कुटीरो डटकमको प्रस्तुतिमा लसाहित्यकार तथा गजलकार महेन्द्र अतलको विशेष साहित्यिक अभियान ‘अतलको यात्रा’ को सातौँ शृङ्खला (सातौँ बास) पर्यटकीय र साहित्यिक नगरी पोखरामा आयोजना हुने भएको छ।
यसै उक्त विशेष समारोहका बीच फित्कौली मिडियाले प्रकाशन गरेकोगजलकार अतलको नयाँ गजल संग्रह “दुई” को समेत औपचारिक रूपमा लोकार्पण (विमोचन) गरिने छ।
गजलकार अतलका अनुसार उक्त कार्यक्रम आगामी २०८३ साल असार १३ गते पोखरामा भव्य रूपमा सम्पन्न हुनेछ। नेपाली गजल साहित्यको प्रवर्द्धन र पाठकहरूसँग प्रत्यक्ष साक्षात्कार गर्ने उद्देश्यले सुरु गरिएको ‘अतलको यात्रा’ले यसअघि विभिन्न स्थानमा आफ्ना सफल शृङ्खलाहरू पूरा गरिसकेको छ।
यस पटक पोखराका साहित्य अनुरागीहरूमाझ अतल आफ्ना सिर्जना र नयाँ कृति लिएर प्रस्तुत हुन लागेका हुन्।
कार्यक्रम पोखरा-८, शिवालय चोकस्थित ‘चिया अन दरबार’ मा बेलुकी ठीक ६ बजे सुरु हुने तालिका तय गरिएको छ। समारोहमा पोखरा र आसपासका क्षेत्रका प्रतिष्ठित साहित्यकार, गजलकार, कलाप्रेमी तथा पत्रकारहरूको उपस्थिति रहनेछ।
कार्यक्रममा गजल संग्रहमाथि चर्चा परिचर्चा हुनुका साथै गजलकार अतलले आफ्ना केही चर्चित एवं अप्रकाशित गजलहरू समेत वाचन गरेर सुनाउनेछन्। पोखरामा हुन लागेको साहित्यिक उत्सवले स्थानीय कला र साहित्यको माहौललाई अझ ऊर्जावान् बनाउनेछ।















