बिहीबार, ११ असार, २०८३

फोहोरदेखि सुरक्षा व्यवस्थासम्म प्राथमिकता, चन्दननाथ नगरपालिकाको ५९ करोड ४६ लाखको बजेट सार्वजनिक

चन्दननाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५९ करोड ४६ लाख ७१ हजार ४२७ रुपैयाँ ४० पैसाको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न नगरसभाको १६औँ अधिवेशनमा नगर उपप्रमुख रामदेवी खड्काले बजेट प्रस्तुत गरेकी हुन्।

नगरपालिकाले यस वर्ष विकास निर्माण, सुशासन, सेवा प्रवाह, सार्वजनिक सुरक्षा तथा वातावरणीय व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ। विशेषगरी नगरवासीको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित फोहोरमैला व्यवस्थापन र सुरक्षा व्यवस्थालाई विशेष महत्व दिइएको छ।

नगर क्षेत्रमा बढ्दो चोरी–डकैती तथा सार्वजनिक सुरक्षासम्बन्धी चुनौतीलाई ध्यानमा राख्दै विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडानका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। यस्तै नगरको सरसफाइ तथा फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित बनाउन ५ लाख रुपैयाँ बजेट छुट्याइएको छ।

बजेट संरचनाअनुसार चालु खर्चतर्फ १७ करोड ६३ लाख ६४ हजार ८२८ रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ ९ करोड ७५ लाख ८ हजार ५१९ रुपैयाँ छुट्याइएको छ। बाँकी रकम संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानमार्फत विभिन्न कार्यक्रम सञ्चालनमा खर्च गरिने जनाइएको छ।

संघीय सरकारको सशर्त अनुदानअन्तर्गत २८ करोड २७ लाख रुपैयाँ तथा प्रदेश सरकारको सशर्त अनुदानअन्तर्गत ३ करोड २१ लाख ९८ हजार रुपैयाँ विभिन्न क्षेत्रगत कार्यक्रमका लागि विनियोजन गरिएको छ।

नगरप्रमुख राजु सिंह कठायतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, महिला तथा बालबालिका सशक्तीकरण, स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि विकास, संस्कृति, पर्यटन तथा सूचना, सञ्चार प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।

नगरपालिकाले प्रस्तुत गरेको बजेटले आधारभूत सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै सुरक्षित, सफा र व्यवस्थित नगर निर्माणको लक्ष्य लिएको जनाएको छ। स्थानीय आवश्यकता र जनचासोलाई केन्द्रमा राखेर ल्याइएको बजेटले विकास निर्माणका कामलाई थप गति दिने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार