बुधबार, १७ असार, २०८३

जुम्ला कर्णालीकै चौथो पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

जुम्ला कर्णाली प्रदेशको चौथो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ। जिल्लाका सबै आठवटै स्थानीय तहले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न गरेपछि सोमबार जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजनामा आयोजित विशेष समारोहबीच जिल्लालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता : पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष गौरीनन्द आचार्य को अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी दीपक पौडेल को विशेष आतिथ्य रहेको थियो। कार्यक्रममा तातोपानी गाउँपालिकाका स्वास्थ्य संयोजक गुरु प्रसाद चौलागाईं, नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईं, सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोपबहादुर बुढा, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख चिरञ्जीवी दाहाल, जिल्ला समन्वय अधिकारी रोम महत, शिक्षा समन्वय प्रमुख रछाने लोहार लगायत सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सचिव तथा जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरणकुमार शर्मा ले जिल्लाको पूर्णखोप अवस्था, खोप सेवाको वर्तमान स्थिति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए। उनका अनुसार जिल्लामा जन्मेदेखि पाँच वर्षमुनिका २ हजार ६८ जना तथा १६ देखि २३ महिनासम्मका ३ हजार ३ सय ६७ जना गरी कुल ५ हजार ४ सय ३५ जना बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आवश्यक सबै खोप प्राप्त गरेका छन्। सबै स्थानीय तहले लक्षित बालबालिकालाई नियमित खोप सेवा सुनिश्चित गरेपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा प्रक्रिया पूरा भएको उनले जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खोप समन्वय समितिका अध्यक्ष गौरीनन्द आचार्य ले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्थानीय तह तथा समुदायको सक्रिय सहभागिता र प्रभावकारी समन्वयका कारण जुम्लाले यो महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए। उनले घोषणा केवल औपचारिकतामा सीमित नराखी भविष्यमा पनि कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिने गरी सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेल ले पूर्णखोप सुनिश्चितता व्यवहारमा पनि प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने उल्लेख गर्दै सबै सरकारी तथा गैरसरकारी निकायबीचको सहकार्यले मात्रै यसको दिगोपना सुनिश्चित हुने बताए।

तातोपानी गाउँपालिकाका स्वास्थ्य संयोजक गुरु प्रसाद चौलागाईं ले स्थानीय तहको सक्रियता, स्वास्थ्यकर्मीको मेहनत र समुदायको सहभागिताले पूर्णखोप सुनिश्चितता सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाइने बताए।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईं ले जनस्वास्थ्यसम्बन्धी सूचना र सचेतना प्रवाहमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउँदै पूर्णखोपको सन्देश प्रत्येक नागरिकसम्म पुर्‍याउन पत्रकारिता क्षेत्र निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोपबहादुर बुढा ले स्वास्थ्य, शिक्षा र स्थानीय तहबीचको समन्वयले मात्रै पूर्णखोप सुनिश्चिततालाई दिगो बनाउन सकिने उल्लेख गर्दै प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने बताए।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख चिरञ्जीवी दाहाल ले बालबालिकाको स्वास्थ्य सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताउँदै जनस्वास्थ्यका कार्यक्रमहरूमा प्रहरी प्रशासनको पूर्ण सहयोग रहने बताए।

जिल्ला समन्वय अधिकारी रोम महत ले स्थानीय तह तथा सम्बन्धित निकायबीचको प्रभावकारी समन्वयलाई अझ सुदृढ बनाएर पूर्णखोप सुनिश्चितताको अवस्थालाई निरन्तर कायम राख्नुपर्ने धारणा राखे।

शिक्षा समन्वय प्रमुख रछाने लोहार ले विद्यालय र समुदायमार्फत खोपसम्बन्धी जनचेतना अभिवृद्धि गर्न शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै बालबालिकाको स्वास्थ्य सुरक्षामा सबै पक्ष सचेत हुनुपर्ने बताए।

कार्यक्रममा पूर्णखोप सुनिश्चितता घोषणा गर्ने पहिलो स्थानीय तहका रूपमा सम्मानित गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ललितबहादुर रोकाय लाई दोसल्ला र अविरसहित सम्मान गरिएको थियो। साथै जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र प्रदान गरिएको थियो।

जनस्वास्थ्य सेवा कार्यालयका अनुसार पूर्णखोप सुनिश्चितता घोषणा अघि गर्भवती महिला, किशोरी तथा नियमित खोप कार्यक्रमअन्तर्गत सञ्चालन हुने ११ प्रकारका खोप सेवाको पहुँच, अभिलेखीकरण, अनुगमन र प्रमाणीकरण प्रक्रिया पूरा गरिएको थियो। कार्यालयले आगामी दिनमा पनि नियमित खोप सेवाको निरन्तरता, गुणस्तरीय सेवा प्रवाह तथा पूर्णखोप सुनिश्चितताको दिगोपनालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार