शिक्षा पाठ्यपुस्तकमा सीमित विषय मात्रै होइन, समाज परिवर्तनको आधार पनि हो भन्ने सन्देश हिमा गाउँपालिकाले आयोजना गरेको चौथो पढाइ मेलाले स्थापित गरेको छ। विद्यार्थीको प्रतिभा, शिक्षकको समर्पण, अभिभावकको विश्वास र स्थानीय सरकारको प्रतिबद्धता एकै थलोमा भेटिएको यो मेला प्रतिस्पर्धाको कार्यक्रम नभई सामुदायिक शिक्षाको साझा उत्सव बनेर उभियो।
मेलाको समापन समारोहमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले र शिक्षाप्रति स्थानीय सरकारको प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले कार्यक्रम सफल बनाउन अहोरात्र खटिएका कालिका माध्यमिक विद्यालय, तलिकुका विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूप्रति कृतज्ञता व्यक्त गर्दै सामूहिक प्रयासले मात्र गुणस्तरीय शिक्षा सम्भव हुने धारणा राखे।
यस वर्षको पढाइ मेलामा पुरस्कार वितरण प्रणालीमा नयाँ अभ्यास गरिएको थियो। अघिल्ला वर्षको तुलनामा नगद पुरस्कारको व्यवस्था गरिनु प्रतिस्पर्धी विद्यार्थी र विद्यालयलाई थप प्रोत्साहन दिने उद्देश्यका साथ गरिएको हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जालन्धर भुसालले बताए।
उनका अनुसार कार्यक्रमको अर्को महत्वपूर्ण आकर्षण कालिका माध्यमिक विद्यालय, तलिकुका लागि गरिएको ५ लाख रुपैयाँ सहयोग घोषणा रह्यो। पढाइ मेलाको व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरेको सम्मानस्वरूप गाउँपालिकाले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि उक्त रकम उपलब्ध गराउने घोषणा गरेको हो।
‘विद्यालयको आवश्यकता र प्राथमिकताका आधारमा उक्त रकम खर्च गर्न विद्यालय व्यवस्थापनलाई आग्रह गरेका छौं,’ उनले भने, ‘यो घोषणा स्थानीय सरकारले उत्कृष्ट कार्यको सम्मान मात्र होइन, विद्यालय विकासप्रतिको आफ्नो प्रतिबद्धता पनि व्यवहारमै देखाएको उदाहरण बनेको छ।’
मूल्याङ्कन प्रक्रियालाई लिएर उठ्न सक्ने जिज्ञासा र गुनासाप्रति पनि गाउँपालिका संवेदनशील रहेको अध्यक्ष शाहीले बताए। ‘भविष्यमा आउने कुनै पनि विवादलाई निष्पक्ष रूपमा समीक्षा गर्नेछौं। यसले पारदर्शिता र जवाफदेहिताप्रति स्थानीय सरकारको प्रतिबद्धतर छ,’ उनले भने।
हिमा गाउँपालिकाको चौथो पढाइ मेला पुरस्कार वितरणमा सीमित रहेन। बरु यसले शिक्षा सुधार, सहकार्य, आत्ममूल्याङ्कन र उत्तरदायित्वको संस्कृति निर्माण गर्ने प्रयासलाई समेत उजागर गरेको हिमाकी उपाध्यक्ष सुर्पुना शाहीको दाबी छ।
समग्र विद्यालयको मूल्याकनमा चार पटकको पढाइ मेलामा निरन्तर प्रथम भएको नेत्रज्योति प्राविधिक माविका प्रधानाध्यापक रंग बहादुर रोकायाले हिमामा विद्यालय, समुदाय र स्थानीय सरकार एउटै लक्ष्यका साथ हातेमालो गरिरहेको हुनाले असल शिक्षाको असल अभ्यास भइरहेको प्रतिक्रिया दिए।
















