सोमबार, १ असार, २०८३

भक्तपुरमा बेथितिका चाङ, संघीय सरकारको जाँदैन ध्यान !

भक्तपुरका सरकारी, सार्वजनिक, गुठी, ऐलानी जग्गामा त्यहाँ क्रियाशील सबै पार्टीका कार्यकर्ताहरुले ठूल्ठूला घर बनाएका छन् । मठमन्दिर, पार्टीपौवा, इनार, ढुंगेधारासमेत मासेर घर ठड्याइएको छ ।

जनताले तिरेको कर र वैदेशिक ऋण तथा अनुदानबाट सरकारले विकास निर्माणका निम्ति बजेट विनियोजन गर्दछ । तर, करोडौं आएको बजेटमा लाखको मात्र काम हुँदै आएको छ । उदाहरणका लागि कतै बाटो निर्माण गर्न एक करोडको बजेट आएको भएमा दशदेखि २० लाखको मात्र काम गरिन्छ । बाँकी रकम ठेकेदार, कर्मचारी, जनप्रतिनिधिले पचाउँछन् । यस्तै भक्तपुरमा पनि भएको छ ।

वि.सं. २०२४ सालमा तत्कालिन राजा महेन्द्रले भक्तपुर नगरपालिका वडा नम्बर १, सल्लाघारी तीनकुनेस्थित स्थानीयसँग प्रतिरोपनी एक हजार रुपैयाँमा एक सय आठ रोपनी दुई आना एक दाम जग्गा किनेका थिए । ०६५ सालमा राजतन्त्रको अन्त्यसँगै यो जग्गा नेपाल ट्रष्टको स्वामित्वमा गयो । त्यसपछि जग्गा अतिक्रमण शुरु भयो ।

ट्रष्टले आफ्नो सम्पत्ति संरक्षणमा चासो नदिँदा विशेषगरी नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताले यो जग्गा हड्पेर घरलगायत संरचना बनाए । त्यसबाट जोगाउन संघीय सरकारले २०७४ सालमा जग्गा घेराबन्दीका निम्ति तीन करोड रुपैयाँ बजेट दियो । भक्तपुर नगरपालिकाले जग्गा घेराबन्दी कार्य गर्यो । तर, यसमा पनि व्यापक भ्रष्टाचार भएको आरोप छ । जग्गामा तीन पट्टी पर्खाल लगाइएको छ भने खोला भएकोतर्फ खुल्ला छ ।

पर्खाल लगाउँदा बढीमा २० देखि ३० लाख रुपैयाँ खर्च भएको स्थानीय दाबी गर्छन् । ‘पर्खालको नाममा इट्टा र सिमेण्टीमात्र लगाइएको छ । त्यही दुई–तीन वटा फलामको गेट छ । त्यतिबेला निर्माण सामग्री खासै महँगो नभएकोले सबै गरेर बढीमा ३० लाख खर्च भएको हुनुपर्छ,’ अधिकांश स्थानीय भन्छन् । संघीय सरकारको बजेटमा पर्खाल लगाइए पनि भक्तपुर नगरपालिका आफैले निर्माण गरेको दाबी गर्छ ।

यतिमात्र होइन, भक्तपुर क्षेत्र नम्बर १, मा ०४८ सालदेखि संघीय वा प्रदेश सरकारले बजेट नै नदिएको नेपाल मजदुर किसान पार्टीका नेता, कार्यकर्ता झुटो दाबी गर्छन् । जनतालाई भ्रमित बनाउँछन् । त्यसैले, अब संघीय वा प्रदेश सरकारले भक्तपुर क्षेत्र नम्बर १, मा ०४८ सालदेखि हालसम्म कति बजेट दिइएको छ ? विवरण सार्वजनिक गर्नुपर्छ ।

गत फागुन २१ गतेको चुनावबाट भक्तपुर क्षेत्र नम्बर १, मा ३५ वर्षदेखि रहेको नेमकिपाको गढ तोडियो तर भ्रम फैलाउने क्रम अझै रोकिएको छैन । अहिलेपनि उनीहरु जनतालाई आफ्नो पक्षतिर पार्न झुट्टा दाबी गरिरहेका छन् । नेमकिपाले दिनैपिच्छे महँगा होटल, पाटी प्यालेसमा कार्यक्रम राख्दछ र अन्य पार्टीमा नलाग्न आग्रह गर्छ ।

भक्तपुरका सरकारी, सार्वजनिक, गुठी, ऐलानी जग्गामा नेमकिपा, एमाले र कांग्रेसका कार्यकर्ताहरुले ठूल्ठूला घर बनाएका छन् । मठमन्दिर, पार्टीपौवा, इनार, ढुंगेधारासमेत मासेर घर ठड्याइएको छ । यसको ज्वलन्त उदाहरण भक्तपुर नगरपालिका–१, सल्लाघारी तीनकुने चौरस्थित यातायात कार्यालयअगाडि रहेको ठूलो घर हो । त्यो हो विकुलाल खिउँजुको हो ।

उनले तीन वटा ढुंगेधारा मासेर घर बनाएको स्थानीयको आरोप छ । त्यसरी बनाइएको घरमा अहिले किरानादेखि फलफूल, ब्यूट्रीपार्लरसम्म सञ्चालन भएको छ भने घर सम्पन्नता प्रमाणपत्र पनि पाइसकेको छ । खिउँजु नेमकिपाको कार्यकर्ता भएकै कारण ढुंगेधारा मासेर बनाइएको घरको समेत सम्पन्नता प्रमाणपत्र पाएको स्थानीय बताउँछन् ।

यहाँ नेमकिपाका कार्यकर्ताको मात्र नभई सो पार्टीबाट निर्वाचित जनप्रतिनिधि रहेको भक्तपुर नगरपालिकाको पनि मनलाग्दी चलिआएको छ । ट्रष्टको जग्गामा नगरपालिकाको रजाईं चलेको छ । चौरअगाडि यातायात कार्यालय रहेकोले दैनिक सयौं सेवाग्राही आउँछन् । धेरैजसो सेवाग्राही मोटरसाइकल, स्कुटर वा चार पाङ्ग्रे सवारीसाधनमा आउँछन् । ती सवारीसाधन चौरमा पार्किङ्ग गरिन्छ ।

यसरी पार्किङ गरेबापत घण्टाकै तीन सय रुपैयाँसम्म तिर्नुपर्छ । रोचक कुरा चाँहि यातायात कार्यालय सञ्चालित घरलाई मासिक तीन लाख रुपैयाँ भाडा तिरिन्छ । जबकी यो ठाउँमा ५० हजारमै एकदम राम्रा घरहरु भाडामा भेटिन्छन् । अर्कोकुरा, एउटा यातायात कार्यालय रहेको दश मिनेटको दुरीमा अर्को पनि छ । राधेराधेमा पनि यातायात कार्यालय सञ्चालनमा छ । त्यो पनि भाडाकै घरमा, मासिक तीन लाख रुपैयाँ तिरिन्छ ।

एउटै मन्त्रालयको एकै प्रकृतिको कार्यालय दश मिनेटको दुरीमा सञ्चालन हुँदा राज्यलाई कति भार थपिरहेको छ । यदि यी यातायात कार्यालय गाभिने हो भने खर्च त कम हुने नै छ सँगै बागमतीका दुर्गम जिल्लामा पनि यातायात कार्यालय पुग्नेछन् । यस्तै, ट्रष्टको स्वामित्वमा रहेको सल्लाघारी तीनकुने चौरमा दशैं–तिहारमा खसी, बोका, च्याङ्ग्रा, भेडा बेचबिखन गर्न राखिन्छ । यसको पनि रकम नगरपालिकाले उठाउँछ ।

सानो ठाउँ ओगटेको समेत दिनकै ३० हजारदेखि लाखौं रकम असुलिन्छ । चाडपर्वका बेला यहाँ मेलासमेत लागिन्छ । यसको पनि दिनकै लाखौं रुपैयाँ नगरपालिकालाई बुझाइन्छ । अन्य समयमा ड्राइभिङ, कराँते सिकाउनेजस्ता गतिविधि चौरभित्र हुन्छन् । ड्राइभिङ सेन्टरहरुले चौरभित्र घण्टाकै दुई पाङ्ग्रे सवारीको पाँच सय र चार पाङ्ग्रे गाडी सिकेको असुल्छन् ।

कराँते सिकाएको मासिक एक जनासँग पाँचदेखि सात हजारसम्म असुलिन्छ । दिनहुँ सयौं जनालाई कराँते सिकाइन्छ । चौरभित्रै फुटबल पनि खेलिन्छ, त्यो पनि पैसाको बाजी राखेर । एउटा खेलकै दुईदेखि पाँच हजारसम्म बाजी राखिएको हुन्छ र जित्नेले सो रकम पाउँछ । घाम ताप्न वा खुल्ला ठाउँ खोज्दै टाढाटाढाका मानिसहरु सल्लाघारी तीनकुने चौरसम्म आइपुग्छन् । बिहानदेखि बेलुकासम्मै चौरमा भीडभाड हुन्छ ।

चौरमा मकै, चटपटे बेच्नेहरु छ्यापछ्याप्ती छन् । मकै पोलेर घोगाकै ३५ देखि ४० रुपैयाँमा बेचिन्छ भने चट्पटे पनि ५० रुपैयाँदेखि बनाइन्छ । तर, मकै वा चट्पटे खाएको फोहोर चौरमै छोडिन्छ । यतिसम्म लापरबाही छ कि मकै पालेर आगो नै ननिभाई हिडिँन्छ । यसले आगलागीको खतरासमेत अत्यधिक छ । भक्तपुरमा ०२१ सालमा जग्गा नापी भएको थियो ।

त्यसक्रममा सल्लाघारी आर्मी ब्यारेक दायाँबायाँ, चंगा गणेशस्थान, खरिदपाटी, निकोसेरा, सिर्जनानगर पूरैसहित राधेराधेस्थित भाटभटेनी, निर्माणाधीन पन्ध्र तले भवन, राजेश हार्डवेयरलगायत रहेका जग्गा सरकारी, गुठी, ऐलानी र आर्यघाटको भनि राखिएको थियो । ०२९ सालसम्म यहाँ एउटै घर बनेका थिएनन् । ०३२ सालमा एक जनाले तीनकुने चौरअगाडि छाप्रो हाले । उनैले ०३५ सालमा ढुंगा, माटो र टायलको छानो हालेर घर बनाए ।

त्यतिबेला मुलुकमा पञ्चायती व्यवस्था थियो । ०४६ चैत २४ गते पञ्चायत ढलेर बहुदलीय व्यवस्था आयो । यसपछि यहाँको सबै जग्गा हड्पियो । अहिले ७६ जिल्लाका जनताले यहाँ जग्गा किनेर घर बनाएका छन् । उनीहरुलाई थाहा छैन कि आफ्नो घर रहेको जग्गा सरकारी, गुठी, ऐलानी हो ।

भक्तपुरमा एक लाख ६७ हजार रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको सुनिन्छ । यहाँ चार वटा स्थानीय तह छन् । संघीय सरकारले अतिक्रमित सार्वजनिक जग्गा वा सम्पत्ति फिर्ता ल्याउने निर्णय गरेपनि भक्तपुरमा सबै मौन छन् । जनप्रतिनिधिदेखि सिडिओसम्मको यसतर्फ चासो गएको छैन ।

रुषा थापा

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार