दैलेखको महावु गाउँपालिका–४ गिताचौरका २६ वर्षीय मोटिभेशनल स्पिकर आदर्श विक्रम सिंह ‘कर्णाली युथ आइकन’बाट सम्मानित भएका छन्। सुर्खेतमा आयोजित ‘कर्णाली युथ फेस्टिभल’मा उनलाई यो सम्मान प्रदान गरिएको हो।
सामान्य गाउँबाट सुरु भएको उनको यात्रा आज कर्णालीका युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ। सानैदेखि अध्ययनशील र सेवाभावी स्वभावका सिंहले विद्यालयदेखि नै उत्कृष्ट नतिजा ल्याउँदै उच्च अध्ययनका लागि दैलेख हुँदै वीरेन्द्रनगर पुगेका थिए।
सन् २०१८ देखि उत्प्रेरक वक्ताका रूपमा सक्रिय उनले हालसम्म करिब २० हजारभन्दा बढी विद्यार्थी र युवालाई प्रत्यक्ष रूपमा प्रेरित गरिसकेका छन्। पछिल्लो समय नेपाल प्रहरीका कर्मचारीहरूलाई समेत प्रशिक्षण दिइरहेका छन्।
उनी ‘राइजिङ ट्यालेन्ट’का संस्थापक हुन्, जहाँबाट युवाहरूलाई पब्लिक स्पिकिङ तालिम प्रदान गरिन्छ। साथै ‘सम्भव छ’ पोडकास्टमार्फत पनि उनले आफ्ना अनुभव साझा गरिरहेका छन्।
















