जुम्लामा जडीबुटीको संरक्षण, संवर्द्धन, प्रशोधन र बजारीकरणसम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गर्दै ८ बुँदे घोषणापत्र जारी गरिएको छ।
‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया’ भन्ने मूल नारासहित आयोजित उक्त कार्यशाला आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको आयोजनामा तथा सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशको समन्वय र सहजीकरणमा होटल मानसरोवर, जुम्ला बजारमा सम्पन्न भएको हो।

जेठ ९ र १० गते सञ्चालन भएको गोष्ठीमा भेषज विज्ञ, आयुर्वेद स्वास्थ्यकर्मी, वन विज्ञ, फार्मेसी विशेषज्ञ, जडीबुटी व्यवसायी, कृषक, अनुसन्धानकर्ता तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म जडीबुटी क्षेत्रका समस्या, सम्भावना र समाधानका विषयमा सघन छलफल गरेका थिए।
कार्यक्रममा कर्णाली प्रदेश बहुमूल्य जडीबुटीको खानी भए पनि यसको उचित संरक्षण, प्रशोधन र बजारीकरण नहुँदा अपेक्षित आर्थिक लाभ लिन नसकिएको निष्कर्ष निकालिएको छ।
साथै कच्चा जडीबुटी न्यून मूल्यमा बाहिरिने, अध्ययन, अनुसन्धानको कमी, आयुर्वेद औषधि उत्पादनका लागि संस्थागत संरचना कमजोर रहेको तथा परम्परागत ज्ञानको अभिलेखीकरण नहुँदा ज्ञान चोरी (Piracy) को जोखिम बढेको विषयमा चिन्ता व्यक्त गरिएको थियो।

कार्यशाला पश्चात् आगामी कार्यदिशा तय गर्दै ८ बुँदे घोषणापत्र जारी गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका प्रमुख सन्तोष पौडेलले जानकारी दिए।
घोषणापत्रमा जडीबुटीसम्बन्धी नीतिगत तथा कानुनी सुधार, एकद्वार प्रणालीको विकास, अध्ययन तथा अनुसन्धान विस्तार, आयुर्वेद औषधि उत्पादनका लागि संस्थागत सुदृढीकरण तथा रैथाने ज्ञानको संरक्षणलाई प्राथमिकतामा राखिएको छ।
स्थानीय स्तरमा जडीबुटी क्षेत्रलाई व्यवस्थित र दिगो बनाउँदै कर्णालीको आर्थिक सम्भावनालाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
















