शनिबार, २३ जेष्ठ, २०८३

​२३ वर्षमै स्थायी शिक्षक, ३२ वर्षमा जुम्लाकै उत्कृष्ट: प्रेरक ‘माड्साब’ हरिबहादुरको कथा

विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको नियमितता र सिकाइ उपलब्धि वृद्धि गर्न उनले निरन्तर योगदान दिइरहेका छन्। आज उनी शिक्षकको नाम होइन, संघर्ष र सफलताको प्रतीक बनेका छन्।

जुम्लाको पातारासी गाउँपालिका–४, डिल्लीचौरका हरिबहादुर बुढा जुम्लाकै उत्कृष्ट माध्यमिक तहका शिक्षक रूपमा सम्मानित भएका छन्। ३२ वर्षको उमेरमै उनले शिक्षा क्षेत्रमा बनाएको फराकिलो पहिचान धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ।

वि.सं. २०५० साल माघ १६ गते रामबहादुर बुढा र सन्तकली बुढाको कान्छो सन्तानका रूपमा जन्मिएका हरिबहादुर सामान्य किसान परिवारमा हुर्किए। एक दाई र तीन दिदीपछि जन्मिएका उनी बाल्यकालदेखि नै पढाइप्रति रुचि राख्थे।

परिवारको आर्थिक अवस्था कमजोर थियो। घरको काम, गोठालो र खेतीपातीसँगै विद्यालय जानु उनको दैनिकी थियो। ग्रामीण जुम्लाका धेरै बालबालिकाजस्तै उनले पनि अभावसँग संघर्ष गर्दै बाल्यकाल बिताए।

उनको प्रारम्भिक शिक्षा गाउँकै ऋणमोक्ष माध्यमिक विद्यालय, डिल्लीचौरबाट सुरु भयो। सानैदेखि मेहनती र जिज्ञासु स्वभावका हरिबहादुर कक्षामा सधैँ उत्कृष्ट विद्यार्थीमध्ये पर्थे। कक्षा ८ देखि १० सम्म निरन्तर प्रथम हुँदै उनले विद्यालयमा आफ्नो अलग पहिचान बनाएका थिए।

त्यसको परिणाम वि.सं. २०६५ सालको एसएलसी परीक्षामा देखियो। उनले ७१ प्रतिशत अंकसहित परीक्षा उत्तीर्ण गरे। त्यो बेला जुम्लाको विकट गाउँबाट यस्तो नतिजा ल्याउनु आफैमा उल्लेखनीय उपलब्धि मानिन्थ्यो।

एसएलसीपछि उनको सपना अझ ठूलो बन्यो। विज्ञान विषय अध्ययन गरेर केही गर्ने लक्ष्य बोकेका उनले जुम्लामा आवश्यक शैक्षिक सुविधा नपाएपछि सुर्खेत जाने निर्णय गरे।

आर्थिक अवस्था कमजोर भए पनि परिवारको साथ र आफ्नै दृढ इच्छाशक्तिका कारण उनी वि.सं. २०६६ सालमा सुर्खेत पुगे। त्यहाँको जन नमुना माध्यमिक विद्यालयमा विज्ञान संकायमा भर्ना भएर अध्ययन सुरु गरे।

सुर्खेतको बसाइ उनका लागि सहज थिएन। कोठा भाडा, खानपिन र शैक्षिक सामग्री जुटाउन संघर्ष गर्नुपर्थ्यो। धेरैपटक आर्थिक अभावले पढाइ रोकिएला जस्तो अवस्था पनि आयो। तर उनले परिस्थितिसँग सम्झौता गरेनन्।

निरन्तर मेहनत र अनुशासनका कारण वि.सं. २०६८ सालमा कक्षा १२ को परीक्षामा ७६ प्रतिशत अंक ल्याएर सुर्खेत जिल्ला प्रथम बन्न सफल भए। जुम्लाका विद्यार्थीले सुर्खेतजस्तो जिल्लामा उत्कृष्ट नतिजा ल्याएपछि उनको चर्चा व्यापक भयो।

उच्च माध्यमिक तहपछि उनले पब्लिक साइन्स क्याम्पस सुर्खेतमा विज्ञान विषयमा स्नातक अध्ययन सुरु गरे। अध्ययन राम्रोसँग अगाडि बढिरहेको थियो। तर तेस्रो वर्षमा पुग्दा आर्थिक समस्या फेरि ठूलो चुनौती बन्यो। परिवारको आयस्रोत सीमित भएकाले पढाइ खर्च धान्न कठिन भयो। अन्ततः वि.सं. २०७० सालमा उनी जुम्ला फर्किन बाध्य भए।

जुम्ला फर्किएपछि उनले हार मानेनन्। बरु आफ्नो जिम्मेवारी र लक्ष्यलाई सँगै अघि बढाउने बाटो रोजे। पातारासी गाउँपालिका–३ स्थित मालिका माध्यमिक विद्यालय, लोठचौरमा निजी स्रोतको गणित तथा विज्ञान शिक्षकका रूपमा अध्यापन सुरु गरे।

दिनभर विद्यालयमा पढाउने र बाँकी समयमा आफ्नै अध्ययनलाई निरन्तरता दिने उनको दिनचर्या बन्यो। यही संघर्षका बीच उनले वि.सं. २०७१ सालमा प्रथम श्रेणीमा स्नातक तह उत्तीर्ण गरे।

शिक्षणका क्रममा उनले आफूले रोजेको सही बाटो भेट्टाएको महसुस गरे। विज्ञान र गणितजस्ता विषय विद्यार्थीलाई बुझ्ने भाषामा सिकाउँदा उनी आत्मसन्तुष्ट हुन्थे। विद्यार्थीको सिकाइमा आएको परिवर्तनले उनलाई थप उत्साहित बनायो।

उनी आफू मात्रै उत्साहित भएनन्। त्यस अघि उच्च शिक्षामा मुल विषय विज्ञान बनाउन सितिमिति आँट नगरेका उनका गाउँलेहरु उनको प्रेरणाले उच्च शिक्षामा विज्ञान विषय लिएर निर्धक्क पढिरहेका छन्।

दुई जनाले स्नातक सकाएर लोक सेवा तयारी गरिरहेका छन्। आधा दर्जन बढी विज्ञान विषय लिएर पढिरहेका छन्। यसमा हरिबहादुरकै प्रेरणाले काम गरेको छ।

यही समयमा उनले शिक्षणलाई स्थायी पेसा बनाउने निर्णय गरे।
वि.सं. २०७२ सालदेखि २०७३ सालसम्म उनले त्रिभुवन माध्यमिक विद्यालय, झारज्वालामा राहत शिक्षकका रूपमा काम गरे। त्यहाँ उनले गणित र विज्ञान विषय अध्यापन गराए।

विद्यार्थीमैत्री शिक्षण शैली, विषयवस्तुलाई सरल रूपमा प्रस्तुत गर्ने क्षमता र मेहनती स्वभावका कारण उनी विद्यार्थी तथा अभिभावकमाझ लोकप्रिय बने।

यसैबीच उनले शिक्षक लाइसेन्स परीक्षा पनि उत्तीर्ण गरे। त्यसपछि शिक्षक सेवा आयोगको विज्ञापनमा आवेदन दिए। निरन्तर तयारी र आत्मविश्वासका साथ परीक्षा दिएका हरिबहादुर पहिलो प्रयासमै सफल भए।

वि.सं. २०७३ सालमा उनी माध्यमिक तहको स्थायी विज्ञान शिक्षक पदमा सिफारिस भए। त्यतिबेला उनको उमेर केवल २३ वर्ष थियो। कम उमेरमै स्थायी माध्यमिक शिक्षक बन्नु आफैमा ठूलो उपलब्धि थियो।

उनको पहिलो पदस्थापन बाझकटेरी मावि गुल्मीमा भयो। त्यसको एक वर्षपछि उनी सरुवा ऋणमोक्ष मावि जुम्लमा आए। जहाँ उनले आफ्नो बाल्यकालका रमाइला पलहरुसँगै एसएलसीसम्मको अध्ययन पुरा गरेका थिए।

‘जुन विद्यालयबाट मैले अक्षर चिन्ने यात्रा सुरु गरेका थिएँ, त्यही विद्यालयमा शिक्षक बनेर फर्किनु मेरा लागि विशेष क्षण थियो,’ उनले सम्झे।

उनले विद्यालयमा विज्ञान शिक्षणलाई व्यवहारिक र विद्यार्थी केन्द्रित बनाउन विशेष प्रयास गरेका छन्। विद्यार्थीमा विज्ञान विषयप्रतिको डर हटाएर जिज्ञासा र रुचि जगाउन उनले विभिन्न अभ्यास अपनाएका छन्।

विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको नियमितता र सिकाइ उपलब्धि वृद्धि गर्न उनले निरन्तर योगदान दिइरहेका छन्। आज उनी शिक्षकको नाम होइन, संघर्ष र सफलताको प्रतीक बनेका छन्।

अभाव, आर्थिक संकट र कठिन परिस्थितिबीच पनि लक्ष्यप्रति अडिग रहेर सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन्। गाउँको सामान्य परिवारबाट उठेर जिल्लाकै उत्कृष्ट शिक्षक बन्न सफल उनको यात्रा जुम्लाका मात्रै होइन, कर्णालीभरिका युवाका लागि प्रेरणादायी कथा बनेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार