सोमबार, ११ जेष्ठ, २०८३

स्पष्ट नम्बर प्लेट राख्न ट्राफिक प्रहरीको १ हप्ते अभियान, जुम्लामा चालकलाई सचेतना

जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले सवारी साधनहरूको नम्बर प्लेट स्पष्ट, बुझिने र मापदण्डअनुसार राख्नका लागि एक हप्ते विशेष अभियान सञ्चालन गरेको छ। अभियान अन्तर्गत आज विशेष चेकजाँच तथा सचेतनामूलक कार्यक्रम गरिएको हो।

ट्राफिक प्रहरीले खिइएका, मेटिएका, मापदण्ड विपरीत रहेका तथा नबुझिने नम्बर प्लेट भएका सवारी साधनहरूलाई रोकि तत्काल नम्बर प्लेट लेखन गराउनुका साथै चालकहरूलाई सम्झाइ–बुझाइ गरेको जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रकाश शाहीका अनुसार स्पष्ट नम्बर प्लेट नराख्दा दुर्घटना अनुसन्धान, ट्राफिक व्यवस्थापन तथा सवारी साधनको पहिचानमा समस्या हुने भएकाले अभियान सञ्चालन गरिएको हो।

चेकजाँचका क्रममा सवारी चालक तथा सहचालकहरूलाई नम्बर प्लेट स्पष्ट राख्न, ट्राफिक नियम पालना गर्न तथा सुरक्षित यात्रामा ध्यान दिन आग्रह गरिएको थियो।

ट्राफिक प्रहरीले ‘ट्राफिक नियमको पालन गरौं, स्पष्ट नम्बर प्लेट राखेर मात्र सवारी चलाऔं’ भन्ने सन्देशसहित आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार