कोहलपुर नगरपालिका वडा नं. २, मनकामना चोकका स्थानीय मियुलाल चौधरीले बिहानको समयमा आफ्नो पसल वरपरको फोहोर आफैंले सफा गर्दै आएका छन्। उनी एक्लै कागजजन्य फोहोर उठाउँदै सरसफाइमा जुटिरहेको दृश्यले स्थानीय स्तरमा सरसफाइ व्यवस्थाप्रति प्रश्न उठाएको छ।
चौधरीका अनुसार पहिले चुनावअघि स्थानीयवासीहरू समूहमा मिलेर सरसफाइ गर्ने गर्थे। तर अहिले सबै आ–आफ्नो काममा व्यस्त भएपछि आफू एक्लै सरसफाइ गर्न बाध्य भएको उनले बताए।
‘चुनावअघि हामी समूहमा मिलेर सरसफाइ गर्थ्यौं। अहिले सबै आफ्नो काममा व्यस्त भएपछि म एक्लै यो काम गर्न लागेको छु,’चौधरीले भने। उनले नगरपालिकालाई सरसफाइप्रति अझ गम्भीर बन्न आग्रह पनि गरे। ‘नगरपालिकाले पनि सरसफाइसम्बन्धी ध्यान दिन जरुरी छ,_ उनको भनाइ छ।
स्थानीय रूपमा जिम्मेवारीबोध गर्दै आएका चौधरीले आफू काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यशैलीबाट प्रेरित भएको पनि बताएका छन्।
मनकामना चोक क्षेत्रमा बिहानैदेखि एक्लै फोहोर उठाउँदै गरेको उनको गतिविधिले स्थानीय सरसफाइ अभियानको निरन्तरतामाथि प्रश्न उठाएको स्थानीयवासीहरू बताउँछन्।
उनीहरूले सामूहिक सरसफाइ अभियान पुनः सुरु गर्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका छन्। यस विषयमा कोहलपुर नगरपालिकाले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
















