हुम्लाको ताजाकोट गाउँपालिकामा पाँच वर्षमुनिका बालबालिकामा देखिएको गम्भीर कुपोषण समस्याले स्वास्थ्य क्षेत्रलाई सक्रिय बनाएको छ। गाउँपालिकाका वडा नं. १ देखि ५ सम्मका विभिन्न टोल–बस्तीमा गरिएको पोषण लेखाजोखाका क्रममा ११ जना बालबालिका अति सिघ्र कुपोषणको अवस्थामा भेटिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोषण पुनःस्थापन केन्द्र संयोजक महेन्द्र हमालले बताए।

उनका अनुसार ती बालबालिकासँगै १० जना आमालाई उपचारका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोषण पुनःस्थापना केन्द्रमा ल्याइएको छ। ०८३ साल बैशाख २२ गते पहिलो चरणमा पठाइएका आमाहरूमा पबिता कार्की, सुन्तली रिठाल, जुना कार्की, कविता नेपाली, मिठा नेपाली, प्रेमकला नेपाली, बाचु नेपाली, मैसमी चदारा, बसन्ती कटुवाल र ललिता रोकाया रहेका छन्। उनीहरू आफ्ना कुपोषित बालबालिकासहित उपचारका लागि जुम्ला पुगेका छन्।
ताजाकोट गाउँपालिकाका अनुसार ताजाकोटमा कुपोषण समस्या जटिल बन्नुमा भौगोलिक अवस्था, खाद्य असुरक्षा, जनचेतनाको कमी तथा स्वास्थ्य सेवामा पहुँचको अभाव रहेका छन्। यी कारणले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ। विशेषगरी हिमाली क्षेत्रमा बसोबास गर्ने परिवारहरू पोषणयुक्त आहारको अभावका कारण जोखिममा पर्ने गरेका छन्।

यस अभियानमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय स्वास्थ्यकर्मी, गाउँपालिका सरकार र जिल्ला स्वास्थ्य सेवा कार्यालयको सक्रिय भूमिका रहेको छ। सबै निकायको समन्वयका कारण जोखिममा रहेका बालबालिकालाई समयमै उपचारको दायरामा ल्याउन सम्भव भएको छ।
पोषण पुनःस्थापना केन्द्रका संयोजक हमालका अनुसार जुम्लास्थित प्रतिष्ठानले कर्णाली प्रदेशका विभिन्न पहाडी तथा हिमाली जिल्लाबाट आएका कुपोषित बालबालिकालाई निःशुल्क आवासीय उपचार सेवा प्रदान गर्दै आएको छ। यहाँ बालबालिकालाई पोषणयुक्त आहार, नियमित स्वास्थ्य परीक्षण र आवश्यक उपचार सेवा उपलब्ध गराइन्छ।
हमालले विकट क्षेत्रबाट कुपोषित बालबालिकालाई खोजी गरी उपचारमा ल्याउने कार्यलाई प्राथमिकतामा राखिएको बताए। ‘ताजाकोटबाट बालबालिका ल्याउन समन्वय गरेर अभियानलाई सफल बनाउन विशेष पहल गरिएको हो,’ उनले भने, ‘स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्य अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।’

















