शनिबार, ३० फाल्गुन, २०८२

जुम्लामा डेढ दशकदेखि सेवा गरेका डाक्टर रोबिन खापुङ

कर्णालीमा स्वास्थ्य सेवाको पहुँच अझै चुनौतीपूर्ण रहे पनि डा. रोबिनजस्ता समर्पित चिकित्सकहरूको प्रयासले यहाँका नागरिकमा स्वास्थ्य सेवाप्रति भरोसा र आशा जगाइरहेको छ।

कर्णाली प्रदेशको विकट हिमाली जिल्ला जुम्लामा विगत डेढ दशकभन्दा बढी समयदेखि निरन्तर सेवा दिँदै आएका एनेस्थेसियोलोजिस्ट डाक्टर रोबिन खापुङ यहाँका बिरामी र स्वास्थ्यकर्मीबीच समर्पित चिकित्सकका रूपमा परिचित छन्।

कठिन भौगोलिक अवस्था, सिमित स्रोतसाधन र विशेषज्ञ चिकित्सकको अभावका बीच पनि उहाँले जुम्ला र आसपासका जिल्लाका हजारौँ बिरामीलाई उपचारमा सहजीकरण गर्दै आउनुभएको छ।

विकट क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभावका कारण विगतमा धेरै बिरामीलाई सामान्यदेखि जटिल शल्यक्रियासम्मका लागि नेपालगञ्ज वा काठमाडौं पठाउनुपर्ने बाध्यता थियो। तर डा. खापुङको सक्रिय उपस्थितिले स्थानीय स्तरमै धेरै शल्यक्रिया सम्भव भएका छन्। एनेस्थेसियोलोजिस्टको रूपमा उहाँको भूमिका शल्यक्रिया सुरक्षित रूपमा सम्पन्न गर्न अत्यन्त महत्वपूर्ण मानिन्छ।

स्थानीय स्वास्थ्यकर्मीहरूका अनुसार सिमित उपकरण र जनशक्तिका बीच पनि उहाँले शल्यक्रिया सेवामा निरन्तरता दिन महत्वपूर्ण भूमिका खेलेका छन्। यसले जुम्ला मात्र होइन, हुम्ला, मुगु, कालिकोट, डोल्पा लगायतका जिल्लाबाट आउने बिरामीलाई पनि राहत दिएको छ।

उनले जुम्लामा टेलिमेडिसिनको पहल गरि जुम्लामा आधुनिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने काममा भूमिका निर्वाह गरे। यो सन् २०१९ मा को कुरा थियो। दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको पहुँच सिमित रहेको अवस्थालाई ध्यानमा राख्दै उहाँले डिजिटल माध्यमबाट स्वास्थ्य संस्थाहरूलाई विशेषज्ञ चिकित्सकसँग जोड्ने प्रयास अघि बढाउनुभएको हो।

टेलिमेडिसिनको अवधारणाअनुसार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई केन्द्र (हब) बनाएर कर्णालीका विभिन्न स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालहरूलाई त्यससँग जोड्ने लक्ष्य राखिएको छ। यस प्रणालीमार्फत ग्रामीण स्वास्थ्यकर्मीले विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श गर्न सक्ने व्यवस्था गर्ने योजना अघि सारिएको थियो।

यसले दुर्गम क्षेत्रका बिरामीलाई उपचारका लागि दिनौँसम्म यात्रा गर्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ।

महामारीमा टेलिमेडिसिनको महत्व
कोभिड–१९ महामारीका समयमा टेलिमेडिसिनको आवश्यकता अझ स्पष्ट रूपमा देखियो। आवागमनमा प्रतिबन्ध र स्वास्थ्य जोखिम बढेको समयमा डिजिटल माध्यमबाट विशेषज्ञ परामर्श उपलब्ध हुनु दुर्गम क्षेत्रका बिरामीका लागि महत्वपूर्ण सहयोगी सावित भयो।

स्थानीय स्वास्थ्यकर्मीहरूले बिरामीको अवस्था विशेषज्ञ चिकित्सकसँग सिधै छलफल गरेर उपचार प्रक्रिया अघि बढाउन सकेका थिए। यसले अनावश्यक रेफरल घटाउने, उपचारको निर्णय छिटो लिन सहयोग गर्ने र बिरामीको खर्च समेत कम गर्न मद्दत गरेको बताइन्छ।
कर्णालीका लागि दीर्घकालीन दृष्टि

डा. खापुङको सोचअनुसार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कर्णाली प्रदेशकै टेलिमेडिसिन केन्द्रका रूपमा विकास गर्न सकिन्छ। यस केन्द्रबाट हुम्ला, मुगु, डोल्पा, कालिकोट लगायत दुर्गम जिल्लाका स्वास्थ्य संस्थालाई डिजिटल रूपमा जोडेर विशेषज्ञ परामर्श उपलब्ध गराउने योजना रहेको बताइन्छ।

यस प्रकारको नेटवर्कमार्फत ग्रामीण स्वास्थ्यकर्मीले विशेषज्ञ चिकित्सकबाट मार्गदर्शन, टेलिराडियोलोजी सेवा तथा निरन्तर चिकित्सकीय प्रशिक्षण प्राप्त गर्न सक्ने सम्भावना देखिन्छ। साथै डिजिटल स्वास्थ्य अभिलेख प्रणालीमार्फत प्रदेशभर स्वास्थ्य सेवा व्यवस्थापनलाई पनि थप प्रभावकारी बनाउन सकिने अपेक्षा गरिएको छ।

‘सहयोगी र राम्रो नियत भएका चिकित्सक’
स्थानीय बासिन्दाहरूका अनुसार डा. खापुङको स्वभाव पनि उत्तिकै सरल र सहयोगी छ। जुम्लाका स्थानीय व्यवसायी पाण्डवले डा. खापुङको व्यक्तित्वबारे बोल्दै भने, ‘डा. खापुङ राम्रो चरित्र भएका र सहयोगी स्वभावका व्यक्ति हुन्। उहाँ सधैं अरूलाई मद्दत गर्न तयार रहनुहुन्छ। गरिब तथा आवश्यकतामा परेकालाई खाना वा अन्य आवश्यक सामान दिएर सहयोग गर्ने बानी उहाँमा छ।’

उनका अनुसार डा. खापुङ जनावरप्रेमी छन्। उनी कुकुरहरूलाई निकै माया गर्छन्। सडकमा रहेका कुकुरहरूलाई पनि खाना खुवाउने र हेरचाह गर्ने गरेको सबैले देखिरहेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सा विज्ञानका विद्यार्थीहरूले पनि उनलाई मेहनती, सहयोगी र असल चरित्रका चिकित्सक तथा शिक्षकका रूपमा लिने गरेको बताएका छन्। विद्यार्थीहरूका अनुसार उनले अस्पतालमा काम गर्ने क्रममा नयाँ पुस्ताका स्वास्थ्यकर्मीलाई सिकाउन र मार्गदर्शन गर्न सधैं उत्साहका साथ समय दिने गर्छन्।

निस्वार्थ सेवाको उदाहरण
डा. खापुङको सेवाको अर्को विशेषता भनेको उनको निस्वार्थ समर्पण हो। उनी कुनै राजनीतिक दलसँग आबद्ध नभई केवल पेशागत जिम्मेवारी र मानवीय सेवाको भावनाले प्रेरित भएर काम गरिरहेका स्थानीयहरू बताउँछन्।

दुर्गम कर्णालीमा विशेषज्ञ चिकित्सकको अभाव र कठिन परिस्थितिका बीच पनि डेढ दशकभन्दा बढी समयदेखि जुम्लामै बसेर सेवा दिनु आफैमा उल्लेखनीय उदाहरण भएको स्थानीयवासीको भनाइ छ।

कर्णालीमा स्वास्थ्य सेवाको पहुँच अझै चुनौतीपूर्ण रहे पनि डा. रोबिनजस्ता समर्पित चिकित्सकहरूको प्रयासले यहाँका नागरिकमा स्वास्थ्य सेवाप्रति भरोसा र आशा जगाइरहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार