जुम्लाको सदरमुकाम अवस्थित चन्दननाथ नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू केही दिनका लागि बन्द गरिएको छ। नगरपालिका क्षेत्रभित्रका विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूमा ‘ठेउला’ (Chicken Pox) को स्वास्थ्य समस्या तिब्र रूपमा देखिएपछि संक्रमण फैलिन नदिन यस्तो निर्णय गरिएको हो।
चन्दननाथ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख क्षेत्र बहादुर महतद्वारा जारी गरिएको पत्र अनुसार, वडा नम्बर १ देखि १० सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू आजकै मितिदेखि लागू हुने गरी आगामी २०८३ असार ५ गतेसम्मका लागि बन्द गरिएको छ।
अन्य बालबालिका र जनसमुदायमा संक्रमणको फैलावट नियन्त्रण गर्न शिक्षा तथा खेलकुद शाखा र सबै वडा कार्यालयहरूसँग आवश्यक समन्वय गर्दै यो कदम चालिएको स्वास्थ्य शाखाले जनाएको छ।
विद्यालयहरूमा ठेउलाको संक्रमण तीव्र गतिमा फैलिएको पाइएपछि थप जोखिम न्यूनीकरणका लागि तत्काल विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले बताए।
यो संक्रमण जनसमुदायस्तरमा फैलिन नदिन सबै विद्यालय प्रशासन, शिक्षक र अभिभावकहरूलाई यो निर्णय कार्यान्वयनमा सहयोग पुर्याउन र बालबालिकाहरूलाई भिडभाडमा नपठाएर घरमै सुरक्षित राख्न विद्यालय बन्द गरिएको नगरपालिकाकि उपमेयर रामदेवी खड्काले बताइन्।
स्वास्थ्य शाखाले निर्णय कार्यान्वयनका लागि सबै सरोकारवाला निकायलाई अनुरोध गर्दै आवश्यक समन्वय र निगरानी बढाउन परिपत्र समेत गरिसकेको छ।
















