आईतवार, १७ जेष्ठ, २०८३

नाउटाटो (रेड पाण्डा) हरायो भने के हराउँछ हिमालबाट?

जोगाउनु भनेको हिमाली वन, धन, पानीका स्रोत र अन्य वन्यजन्तु पनि जोगाउनु हो। नाउटाटो जोगाउने जिम्मेवारी सरकारसंग मात्र नभई स्थानीय समुदायसँग पनि बराबर छ।

के तपाईंलाई त्यस्तो मांसहारी जनावरको बारेमा थाहा छ जसको मुख्य आहारा विरुवा हो? नेपालको हिमाली वनहरूमा पाइने दुर्लभ र आकर्षक वन्यजन्तु रेड पाण्डा, जसलाई स्थानीय भाषामा ‘नाउटाटो’ भनेर चिनिन्छ नाउटाटो एक महत्वपूर्ण प्रजाति हो।

लजालु स्वभावको सानो स्तनधारि वन्यजन्तु नाउटाटो मुख्यतया बास (निगालो) भएको चिसो पहाडी वनमा बस्छ र यो प्रजाति संसारका केवल पाँच देश नेपाल, भारत, भुटान, चीन र म्यानमार मा मात्र पाइन्छ। साथै नेपालमा यसको सम्भावित बासस्थानमा खस्रु, गुराँस, थिङ्ग्रे सल्ला, सल्ला, देवदार, भोजपत्र, फिरफिरे जस्ता रुखहरु पाईन्छन्।

नाउटाटोको करिब ७० प्रतिशत बासस्थान संरक्षित क्षेत्रभन्दा बाहिर रहेको छ। यसको अर्थ, धेरैजसो नाउटाटो राष्ट्रिय निकुञ्ज वा आरक्षमा नभई हाम्रो गाउँ वरिपरिका सामुदायिक वनमै बसिरहेका छन्। यसको दैनिक आहारमा धेरैजसो बाँसका पात र कोपिला हुन्छन् जसले यसको आहारको करिब ८३ प्रतिशत भाग ओगट्छ।

यस बाहेक यसले फलफूल, किरा, स-साना चरा र अण्डा पनि खाने गर्दछ।

नाउटाटो स्वास्थ वनको संकेतक प्रजाति पनि हो। यसले वनको पारिस्थितिक सन्तुलन कायम राख्न मद्दत गर्छ। यो बाँस खाने जनावर भएकाले बाँसको वृद्धि र वनको संरचना सन्तुलित राख्न सहयोग गर्छ।

साथै नाउटाटो भएको जंगल जैविक विविधताले भरिएको हुन्छ। जहाँ नाउटाटो पाइन्छ, त्यहाँ पानीका स्रोत, बाँस र विविध रूखहरू राम्रो अवस्थामा रहेको संकेत मिल्छ। नाउटाटो हिमाली क्षेत्रको आकर्षक वन्यजन्तु भएकाले यसको संरक्षणले प्रकृति पर्यटन र स्थानीय रोजगारीमा पनि योगदान दिन सक्छ।

त्यसैले नाउटाटो जोगाउनु भनेको हिमाली वन, धन, पानीका स्रोत र अन्य वन्यजन्तु पनि जोगाउनु हो। नाउटाटो जोगाउने जिम्मेवारी सरकारसंग मात्र नभई स्थानीय समुदायसँग पनि बराबर छ।

यसको सीमित वितरण र घट्दो संख्या कारण यो प्रजाति अन्तराष्ट्रिय र राष्ट्रिय रूपमा संकटापन्न (Endangered) सूचीमा राखिएको छ। धेरैलाई यो जनावरबारे थाहा भए पनि यसको महत्व र संरक्षणको आवश्यकता अझै सबैले बुझ्न सकेका छैनन्।

यदि नाउटाटो हरायो भने केवल एउटा जनावर मात्र हराउँदैन, हाम्रो हिमाली वनको सन्तुलन पनि बिग्रिन सक्छ। त्यसैले आज यसको संरक्षण किन आवश्यक छ भन्ने विषय धेरै महत्त्वपूर्ण बनेको छ।

तर पछिल्ला वर्षहरूमा यसको घट्दो संख्या निकै नै चिन्ताजनक विषय बनेको छ। बिशेष गरि पश्चिम नेपालका हिमाली क्षेत्रमा नाउटाटोका लागि मानवीय गतिविधिहरू ठूलो चुनौती बनेका छन्।

स्थानीय समुदायले बाँसलाई इन्धन र अन्य कामका लागि अत्यधिक प्रयोग गर्दा यसको मुख्य आहार घट्दै गएको छ भनेँ बाँसयुक्त जंगल कटान गरी खेतीको विस्तार र गाईभैंसी, भेडाबाख्राको अत्यधिक चरनले बाँस र अन्य वनस्पतिको वृद्धि घटेकोले पनि यस्को बासस्थानको नाश भएको देखिन्छ।

त्यसैगरी सडक निर्माण, जलवायु परिवर्तन, अवैध सिकार र व्यापार र अन्य जनावरका लागि राखिएका पासोमा फस्ने जोखिम जस्ता पनि नाउटाटो संकटमा पर्नुको मुख्य कारणहरु हुन।

यस्ता समस्यालाई समाधान गर्न नेपाल सरकारले रेड पाण्डा संरक्षण कार्ययोजना (२०१९–२०२३) लागू गरेको छ। यस कार्ययोजनाको मुख्य लक्ष्य नेपालमा नाउटाटोको जनसंख्या सुरक्षित राख्नु र यसको बासस्थान संरक्षण गर्नु हो।

नेपाल सरकारले पनि यस प्रजातिलाई विशेष संरक्षण दिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, १९७३ अनुसार नाउटाटोलाई मार्ने, बेचबिखन गर्ने वा यसको अंगको अवैध व्यापार गर्ने व्यक्तिलाई ५ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा ५ देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।

त्यसैले सरकार यस प्रजातिको संरक्षणप्रति गम्भीर रहेको देखाउँछ। नाउटाटो हाम्रो प्रकृतिको महत्वपूर्ण हिस्सा हो। ‘नाउटाटो जोगाउनु भनेको हाम्रो जंगल र प्रकृति जोगाउनु हो। त्यसैले आउनुहोस्, यो दुर्लभ प्राणीलाई जोगाउन हामी सबै मिलेर संरक्षणको जिम्मेवारी पूरा गरौँ।’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार