कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको स्कुल अफ फार्मेसी अन्तर्गत गरिएको एक अध्ययनले नेपालका विभिन्न क्षेत्रमा उत्पादित बेसारको गुणस्तरमा स्पष्ट भिन्नता रहेको देखाएको छ।
रवि सुवेदी र डा. दीर्घ राज जोशीको नेतृत्वमा सम्पन्न उक्त अनुसन्धानले विशेषगरी तराई क्षेत्रका जिल्लाहरूमा उत्पादित बेसारमा औषधीय गुण बढी रहेको निष्कर्ष निकालेको हो।
अनुसन्धानका क्रममा सुनसरी, महोत्तरी, चितवन, कास्की, पाल्पा, जाजरकोट, कालिकोट, दैलेख र कैलाली गरी ९ जिल्लाबाट संकलित नमूनाहरू र जुम्ला बजारमा उपलब्ध ५ व्यावसायिक ब्रान्डको तुलना गरिएको अध्ययनमा संलग्न डा. जोशीले बताए।
उनका अनुसार ‘फाइटोकेमिकल प्रोफाइलिङ’ र ‘थिन लेयर क्रोमाटोग्राफी (TLC)’ विधिबाट गरिएको परीक्षणमा चितवन र सुनसरीका नमूनामा मुख्य सक्रिय तत्व ‘कर्कुमिनोइड’ को मात्रा उच्च पाइयो।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा उत्पादित बेसारमा भने यसको मात्रा कम देखिएको अध्येता सुवेदीले जानकारी दिए। उनले भने, ‘हाम्रो अध्ययनले स्थानीय स्तरमा उत्पादित बेसार कतिपय व्यावसायिक ब्रान्डभन्दा गुणस्तरीय हुन सक्ने पनि देखाएको छ।’
तर भण्डारणका क्रममा अपनाइने कमजोरी, जस्तै खुला बोरा, अत्यधिक घाम र चिस्यानका कारण गुणस्तरमा गिरावट आउने तथ्य पनि उजागर भएको डा. जोशीको भनाई छ।
उनका अनुसार कम लागतमा गरिने वैज्ञानिक परीक्षण विधिको प्रयोगले भविष्यमा बेसारको गुणस्तर मापन र मिसावट नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्नेछ।
उनले भने, ‘सही उत्पादन र सुरक्षित भण्डारण अपनाएमा नेपाली बेसार अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सक्ने हाम्रो विश्वास छ।’
















