गिडिदहको अविस्मरणीय यात्रा -१
गिडिदहतर्फ जाने अन्य पर्यटकहरूसँग भेट भयो। उनीहरूसँगै हामी तातोपानी गाउँपालिका–४ मा पुग्यौं र केही समय विश्राम गर्यौं। त्यहाँ स्थानीय बाजागाजा टोलीले सांस्कृतिक माहोल सिर्जना गरिरहेको थियो। वातावरण अत्यन्त उत्साहजनक र रमाइलो थियो।
कर्णालीको प्रसिद्ध पर्यटकीय गन्तव्य गिडिदहमा आयोजित पहिलो पर्यावरण, पर्यटन तथा जलवायु सम्मेलनमा सहभागी हुन निस्किएको यात्रा मेरो लागि अविस्मरणीय अनुभव बन्यो। जुम्ला बजारदेखि फुलचौल्या पाटनसम्मको यात्रा प्राकृतिक सौन्दर्य, स्थानीय आतिथ्यता, मित्रता र रोमाञ्चले भरिएको थियो।

यात्राको सुरुवात जुम्ला बजारबाट भयो। मसँग जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावल तथा केही प्रहरी कर्मचारीहरू थिए। हामी जिल्ला प्रहरी कार्यालयको गाडीमार्फत हाँकु र ऐरेनीको साँघुसम्म पुग्यौं। त्यहाँ पुगेपछि गाडी जुम्ला बजारतर्फ फर्कियो र हाम्रो पदयात्रा सुरु भयो।
साँघुमा गिडिदहतर्फ जाने अन्य पर्यटकहरूसँग भेट भयो। उनीहरूसँगै हामी तातोपानी गाउँपालिका–४ मा पुग्यौं र केही समय विश्राम गर्यौं। त्यहाँ स्थानीय बाजागाजा टोलीले सांस्कृतिक माहोल सिर्जना गरिरहेको थियो। वातावरण अत्यन्त उत्साहजनक र रमाइलो थियो।

त्यही स्थानमा निर्वर्तमा वन तथा वातावरण मन्त्री माधव चौलागाईं, समन्वय प्रमुख गौरीनन्द आचार्य, सशस्त्र प्रहरीका प्रमुख, तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईं, वडा नं. ४ का अध्यक्ष अम्बर रोकाय लगायत गिडिदहतर्फ जाने सयौं पर्यटकहरू जम्मा भएका थिए।

बिहान करिब १०ः३० बजे बाजागाजासहित गिडिदहतर्फको पदयात्रा सुरु भयो। गिडिखोला गाउँ हुँदै उकालो चढ्ने क्रममा अध्यक्ष नन्दप्रसाद चौलागाईं, गौरीनन्द आचार्य, डीएसपी चिरञ्जीवी दाहाल लगायत सबै सहभागीहरू सँगसँगै रमाइलो गर्दै अघि बढिरहेका थिए।

यात्राको सबैभन्दा मन छुने पक्ष भनेको स्थानीय आमा, दिदीबहिनीहरूको आतिथ्यता थियो। उकालो बाटोका विभिन्न स्थानमा उनीहरूले यात्रुहरूका लागि पिरो नुन, रूपरोटी तथा अन्य परिकारको व्यवस्था गरेका थिए। ठाउँ–ठाउँमा आगो बालेर यात्रुहरूलाई न्यानोपन र विश्रामको सुविधा दिइएको थियो। सबैलाई समान माया र सम्मानका साथ स्वागत गरिएको दृश्यले मन निकै भावुक बनायो।
जंगलमा चराचुरुङ्गी हरुको आवाज कत्ति मिठास थियो। मौसमले पनि साथ दिइरहेको थियो। यद्यपि उकालो यात्रा त्यति सहज थिएन। लगातार हिँड्दा थकाइले सताउने, विश्राम गर्न रोकिँदा भुसुनाले टोक्ने समस्या पनि थियो। तर यात्राको उत्साह र गन्तव्यको आकर्षणले ती कठिनाइहरूलाई सहज बनाइदियो।

बाटोभरि तस्बिर खिच्दै र रमाइलो गर्दै हामी फुलचौल्या पाटन पुग्यौं। विशाल र हरियालीले भरिएको पाटन देखेर डीएसपी चिरञ्जीवी दाहाल निकै प्रभावित हुनुभयो। उहाँले पाटनतर्फ हेर्दै भन्नुभयो, “हाम्रो यति धेरै भूमि बाँझो छ। यहाँ खेती गर्न पाए नेपालीहरू अझ धनी बन्न सक्थे। कति राम्रो ठाउँ रहेछ।” त्यसपछि हामीले पाटनका सुन्दर दृश्यहरू क्यामेरामा कैद गर्यौं।
दिउँसो करिब ३ बजे फुलचौल्या पाटनस्थित धर्मशालामा पुगियो। त्यहाँ खाना तथा बसोबासको राम्रो व्यवस्था गरिएको थियो। भान्सेहरूको छुट्टै टोली परिचालित थियो भने सहभागीहरूका लागि खसीको मासुसहित खानाको व्यवस्था गरिएको थियो। केही पर्यटकहरूले आफ्नै क्याम्पिङ गरेका थिए भने अधिकांशका लागि पालको व्यवस्था गरिएको थियो।

यस्तो ठूलो संख्यामा आएका सहभागीहरूको खानपिन र बासस्थान व्यवस्थापनमा तातोपानी गाउँपालिका–४ का वडा अध्यक्ष अम्बर रोकाय को भूमिका अत्यन्त प्रशंसनीय देखिन्थ्यो। सीमित स्रोतसाधनका बीच उहाँले गरेको व्यवस्थापन साँच्चिकै उदाहरणीय थियो।
साँझपख देउडा खेल चलिरहेको थियो। स्थानीय संस्कृति र उत्साहले भरिएको उक्त कार्यक्रममा सहभागीहरू निकै रमाएका थिए। तर त्यही समयमा मलाई केही स्वास्थ्य समस्या देखियो। कार्यक्रममा स्वास्थ्यकर्मी र औषधिको व्यवस्था गरिएको रहेछ। मलाई सहज भयो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको फार्मेसीमा कार्यरत पविन उपाध्याय ले आवश्यक औषधि उपलब्ध गराउनुभयो। औषधि सेवन गरेपछि स्वास्थ्यमा सुधार आयो। उहाँप्रति म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु।
अनि मलाई सन्चो भैसके पछि म श्रीकृष्ण सुनार, आकाश सुनार हामी चुकेडाक्ला याक्चे तथा पदमचाल नामले परिचीत जडिबुटीको डाट वा डाक्ला टिपेर ल्याएर आयौं केहि नयाँ प्रहरी साथीहरूलाई आगोमा सेकेर दियौं उहाँहरुले नि खानु भयो हामीले पनि खायौं असाध्यै अमिलो मिठो थियो ।

राति पत्रकार साथीहरू नौरते नेपाली, मानदत्त रावल, आकाश सुनार, लोकेन्द्र गिरी, श्रीकृष्ण सुनार, दीपक विक र म छुट्टै स्थानमा बस्यौं। अधिकांश सहभागीहरू तल खोला किनारतर्फ पालमा बसेका थिए। माथिबाट तलको दृश्य हेर्दा साँच्चिकै मनमोहक देखिन्थ्यो। उज्यालोले सजिएको त्यो दृश्य साँच्चिकै आकर्षक थियोे। त्यसैले हामीले मजाकमै तल पालमा बसेका साथीहरूको बस्तीलाई “सुर्खेत बजार” नाम दिएका थियौं।
प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृतिको झल्को, आत्मीय आतिथ्यता र सहयात्रीहरूको साथले भरिएको फुलचौल्या पाटनसम्मको यो यात्रा जीवनभर सम्झिरहने अनुभव बनेको छ। गिडिदहतर्फको यात्राको पहिलो दिनले नै कर्णालीका हिमाली भूभागमा लुकेका अनुपम प्राकृतिक सम्पदा र यहाँका मानिसहरूको विशाल मनलाई नजिकबाट अनुभूति गर्ने अवसर प्रदान गर्यो।

















