सोमबार, २५ जेष्ठ, २०८३

संगितलाई जागिरसँगसँगै लिने योजना छ


कार्यक्रम सिंहावलोकनको विशेष शृंखलामा गएको हप्ता युटुबमा रिलिज भएको गीत ‘कर्णाली तिर’ का गायत कथा कलाकार अर्जुन सुनार हुनुहुन्छ। उहाँको गीत ‘कर्णाली तिर’ले कर्णालीका पिर व्यथाहरूलाई समेटेको छ। कर्णालीतिर खुब रुचाइएको गीतका गायक सुनारसँग कार्यक्रम सिंहावलोकामा महेश नेपालीले लिएको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत छ।

अर्जुन जी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।

धन्यवाद !

निकै कर्णप्रिय गीत बजारमा ल्याउनुभएकोमा तपाईंलाई बधाई छ। तपाईंलाई यतिबेला कस्ता खालको प्रतिक्रिया आइरहेका छन् र त्यो प्रतिक्रियाले तपाईंलाई कसरी उत्साहित गराइरहेको छ?

वास्तवमा भन्नुपर्दा मेरो लागि यो एकदम नयाँ काम हो। सुरुवाती चरणमा धेरै मिहेनतका साथ यसलाई बजारमा ल्याउने एउटा जमर्को गर्‍यौँ। अहिले बजारमा आइसकेपछि मान्छेहरूको एकदम पोजेटिभ रेस्पोन्स देख्दाखेरि साँच्चै नै एकदमै खुसी लाग्दो रहेछ।

अब यसलाई यहीँ अन्त्य गर्ने कि निरन्तरता दिने भन्ने लागिराथ्यो, मनमा अबचाहिँ कन्टिन्यु गर्छु, म आफ्नो सांगीतिक करियरलाई पनि अगाडि लिएर जान्छु भन्ने खालको ऊर्जा आएको छ।

तपाईं त ‘द भोइस अफ नेपाल’ को सिजन फाइभको कन्टेस्टेन्ट पनि हुनुहुन्थ्यो। त्यसबाहेक तपाईंको अर्को एउटा गीत पनि बजारमा आइसकेको छ। त्यतिबेला र अहिलेको उत्साहलाई तुलना गर्नु पर्‍यो भने कसरी तुलना गरौँ जस्तो लाग्छ?

तुलनात्मक रूपमा म ‘भोइस’ मा जाँदा कर्णालीबाटै पहिलो चोटी प्रतिनिधित्व गरेर गएको थिएँ। सम्भवतः मलाई लाग्छ कर्णालीबाट पहिलो व्यक्ति म नै होला, उसो त मैले नदेखेको पनि हुन सक्छु। पहिलो चोटी भोइसको स्टेजमा चढ्दाखेरिको जुन एउटा अनुभूति थियो, त्यो एकदमै खुसीको क्षण थियो।

तर त्योभन्दा पनि अहिले जब मैले आफै एउटा नयाँ कामको सुरुवात गरेर बजारमा सार्वजनिक गरेँ र त्यसको तुलनात्मक रूपमा यो (कर्णाली तिर) चाहिँ मलाई अति नै प्रिय लाग्छ।

कुन प्रेरणा हो जसले गर्दा यो गीत आज बजारमा आयो र धेरै मान्छेहरूले रुचाए जस्तो लाग्छ? अथवा तपाईंलाई को-कोले सहयोग र उत्साहित गर्नुभएको छ?

मेरो भोइसका यात्रापछि लगत्तै एउटा अडियो फाइनल भएको थियो, यही गीत हो। अडियो फाइनल भएपछि यसलाई कसरी अगाडि लैजाने भन्ने सोचिरहेको थिएँ। तर मेरो अफिसको प्रब्लमले गर्दा, सबैतिर टाइम दिन नभ्याउने कारणले यो दुई वर्ष होल्ड भयो।

अहिले लगत्तै मेरो एकदम मिल्ने साथी, मेरो सानैदेखिको साथी राजेश विश्वकर्माले मलाई हौसला दिएर ‘ल अब यो काम गर्नुपर्छ, यो गीत राम्रो छ, यसै मर्न दिनुहुन्न’ भनिसकेपछि राजेश र म सँगै लागेर सुरुवाती चरणदेखि अहिलेसम्म सँगै काम गरेर यसरी बाहिर ल्याएका हौँ।

तपाईं त सरकारी कर्मचारी पनि हुनुहुन्छ। सरकारी जागिर, अफिसको काम सँगसँगै तपाईंले गायन क्षेत्रलाई पनि निरन्तरता दिइरहनुभएको छ। तर यो व्यवस्थित गायनको रूपमा देखिएको थिएन। त्यसअगाडि तपाईं बेलाबेलामा गीत गाउने, गाएको रिल्स वा भिडियोहरू फेसबुकमा राख्ने, अनि कुनै कार्यक्रम भयो भने गाइहाल्ने गर्नुहुन्थ्यो। अहिले तपाईं व्यवस्थित गीत र रेकर्डेड भिडियोसहित सार्वजनिक गर्न सफल हुनुभएको छ। यो चरणसम्म आइपुग्दा तपाईंलाई कति संघर्ष गर्नु परेको थियो? अलि सरल ढंगले भन्दिनु न, धेरै मान्छेहरूले बुझ्ने गरि, के त्यस्ता बाधाहरू थिए जसले गर्दा गीत आउन सकेको थिएन?

संघर्ष त धेरै गर्नु पर्‍यो। कार्यालय समय पनि भ्याउनुपर्ने, अनि हाम्रो कर्णालीको भूगोल पनि त्यस्तै, सजिलै काठमाडौँ गएर सबै काम भ्याउन पनि नसकिने। त्यसका लागि कार्यालयबाट बिदा स्वीकृत गराउनुपर्ने हुन्थ्यो। यसै कारण यो गीत दुई वर्ष पेन्डिङ भयो।

दुई वर्षपछि आज यो समयमा मैले बिदाको समयलाई सदुपयोग गरेर, अनि सबैजनाको एउटा टिम वर्क गरेर यो गीतलाई यहाँसम्म ल्याउन सफल भएको हो।

तपाईंलाई गायनमा रुचि कसरी जाग्यो? गायन क्षेत्रमा लाग्नुपर्छ भन्ने त्यस्तो कुनै प्रेरणा वा घटना छ कि?

म स्कुलमा लगभग ६-७ क्लास पढ्दाखेरि देखि नै संगीतमा एकदम रुचि भएर स्कुलका स्टेज प्रोग्रामहरू गरिराख्थेँ। म यत्तिकै गुनगुनाउँथेँ। स्कुल पढ्दाखेरि हाम्रै गाउँको एकजना दाइ हुनुहुन्थ्यो दिनेश न्यौपाने भन्ने, उहाँले एकदम राम्रो गीत गाउनुहुन्छ, अहिले पनि गाइराख्नुहुन्छ।

उहाँले एकचोटी ‘भाइ तिम्रो भोइस एकदम मिठो छ, तिमी गीतमा निरन्तरता देऊ, राम्रो हुन्छ’ भनेर भन्नुभयो। अनि कन्टिन्युटी दिँदै गएँ। धेरै आदरणीय संगीतकार र गायकहरू जस्तै राज सिग्देल दाइ, प्रमोद खरेल दाइ, शिव परियार दाईहरूको गीतहरू सुन्दै-सुन्दै आफ्नो भोकलमा उतार्न प्राक्टिस गर्थेँ।

त्यसपछि मलाई वि.सं. २०७४ सालतिर एउटा अवसर मिल्यो। ‘मध्यपश्चिम सुपरस्टार’ भन्ने आइडल जुम्लामा आयो। जुम्ला र कर्णाली प्रदेशका लगभग सबै जिल्लाहरूबाट सेलेक्सन गरेर लिइने थियो। म जुम्लाबाट सेलेक्सन भएर सुर्खेत गएँ र त्यहाँ प्रथम भएँ।

मध्यपश्चिम सुपर आइडलमा प्रथम भएपछि झन् ‘म संगीतमा केही गर्न सक्छु’ भन्ने आत्मविश्वास बढ्यो। त्यसपछि विभिन्न रियालिटी शोहरूमा अडिसन दिँदै गएँ। अडिसन दिँदा के फिल भयो भने, हामी नसिकीकन जाँदा र उता सिकेर आएका प्रतिभाहरूका अगाडि हामी जिरो लेभलमा हुँदा रहेछौँ।

त्यसपछि केही न केही सिकेर जानुपर्छ भन्ने लाग्यो र मैले ३ महिनाजति भोकल क्लास पनि गरेँ। अनि ‘द भोइस अफ नेपाल’ मा ट्राइ गर्दा ब्लाइन्ड अडिसनमा एउटा कुर्सी घुमाउन सफल भएँ। भोइस अफ नेपालमा पुगिसकेपछि संगीतमा केही गर्न सक्छु भन्ने एउटा बलियो आशा पलायो।

तपाईंलाई घरपरिवारबाट कत्तिको साथ र सहयोग रह्यो?

परिवारको सपोर्ट पहिला त बिल्कुलै थिएन। हाम्रो समग्र गाउँ-समाजमा फलानोको छोराले सरकारी जागिर खायो भने आफ्नो छोरा पनि सरकारी जागिरमै हुनुपर्छ भन्ने सोच छ। गायन, संगीत वा फिल्म क्षेत्रबाट कोही पनि अगाडि बढ्न सक्दैन, करियर बन्दैन, जसरी भए पनि जागिर खाएर जीविकोपार्जन गर्नुपर्छ भन्ने सोच थियो।

बुबा र फ्यामिलीले नराम्रो सोचेर होइन, यसमा भविष्य देख्नुभएको थिएन। त्यतिखेर मेरो फ्यामिली ब्याकग्राउन्ड पनि अलिकति कमजोरै भएको कारणले सबै कुरा त्यागेर बरु जागिरतिरै लाग्छु भनेर म सरकारी क्षेत्रतिर गएँ।

तर जब मैले ‘मध्यपश्चिम आइडल’ जितेँ, त्यसपछि र ‘भोइस अफ नेपाल’ मा पनि समग्र कर्णालीको प्रतिनिधित्व गर्दै त्यहाँ पुगिसकेपछि बुबाहरूलाई पनि एकदम खुसी लाग्यो। छोराले केही गर्न सक्दो रहेछ भन्ने लागेर अहिले एकदम पोजेटिभ हुनुहुन्छ। म जुनसुकै काम गरुँ, उहाँहरू सन्तुष्ट हुनुहुन्छ र अहिले एकदम सपोर्ट छ।

​यो गीतपछि उहाँहरूको प्रतिक्रिया के छ?

एकदम खुसी हुनुहुन्छ। यो नसोचेको काम भयो। मेरो फ्यामिलीलाई मात्र नभएर समग्र जुम्लीबासीलाई ‘अर्जुनले यत्तिको गर्न सक्छ’ भन्ने विश्वास अलि कमै थियो जस्तो लाग्छ। यहाँ सामान्य रूपमा खेलिरहेको, एकदम नर्मल्ली देखिरहेको केटा एक्कासी स्क्रिनमा नयाँ अवतार जस्तरी आउँदा धेरै जनालाई त्यो एकदम चासोको विषय बनेको छ।

तपाईंले त अभिनय पनि आफैँ गर्नुभयो हैन? कुन कुराले तपाईंलाई अभिनय पनि गरायो?

अभिनय त एकदम संयोगवश अचानक गर्नुपर्ने अवस्था आयो। म अभिनय गर्ने सोचमा त थिएन, तर परिस्थिति र टिमको सल्लाहले अचानक अभिनयतिरै भित्रिनु पर्‍यो।

तपाईंको गायनको त एकदम धेरै चर्चा भइरहेको छ, तर अभिनयको विषयमा कस्तो खाले प्रतिक्रिया आएको छ?

मान्छेहरूले कस्तो नसोचेको काम गर्‍यो छ भन्नुभएको छ। अचानक फ्रेममा देख्दा ‘उ त गीत गाउने मान्छे, पहिलो चोटी गरेको एक्टिङ तर कस्तो एकदमै नेचुरल छ, रियल एक्टिङ छ’ भनेर मान्छेले एकदम पोजेटिभ रेस्पोन्स गर्नुभएको छ।

‘पहिला उसको गीत सुन्थ्यौँ, अहिले त एक्टिङ पनि हेर्न पाइयो, उ त कलाकार भइसक्यो’ भन्ने प्रतिक्रियाले मलाई आगामी दिनमा भिडियोमा अझै मजाले अभिनय गर्न सक्छु भन्ने हौसला मिलेको छ।

तपाईंले संगीत सिक्नुभयो कि, कतै औपचारिक क्लास लिनुभयो? अनौपचारिक रूपमा कसरी सिकिँदो रहेछ?

औपचारिक रूपमा त्यसरी सिकेको छैन। अनौपचारिक रूपमा चाहिँ धेरै जना सर्जक र गायकहरूका गीतहरू सुनेर सिकेको हुँ। म एउटै गीतलाई १०० चोटी, २०० चोटीसम्म सुन्छु।

तपाईंको स्वरको जति चर्चा छ, त्यो एकदम रियल जस्तो लाग्छ। धेरै मान्छेहरूले जुन खालको चर्चा गरिराख्नुभएको छ, त्यो साँचो हो। अब यो गीतको लेखन र संगीतको विषयमा पनि कुरा गर्दिनु न।

यो कुरा गर्नै पर्छ, किनभने रबिन भुसाल जो अहिले पछिल्लो चरणमा गीत संगीतमा आफ्नो राम्रो कला देखाइरहेका छन्, यस गीतमा शब्द र संगीत उनकै रहेको छ। उनले धेरै फिल्महरूमा पनि संगीत दिइसकेका छन्।

हामी यो गीत गर्ने क्रममा मैले एकचोटी रबिनलाई भेटेर ‘ल रबिन, कर्णाली तिरको एउटा गीत निकालौँ’ भन्दा उसले ‘कर्णाली तिरमा के हुन्छ र दाइ, पिडा त हो नि’ भन्यो। कर्णालीमा जति परिवर्तन भए पनि त्यहाँको आर्थिक व्यथा, पिडा सबै उस्तै नै छ नि भन्दै गाडीमा यात्रा गर्ने क्रममा उसले सोचेछ, ‘उस्तै छ दुःख पिर कर्णाली तिर’ र मलाई ह्वाट्सएपमा पठायो।

मलाई कस्तो मिठो लाग्यो! त्यसपछि हामी समग्र बसेर सल्लाह गरी थप शब्दहरू कोरेर यो रूपमा गीत तयार भयो।

यो भिडियो निर्माण गर्दा खेरिको धेरैजसो जनशक्ति र प्राविधिक सामग्री तपाईंले कर्णालीकै प्रयोग गर्नुभयो। यसलाई कसरी लिनुहुन्छ? नत्र त मान्छेहरूको मानसिकतामा कर्णालीमा यस्तो जनशक्ति छैन, सामग्री छैन, उनीहरूले गर्न सक्दैनन् भन्ने थियो नि?

एकदम, मानसिकता अझै पनि त्यही छ। यहाँका मान्छेले केही गर्न सक्दैनन् भन्ने। मलाई पनि सुरुमा यहाँबाट क्यामेरा उठाएर सुटिङमा जाँदा ‘ए के गर्‍या होला, एउटा सानो सर्ट नाटक जस्तै होला’ भन्ने सोचेका थिए।

तर मैले पहिलादेखि नै हाम्रै कर्णालीमा भएका स्रोत-साधन प्रयोग गरेर, यहीँकै कलाकारहरू राखेर एउटा नयाँ र गुणस्तरीय काम गरेर बजारमा ल्याउँछु भन्ने सोचेको थिएँ। क्यामेरा यहीँ छ, ड्रोन यहीँ छ, हामीसँग स्किल भएका मान्छेहरू पनि छन् तर त्यसको सही सदुपयोग मात्र नभएको हो।

स्थानीय कलाकारहरू यति धेरै हुनुहुन्छ कि जस्तो भन्यो त्यस्तै गर्न सक्ने क्षमता छ, मात्र चलेको अनुहार नभएको हो। चलेको अनुहार बनाउने त हामीले नै हो नि, यस्तै साना-साना प्रोजेक्ट गर्दै गएपछि भोलि तिनै अनुहार चल्ने हुन्।

हामीसँग यति धेरै क्षमता हुँदाहुँदै बाहिरबाट महँगो कस्ट तिरेर किन कलाकार ल्याउने? यहीँकै कलाकारले स्थान पाओस् भनेर गरिएको हो र यो टिमवर्क सफल हुँदा म एकदम खुसी छु।

यो गीतको अलिकति समीक्षा गरौँ, तपाईंले जुन खालको कर्णाली देखाउनुभएको छ, कर्णाली त्यस्तै मात्र हो कि यहाँ अरू थुप्रै कुराहरू पनि छन् जस्तो लाग्छ?

कर्णाली विकट छ, भूगोलले दिएको विकटता आफ्नो ठाउँमा छ तर त्यति नै सुन्दरता पनि छ। हामीले त्यसलाई बाहिर देखाउन सकिरहेका छैनौँ। हामीले देखाउने भनेको यस्तै भिडियो मार्फत हो।

कर्णालीमा यति धेरै पर्यटकीय स्थलहरू र चीजहरू छन् जुन समग्र नेपालमै कतै छैन। अब विकट मात्रै होइन, मान्छेको सोचाइमा हुम्ला-जुम्ला भन्ने बित्तिकै विकट भन्ने आउँछ, तर हामीले भिडियो मार्फत यहाँको सौन्दर्य र अवसरहरू पनि देखाउनुपर्छ। यो गीतले अभाव मात्र होइन, यहाँको राजनीति र त्यसको व्यङ्ग्यात्मक प्रतिबिम्बलाई पनि देखाएको छ।

आगामी दिनमा गीत वा भिडियो मार्फत कर्णालीलाई कसरी चिनाउनुपर्छ जस्तो लाग्छ? कर्णालीमा त नुन-चामलको राजनीति बढी हुन्छ भन्छन् नि?

एकदम, जुम्लामा मात्र होइन समग्र नेपालकै राजनीतिक माहौल उस्तै छ। मैले यो भिडियोमा अहिलेको भन्दा पनि पहिलाको अवस्था देखाएको छु। पहिला एउटा ११ रुपैयाँ पर्ने नुन लिन मान्छे कति टाढाबाट आउनुपर्थ्यो तर राजनीतिक कारणले त्यो नुन पनि बिचराहरूले पाउँदैनथे।

अनि गरिबीका कारण परदेशिनुपर्ने कुरा त आजको दिनसम्म पनि उस्तै नै छ। सारमा भन्दा मेरो गीतले कर्णालीको एउटा पक्षलाई उजागर गरेको हो, अरू धेरै पक्षहरू छन् जसलाई विभिन्न माध्यमबाट ल्याउन सकिन्छ।

अब तपाईंको एउटा पुरानो गीत सुनौँ न, जुन २-३ वर्षअघि आएको थियो। त्यसको भिडियो पनि बनाउनुभएको छ कि नाइँ?

अँ, भिडियो पनि युट्युबमा छ। त्यो गीतको शब्द र संगीत आदरणीय सुरज पण्डित दाइको हो र शक्ति परियारको पनि थोरै शब्द रहेको छ। त्यसले खासै चर्चा नपाए पनि मेरो पहिलो म्युजिक भिडियो भएकोले मलाई अत्यन्तै मिठो लाग्छ।

​अब गीत गाउनु पर्‍यो भने कर्णालीकै परिवेश समेट्नुपर्छ जस्तो लाग्छ?

पश्चिमतिरकै परिवेश समेटेर गाउँछु। पूर्वतिरको पनि एउटा कुनै गीत निकाल्ने सोचमा छु। तर आफ्नो क्षेत्रको साहित्य, इतिहास, कला र संस्कृतिलाई जति सक्दो बाहिर देखाउन सकियो, त्यति राम्रो हुन्छ जस्तो लाग्छ।

अन्तिममा भन्नुपर्ने केही छ वा कसैलाई सम्झिन चाहनुहुन्छ?

यो भिडियो सार्वजनिक गर्दै गर्दा मलाई आर्थिक, भौतिक र नैतिक रूपले साथ-सहयोग दिनुहुने सम्पूर्ण आदरणीय व्यक्तिहरूलाई हृदयदेखि नै सम्झिन र धन्यवाद दिन चाहन्छु।

कार्यक्रममा आइदिनुभयो, तपाईंलाई धेरै-धेरै धन्यवाद छ।

धन्यवाद यो अवसरका निम्ति!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार