आज एमालेले गम्भीर आत्मसमिक्षा गर्नुपर्ने समय आएको छ। हारलाई केवल बाह्य कारणसँग जोडेर मात्र व्याख्या गर्नु पर्याप्त हुँदैन। कहिलेकाहीँ हारले ठूलो सत्य देखाइदिन्छ। यदि हामीले त्यो सत्य स्वीकार गर्न सकेनौँ भने भविष्य झन् कठिन बन्न सक्छ।
नेकपा (एमाले) का लागि अहिलेको निर्वाचन परिणाम केवल एउटा हारको तथ्य मात्र होइन, यो पार्टीभित्र गहिरो रूपमा बसेका प्रवृत्ति र कमजोरीहरूको ऐना पनि हो। धेरै कार्यकर्ता र समर्थकका लागि यो परिणाम मानौं मृत्युको विम्ब जस्तै महसुस भएको छ। किनकि मृत्यु जस्तै—जसलाई सबैले शाश्वत सत्य मान्छन्, तर कसैले पनि त्यसको अपेक्षा गर्दैन। एमाले जस्तो बलियो इतिहास, संगठन र आन्दोलन बोकेको पार्टीले यस्तो परिणाम भोग्नुपर्दा स्वाभाविक रूपमा धेरै प्रश्नहरू उठेका छन्।
एमाले कुनै साधारण पार्टी होइन। यो पार्टी जनताको संघर्ष, बलिदान र विचारको जगमा बनेको पार्टी हो। किसान, मजदुर, श्रमजीवी वर्गको आशा र भरोसाको केन्द्र बनेको पार्टी हो। तर पछिल्ला वर्षहरूमा पार्टीभित्र केही प्रवृत्तिहरू यस्ता देखिए, जसले कार्यकर्ताको मनोबल कमजोर बनायो। संगठनभित्र आन्तरिक लोकतन्त्र कमजोर हुनु, नेतृत्व चयनमा प्रतिस्पर्धा भन्दा टीका लगाउने परिपाटी बढ्नु, तलका कार्यकर्ताको आवाज सुन्ने संस्कार कमजोर हुनु, र दम्भ तथा अहंकारले ठाउँ लिनु जस्ता समस्याले पार्टीलाई बिस्तारै कमजोर बनाएको कुरा अब लुकाउने अवस्था छैन।
लोकतान्त्रिक पार्टीभित्र नेतृत्व चयन कार्यकर्ताको मतबाट, खुला प्रतिस्पर्धाबाट र पारदर्शी प्रक्रियाबाट हुनुपर्छ। तर यदि नेतृत्व चयन केही व्यक्तिको इच्छा र टीकाको आधारमा हुँदै जाने हो भने त्यो लोकतन्त्र होइन, त्यो केवल औपचारिकता मात्र हुन्छ। यस्तो प्रवृत्तिले पार्टीभित्र नयाँ पुस्ता निराश हुन्छ, सक्षम कार्यकर्ता पछाडि पर्छन्, र संगठनभित्रको ऊर्जा क्रमशः कमजोर हुँदै जान्छ।
आज एमालेले गम्भीर आत्मसमिक्षा गर्नुपर्ने समय आएको छ। हारलाई केवल बाह्य कारणसँग जोडेर मात्र व्याख्या गर्नु पर्याप्त हुँदैन। कहिलेकाहीँ हारले ठूलो सत्य देखाइदिन्छ। यदि हामीले त्यो सत्य स्वीकार गर्न सकेनौँ भने भविष्य झन् कठिन बन्न सक्छ। त्यसैले अहिलेको आवश्यकता भनेको विशेष महाधिवेशनमार्फत पार्टीभित्र गहिरो बहस, समीक्षा र सुधारको प्रक्रिया सुरु गर्नु हो।
महाधिवेशन केवल पद बाँड्ने कार्यक्रम होइन, त्यो पार्टीको दिशा, विचार र नेतृत्वलाई नयाँ ऊर्जा दिने ऐतिहासिक अवसर हुनुपर्छ। नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने, संगठनलाई पुनः सशक्त बनाउने, र कार्यकर्तामा विश्वास जगाउने काम महाधिवेशनबाट हुनुपर्छ। नेतृत्व चयन चुनावबाट हुनुपर्छ, ताकि कार्यकर्ताले आफूले विश्वास गरेको नेतृत्व छान्न सकून्।
इतिहासले देखाएको छ, कुनै पनि पार्टी दम्भ र अहंकारले टिक्दैन। पार्टी टिकाउने शक्ति भनेको जनताको विश्वास, कार्यकर्ताको समर्पण र विचारको स्पष्टता हो। यदि नेतृत्वले कार्यकर्ताको भावना बुझ्न सकेन भने संगठन कमजोर हुन्छ। तर यदि नेतृत्वले आत्मसमिक्षा गरेर सुधारको बाटो समाते भने त्यो पार्टी अझ बलियो भएर फर्कन सक्छ।
आज एमालेको अगाडि दुई बाटा छन्। एक, पुरानै शैली र प्रवृत्तिलाई निरन्तरता दिने बाटो। दोस्रो, आत्मसमिक्षा गरेर सुधार, नविकरण र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने बाटो। यदि एमालेले दोस्रो बाटो रोज्न सके भने यो हार भविष्यको ठूलो जितको आधार बन्न सक्छ। तर यदि सुधारको साहस देखाइएन भने इतिहासले कठोर मूल्याङ्कन गर्न सक्छ।
पार्टीलाई बचाउने शक्ति कसैको व्यक्तिगत अहंकारमा होइन, सामूहिक बुद्धि, लोकतान्त्रिक अभ्यास र जनताप्रतिको इमानदार प्रतिबद्धतामा हुन्छ। त्यसैले आजको समयले मागेको कुरा स्पष्ट छ, साहसी आत्मसमिक्षा, लोकतान्त्रिक महाधिवेशन, नयाँ सोच र नयाँ नेतृत्व। यही बाटोले मात्रै एमालेलाई पुनः जनताको भरोसाको केन्द्र बनाउन सक्छ।















