उनको जीवनको एउटा घटनाले प्रष्ट पार्छ।

उनको दोस्रो बच्चा जन्मने बेला काठमाडौंमा श्रीमतीलाई प्रसव व्यथा लागेर अस्पताल भर्ना गरिएको थियो। एउटा श्रीमान् र बुबाका रूपमा उनी त्यो बेला आफ्नी श्रीमतीको साथमा हुनुपर्ने थियो।
तर, यता जुम्लामा भने नेपाल मेडिकल काउन्सिलको टोली एमबीबीएस कार्यक्रमको स्वीकृति र अनुगमनका लागि आउने तयारी अन्तिम चरणमा पुगेको थियो। अस्पतालको साख बचाउन र शैक्षिक कार्यक्रम स्वीकृत गराउन डा. म्याहाङम्बोको उपस्थिति अनिवार्य थियो।
सोही समयमा प्रकृतिले पनि उनीमाथि परीक्षा लियो। जुम्ला विमानस्थलको धावनमार्ग कालोपत्रे भइरहेकाले जहाज चल्ने अवस्था कत्ति पनि थिएन। श्रीमतीको छेउमा पुग्न र नवजात शिशुलाई काखमा लिन उनले गाडीको लामो, कष्टकर र हिलोमैलोको बाटो तय गर्नुपर्यो।
जुम्लादेखि कर्णाली राजमार्गको कठिन यात्रा गर्दै उनी निकै ढिलो गरी राति मात्र नेपालगन्ज पुग्न सके। नेपालगन्ज आइपुग्दा काठमाडौँका लागि उनले काटेको अन्तिम हवाई टिकट छुटिसकेको थियो। भोलिपल्ट मात्र उनी काठमाडौँ पुग्न सके, तर त्यतिबेलासम्म उनकी छोरीले यो धर्तीमा पाइला टेकिसकेकी थिइन्।
आफ्नी श्रीमतीले जीवन र मरणको लडाइँ लडिरहँदा र आफ्नो सन्तान जन्मँदा छेउमा उभिन नपाउनुको पीडाले उनको मन कति पटक भित्रभित्रै रोयो होला, तर यो व्यक्तिगत पीडाले उनलाई अझ जिम्मेवार र दरो चिकित्सक बनायो।
जुम्लामा हिउँद हुने चिसो बयान गरिसाध्य हुँदैन। त्यसमाथि अस्पतालको स्त्रीरोग (गाइनो) वार्डमा अत्यधिक चिसो हुन्थ्यो, जहाँ आधुनिक हिटर वा तातो बनाउने प्रविधिहरू थिएनन्। चिसोका कारण काँप्दै, ओठ निलो बनाउँदै कर्णालीका आमाहरूले बच्चा जन्माएको देख्दा डा. म्याहाङम्बोको मन कटक्क खान्थ्यो र उनी भावुक बन्थे।
यद्यपि उनी एक जनरल सर्जन थिए, तर विकटको बाध्यता यस्तो थियो कि उनले गाइनोकोलोजिस्टको भूमिका पनि निभाउनुपर्यो। इमर्जेन्सी परेका बेला, आमा र बच्चा दुवैको ज्यान जोखिममा हुँदा उनले थुप्रै गर्भवती महिलाको पेट चिरेर बच्चा (सिजेरियन सेक्सन) निकाले।
कतिपय अवस्थामा अस्पतालमा न त एनेस्थेसिया उपकरण हुन्थ्यो, न त विद्युत्को भरपर्दो व्यवस्था नै। विद्युत् आपूर्ति बन्द भएको बेला मोबाइलको लाइट र हातमा टर्च लाइट बालेर, पसिना पुछ्दै, अत्यधिक तनावका बिच उनले जटिल अप्रेसनहरू गरे। ती रातहरूमा आमा र बच्चा दुवैको ज्यान जोगाएर जब उनी ओटी बाहिर निस्कन्थे, उनलाई संसार जितेको जस्तै महसुस हुन्थ्यो। ती क्षणहरू उनी आफ्नो जीवनमा कहिल्यै बिर्सन सक्दैनन्।
डा. सूर्यमान म्याहाङम्बो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग जोडिएका ठूला राजनीतिक उतारचढाव, सामाजिक आन्दोलन र ऐतिहासिक मोडहरूका प्रत्यक्ष साक्षी र सारथी पनि हुन्। नेपालको चिकित्सा क्षेत्रको समग्र सुधार र दुर्गममा मेडिकल कलेज खुल्नुपर्छ भन्दै डा. गोविन्द केसीले जुम्लामै आएर आमरण अनशन सुरु गरेका थिए।
त्यो आन्दोलनले उग्र रूप लियो। एक दिन अस्पतालभित्रै प्रहरी र प्रदर्शनकारीबिच ठुलो झडप भयो, अश्रुग्यास प्रहार भयो र अस्पतालभित्रै गोली चल्यो। चारैतिर हुलदंगा, चिच्याहट र रगतका टाटा देखिन्थे। सोही घटनामा एक जना स्थानीय नागरिकलाई गोली लाग्यो र उनी गम्भीर घाइते भए।
गोलीको धक्काले उनको शरीरको भित्रसम्म काठको तिखो र ठुलो भाग पसेको थियो, जसका कारण भित्री अङ्गहरू क्षतविक्षत भएका थिए र अत्यधिक रक्तस्राव भइरहेको थियो। तत्काल अप्रेसन नगरेको खण्डमा ती नागरिकको ज्यान केही मिनेटमै जाने निश्चित थियो। बाहिर आन्दोलन चर्किएको थियो, अस्पताल सुरक्षित थिएन, तर डा. म्याहाङम्बोले आफ्नो ज्यानको पर्वाह गरेनन्।
उनले तुरुन्तै बिरामीलाई अप्रेसन थिएटरमा लगे र अत्यन्तै जटिल शल्यक्रिया गरेर उनको शरीरभित्र पसेको काठको टुक्रा निकालेर ज्यान जोगाए। यदि त्यो दिन उनले हिम्मत हारेर ती बिरामीलाई बचाउन नसकेको भए, जुम्लाको स्थिति अझै भयानक र हिंसात्मक हुने थियो। त्यो सफल अप्रेसनपछि ती घाइतेका परिवारको आँखामा देखिएको आँसु र उनले पाएको आत्मिक आनन्दलाई शब्दमा वर्णन गर्नै सकिँदैनथ्यो।
उनी र उनको टोलीले आफूलाई अस्पतालको चार भित्ताभित्र मात्रै सीमित राखेका थिएनन्। कर्णालीका विकट गाउँहरू जहाँ अस्पताल आउन महिनौँ लाग्थ्यो, त्यहाँका नागरिकका लागि उनीहरू आफैँ हिँडेर पुग्थे। उनीहरू दुर्गम डोल्पा र मुगुका गाउँगाउँमा पुगेर हप्तौँसम्म स्वास्थ्य क्याम्प सञ्चालन गर्थे र सयौँ बिरामीको निःशुल्क शल्यक्रिया गर्थे।
साथै राज्यले कहिलेकाहीँ विकट भीरबाट लडेका वा सुत्केरी व्यथाले छटपटाएका बिरामीहरू बचाउन हेलिकप्टरमा राखेर डा. म्याहाङम्बोलाई खटाउँथ्यो, जहाँ उनी आकाशमै बिरामीको प्रारम्भिक उपचार गर्थे।
सुरुका दिनमा जुम्ला आउँदा डा. म्याहाङम्बो र अन्य डाक्टरहरूका लागि बस्ने राम्रो आवासको व्यवस्था थिएन। उनी र डा. निरेश थापा एउटै साँगुरो, चिसो कोठा सेयर गरेर बस्थे। एउटै ओछ्यान र एउटै टेबलको भरमा उनीहरूले कैयौँ हिउँदका रातहरू काटे।
पुराना दिनहरू सम्झिँदै डा. लिम्बू भावुक हुँदै भन्छन्, ‘हाम्रो दिनको सुरुवात त साह्रै बादल लागेजस्तो, कुहिरोले घेरिएजस्तो अन्धकारमय थियो। तर पछि बिस्तारै हामीले काम गर्दै गयौँ, संस्था बदलिँदै गयो र बादल फाटेर प्रस्ट घाम लागेजस्तै भयो।’
हिजोको कर्णाली र आजको कर्णालीमा आकाश-जमिनको फरक छ। हिजो एउटा सामान्य एपेन्डिक्सको अप्रेसन गर्न नपाएर कर्णालीवासीले आफ्ना अमूल्य खेतबारी र चौपाया सस्तोमा बेच्नुपर्ने बाध्यता थियो, वा पैसा नभएर अकालमै मर्नुपर्ने नियति थियो।
एउटा मात्र जीर्ण र बत्ती नभएको अप्रेसन थिएटरबाट सुरु भएको यो यात्रा, आगलागीको ठूलो दुर्घटना र अनेकौँ अभावहरू झेल्दै आज नेपालकै एउटा प्रतिष्ठित मेडिकल कलेजमा रूपान्तरण भएको छ। हिजो सीमित टिम र सामान्य प्रयोगशाला भएको ठाउँमा आज तीनवटा अत्याधुनिक मोड्युलर अप्रेसन थिएटर, पूर्ण रूपमा डिजिटल ल्याब र ८० भन्दा बढी विशेषज्ञ डाक्टरहरू कार्यरत छन्।
त्यस्तै, हिजो स्वास्थ्य सेवा नै ठप्प भएको ठाउँमा आज एमबीबीएस र एमडी जस्ता उच्च शैक्षिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। डा. म्याहाङम्बो आफै पनि यो संस्थाको मेडिकल डाइरेक्टर जस्तो महत्त्वपूर्ण प्रशासनिक जिम्मेवारी सफलतापूर्वक पूरा गरिसकेका छन्। आज प्रतिष्ठानको मुख्य जिम्मेवारीमा पुगेका छन्।
बाहिरका मानिसहरू, जसले विकटको पीडा र चिकित्सकको त्याग बुझेका हुँदैनन्, उनीहरू सोच्छन् कि विकटमा यतिका वर्ष बसेका डाक्टरले ‘प्रशस्त पैसा र सम्पत्ति कमाए होलान्।’ तर डा. म्याहाङम्बोलाई राम्रोसँग थाहा छ, उनले यहाँ बसेर बैंक ब्यालेन्स वा महल कमाएका छैनन्। उनले त कर्णालीका सोझा, निश्छल र गरिब नागरिकको मनैदेखि प्रस्फुटित भएको अमूल्य ‘आशिष’ र निको भएका बिरामीहरूको अनुहारमा देखिने ईश्वरीय खुसी कमाएका छन्।
उनी दृढताका साथ भन्छन्, ‘यी हाम्रा संघर्ष र भोगाइहरू कुनै दिन इतिहासका पानामा लिपिबद्ध होलान् वा नहोलान्, तर कर्णालीको माटो र हाम्रो मनमा भने यिनीहरूले गहिरो जरा गाडेर बसेका छन्। अहिले प्रतिष्ठानको करोडौँको बजेट, आधुनिक भवन र सुविधाहरू देख्दा पुराना ती दुःखका दिनहरू एकादेशको कथाजस्ता लाग्छन्। तर यो संस्था हाम्रो रगत, पसिना, सुख-दुःखको त्रिवेणी सङ्गम हो। त्यसैले, यसलाई छोडेर सुखको खोजीमा कतै जाने मनले अहिले मान्दै मान्दैन।’
डा. सूर्यमान म्याहाङम्बो एक चिकित्सक मात्र होइनन्, उनी कर्णालीको आधुनिक स्वास्थ्य प्रणालीको जग बसाल्ने, अन्धकारमा टर्च लाइट बालेर उज्यालो छर्ने र भूगोलको विकटतालाई मानवीय सेवाको सुवासले सुगन्धित बनाउने एक सच्चा राष्ट्रका सारथी हुन्।
प्रतिष्ठानका पूर्व उपकुलपति डा. मंगल रावलले इमानदार, सबैभन्दा वरिष्ठ र उच्च नैतिक आचरण भएका व्यक्तित्वका रूपमा उनलाई चित्रण गरेका छन्। उनका अनुसार, डा. म्याहाङम्बोको लामो अनुभव, निष्पक्ष कार्यशैली, व्यावसायिक इमानदारी र नैतिक नेतृत्वका कारण उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि उपयुक्त व्यक्ति हुन्।













