आईतवार, ७ असार, २०८३

आमासँग रारा: एक अविस्मरणीय यात्रा

जब म आमासँग राराको किनारमा उभिएको थिएँ, त्यो क्षण मेरा लागि झन् विशेष बन्यो। एकातिर प्रकृतिको अनुपम उपहार ‘रारा’ थियो भने अर्कोतिर मेरो जीवनको सबैभन्दा ठूलो उपहार, ‘आमा’। ​

नेपालको सबैभन्दा ठूलो र सुन्दर मानिने रारातालको किनारमा उभिँदा मन अनायासै शान्त हुन्छ। मन्त्रमुग्ध हुने चाहना अन्तरात्मादेखि नै प्रस्फुटित हुन्छ।

चारैतिर फैलिएको हरियाली वन, माथि नीलो आकाश र बीचमा ऐनाजस्तै टल्किरहेको ताल, जसले नीलो आकाशलाई नै तल झर्न बाध्य बनाएको भान हुन्छ। यस्तो लाग्छ, प्रकृतिले आफ्ना सम्पूर्ण रङ र सौन्दर्य यही तालमा ल्याएर पोखिदिएकी छिन्।

राराको विशेषता केवल यसको सुन्दरता मात्र होइन, यसको परिवर्तनशील स्वभाव पनि हो। बिहानको कलिलो घामसँगै तालको पानी हेर्दा यस्तो लाग्छ, मानौँ आकाशका जम्मै ताराहरू आँखा अगाडि टिलपिल-टिलपिल गरिरहेका छन्।

रारा दिउँसो हरियोझैँ लाग्छ, साँझ पर्नासाथ सुनौलो र रात पर्दा गाढा नीलो रहस्यमा हराउँछ। मानौँ, यसले दिनभरि अनेक रङका भावनाहरू बोकेर संसारलाई नयाँ रूप देखाइरहेको छ।

​राराको यही परिवर्तनशील रङ हेरिरहँदा मलाई एउटै कुरा बारम्बार सम्झना आइरह्यो, आमा। यसपालि आमासँगै यात्रा गर्ने सौभाग्य मिलेको थियो। पहिलो चोटि यो ताल हेर्ने आमाको धेरै समयदेखिको पर्खाइ आज सफल हुँदै थियो।

तालको किनारमा पुग्दा आमाको मुखबाट एउटै शब्द निस्कियो, “आहा! कस्तो राम्रो? कति ठूलो? कति नीलो? कसरी बन्यो होला यो ताल बीचमा?” साच्चै, त्यो बेला आमाले आफ्नो सम्पूर्ण दुःख-कष्ट बिर्सनुभएको थियो।

मलाई भने रारा र आमाबीच तुलना गर्न मन लाग्यो, के राराभन्दा आमा ठूली छैनन् र? के आमाको मन राराको गहिराइभन्दा अझ गहिरो छैन र? के आमाको काख राराको काखभन्दा प्यारो लाग्दैन र?



आमाको अनुहारमा पनि जीवनका अनेक रङहरू हुन्छन्। सन्तानको सफलतामा खुसीको रङ, पीडामा चिन्ताको रङ, बिछोडमा आँसुको रङ र भेटमा अगाध प्रेमको रङ।

तर यी सबै रङहरू बदलिरहे पनि आमाको माया भने कहिल्यै बदलिँदैन। राराले रङ फेर्छ, आमा परिस्थिति अनुसार भाव बदल्नुहुन्छ; तर दुवैको आन्तरिक सुन्दरता भने सधैँ शाश्वत रहन्छ।

​रारा नेपालको सबैभन्दा ठूलो ताल हो। यसको विशाल फैलावट देख्दा लाग्छ, यो आफैँभित्र एउटा छुट्टै संसार बोकेर बसेको छ। ठीक त्यस्तै, आमाको हृदय पनि विशाल हुन्छ।

सन्तानका हजारौँ गल्ती, कमजोरी र अभावलाई आफ्नै छातीभित्र लुकाएर उनी केवल माया र आशिष मात्र बाँडिरहन्छिन्। राराको लम्बाइ र चौडाइ नाप्न सकिएला, तर आमाको प्रेमको सीमा नाप्ने कुनै मापन यन्त्र संसारमा बनेको छैन।

राराको गहिराइ १६८ मिटर छ भनिन्छ, तर त्यो गहिराइभन्दा कयौँ गुणा गहिरो हुन्छ आमाको ममता। सन्तानले बोलेका शब्द मात्र होइन, नबोलेका भावना र मौनता समेत बुझ्ने अलौकिक शक्ति आमासँग हुन्छ।

संसारले नदेखेका आँसु आमाले देख्छिन्; संसारले नसुनेका पीडा आमाले सुन्छिन् र सँगै भोग्छिन् पनि। त्यसैले त आमाको मन मलाई राराभन्दा पनि गहिरो लाग्छ।



​राराको किनारमा बसेर केही क्षण बिताउँदा मनका सबै कोलाहलहरू हराएझैँ लाग्छ। जीवनका चिन्ता, तनाव र दौडधुप एकछिनका लागि रोकिएझैँ महसुस हुन्छ।

ठीक त्यसैगरी, आमाको काखमा टाउको राख्दा संसारका सबै दुःखहरू हलुका लाग्छन्। बाल्यकालमा लड्दा, बिरामी हुँदा, डर लाग्दा वा मन दुख्दा हामीले खोज्ने पहिलो ओत आमाको काख नै त थियो! त्यो काख केवल शरीर अड्याउने ठाउँ होइन, त्यो त जीवनको सबैभन्दा सुरक्षित आश्रय हो।

राराले आफ्नो काखमा आकाश, बादल, घाम र पहाडका प्रतिबिम्बहरू सजाएर राखेको हुन्छ। आमाले पनि आफ्नो काखमा सन्तानका सपना, चाहना, खुसी र भविष्य सजाएर राखेकी हुन्छिन्। राराले प्रकृतिलाई सुन्दर बनाउँछ, आमाले जीवनलाई सुन्दर बनाउँछिन्।

​जब म आमासँग राराको किनारमा उभिएको थिएँ, त्यो क्षण मेरा लागि झन् विशेष बन्यो। एकातिर प्रकृतिको अनुपम उपहार ‘रारा’ थियो भने अर्कोतिर मेरो जीवनको सबैभन्दा ठूलो उपहार, ‘आमा’।

त्यो दिन मलाई बोध भयो, संसारमा धेरै सुन्दर चीजहरू छन्, तर आमाको साथमा हेरिएको सुन्दरता सबैभन्दा अनुपम हुँदो रहेछ। किनकि स्थान सुन्दर भएर मात्र सम्झना सुन्दर बन्दैन, प्रिय मानिसको साथले मात्र त्यो क्षणलाई अविस्मरणीय बनाउँछ।

आज पनि राराको तस्बिर हेर्दा म केवल ताल मात्र देख्दिनँ। त्यसमा आमाको मुस्कान देख्छु, आमाको माया देख्छु र आमाको न्यानो स्पर्श महसुस गर्छु। राराको अथाह गहिराइमा आमाको ममता भेट्छु, यसको विशाल फैलावटमा आमाको विशाल हृदय भेट्छु र यसको शान्त पानीमा आमाको सौम्य अनुहार देख्छु।

सायद यही कारणले मलाई लाग्छ, यदि प्रकृतिले आमाको माया, ममता, त्याग, सहनशीलता र विशाल हृदयलाई कुनै भौतिक रूप दिन खोजेको भए, त्यो रूप निश्चित रूपमा ‘राराताल’ नै हुन्थ्यो। रारा प्रकृतिको सबैभन्दा सुन्दर सिर्जना हो भने, आमा ईश्वरको सबैभन्दा सुन्दर उपहार हुन्।

महेश रावल

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार