जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले जिल्लाका विभिन्न सरकारी कार्यालयहरूमा छड्के अनुगमन गर्दै सेवा प्रवाह, योजना कार्यान्वयन र कर्मचारीको कार्यशैलीबारे जानकारी लिएका छन्।
सांसद शाहीले भौतिक पूर्वाधार कार्यालय, सडक डिभिजन कार्यालय, विद्युत कार्यालय तथा भवन डिभिजन कार्यालयको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा उनले विकास निर्माणसँग सम्बन्धित योजनाहरू तोकिएको समयसीमाभित्र सम्पन्न गर्न सम्बन्धित कार्यालय प्रमुख तथा कर्मचारीलाई निर्देशन दिएका छन्।
उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कडा चेतावनी दिँदै समयमै काम सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गरिने बताएका छन्। ‘काम नगर्ने ठेकेदार डुब्छन्। सरकारले तोकेको मापदण्ड अनुसार काम नभए ठेक्का तोड्नुपर्छ,’ भन्दै उनले कार्यालयहरूलाई आवश्यक कडाइ गर्न निर्देशन दिएका हुन्।

सांसद शाहीले विकास निर्माणका काममा हुने ढिलासुस्ती, लापरबाही र अनियमितता कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे। जनताको करबाट सञ्चालन हुने योजनामा जिम्मेवारीपूर्वक काम गर्न कर्मचारी तथा ठेकेदारलाई उनले आग्रह गरे।
अनुगमनका क्रममा अधिकांश कार्यालय प्रमुख बिदामा रहेको र केही कर्मचारीले लापरबाहीपूर्ण ढंगले काम गरिरहेको भेटिएको सांसद शाहीले बताए। उनले कार्यालयहरूमा अनुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
सांसद शाही जुम्ला पुगेलगत्तै प्रमुख जिल्ला अधिकारी दीपक पौडेल तथा जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन बाबु रेग्मीसहितको टोलीले उक्त अनुगमन गरेको हो।
















