अब समय आएको छ, मौनता तोड्ने, न्याय दिने र जनताको विश्वास जोगाउने। किनकि हाम्रो चीत्कार अब रोकिने छैन।
सरकार, मेरो फोन उठाऊ। आज म तिमीलाई रित्तो काख भएको आमाको चिच्याहट सुनाउन फोन गर्दै छु। बहिनीविहीन दिदी कराएको आवाज, भदैनीविहीन फुपुको आवाज र लक्ष्मीविहीन घरको शून्यता सुनाउन फोन गर्दै छु।
यसको जवाफदेही अब बन्नै पर्छ। त्यो हात सम्झ, जसको औँलामा कालो मसी लागेको थियो। त्यहीँ हातले मतदान गरेर तिमीलाई जिताएको थियो, आशा र विश्वासको भारी बोकेर।
हामीले सोचेका थियौँ, अब न्याय मिल्नेछ, अब देश सुरक्षित हुनेछ, अब छोरीहरू निडर भएर हिँड्न पाउनेछन्। तर आज जब अन्यायको अँध्यारो हाम्रो घरघरमा पसिरहेको छ, तिमी किन मौन छौ ?
हिजो मतदानको दिन हाम्रो हातमा कालो मसी थियो, आज त्यहीँ हात न्यायको याचना गर्दै तिमीतिर फैलिएको छ। जब कसैको घाँटीमा कठोर हात कसिन्छ, जब एउटा निर्दोष जीवन बलात्कार र हिंसाको सिकार हुन्छ, तब हाम्रो मनभित्रबाट चीत्कार उठ्छ।
त्यो चीत्कार केवल एक व्यक्तिको होइन, त्यो सम्पूर्ण समाजको पीडा हो। तर दुःखको कुरा, त्यो चीत्कार सत्ताको ढोकासम्म पुग्दा पनि सुनिँदैन। सरकार र सत्ता केवल कुर्सी होइन, त्यो जिम्मेवारी हो।
जनताको सुरक्षाको कसम खाएर तिमी त्यहाँ पुगेका हौ। तर जब सडकमा अन्याय हुन्छ, जब छोरीहरूको सुरक्षामाथि प्रश्न उठ्छ, तब तिमी किन ढिलो बोल्छौ? किन न्यायको बाटो यति लामो र कठिन हुन्छ?
हामी जनताले तिमीलाई जिताएका हौँ। त्यसैले आज हामी प्रश्न सोध्ने अधिकार पनि राख्छौँ। हाम्रो मौनता कमजोरी होइन, हाम्रो धैर्य हो।
तर जब धैर्यको सीमा नाघ्छ, त्यो आवाज चीत्कार बन्छ। आज त्यो चीत्कार देशभर गुञ्जिरहेको छ। न्याय चाहियो, सुरक्षा चाहियो, उत्तर चाहियो।
हाम्रो प्रश्न सरल छ, हाम्रो चीत्कार कहिलेसम्म? कहिलेसम्म हामी सडकमा उभिएर न्याय मागिरहने? कहिलेसम्म छोरीहरू डरको छायामा बाँचिरहने? सरकार, फोन उठाऊ। हाम्रो आवाज सुन। किनकि यो केवल एउटा घटना होइन। यो समाजको आत्मामा लागेको एउटा घाउ हो।
यदि आज पनि तिमी मौन बस्यौ भने इतिहासले तिमीलाई शक्तिशाली शासकको रूपमा होइन, जनताको पीडामा बहिरो बनेको सरकारको रूपमा सम्झिनेछ।
अब समय आएको छ, मौनता तोड्ने, न्याय दिने र जनताको विश्वास जोगाउने। किनकि हाम्रो चीत्कार अब रोकिने छैन। हामीले विगत छ महिना अघि घटेको त्यो दर्दनाक घटना देखेका छौँ। त्यो केवल एउटा परिवारको पीडा मात्र थिएन, त्यो सिङ्गो देशको पीडा बनेको थियो। त्यो बेला सरकार पनि अन्योलमा देखिन्थ्यो।
समाज आक्रोशित थियो र सडकदेखि सामाजिक सञ्जालसम्म न्यायको आवाज गुञ्जिएको थियो। तर समय बित्दै जाँदा प्रश्न अझै बाँकी छ, हाम्रो चीत्कार कहिलेसम्म?
आज फेरि यस्तै घटनाहरू दोहोरिँदै छन्। यो अब केवल एउटा व्यक्तिको कथा होइन, यो प्रत्येक छोरीको सुरक्षासँग जोडिएको विषय हो।
जब कुनै छोरी हिंसा र बलात्कारको सिकार हुन्छे, त्यो केवल उसको जीवनको पीडा हुँदैन। त्यो समाजको नैतिकता र राज्यको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न हो। यस्तो अवस्थामा सरकार के बोल्ने, के गर्ने भन्ने अन्योलमा बस्नु उचित हुँदैन।
बरु स्पष्ट कदम चाल्ने समय आएको छ। हाम्रो देशले आफूलाई प्रगतिशील र समानताको पक्षधर भन्छ। अझै गर्वका साथ हामी भन्छौँ, यो महिला प्रधानमन्त्री भएको देश हो। ।
तर विडम्बना के भने, यहीँ देशमा छोरीहरू दिनदिनै असुरक्षित महसुस गर्न बाध्य छन्। महिला नेतृत्व भएको देशमा पनि यदि महिलाहरू सुरक्षित हुन सकेनन् भने, त्यो केवल नेतृत्वको सवाल मात्र होइन, हाम्रो सम्पूर्ण प्रणालीको कमजोरी हो।
अब सोच्ने बेला आएको छ, कानून कडा बनाउने, दोषीलाई छिटो र निष्पक्ष सजाय दिने, र समाजमा चेतना फैलाउने कामलाई प्राथमिकता दिनुपर्छ। साथै, हरेक नागरिकले पनि जिम्मेवारी लिनुपर्छ, अन्यायको विरुद्ध बोल्ने, पीडितलाई साथ दिने, र हिंसालाई सहन नदिने।
यसको जिम्मेवारी स्वयं हामी आफैँ पनि लिन्छौँ। सरकारले दोषीलाई मृत्युदण्ड दिने व्यवस्था ल्याउँछ भने, हामी फेरि यो देशको हकहितका लागि बोल्नेछौँ। फेरि यो देशलाई नयाँ ढङ्गले लैजान हामी सबैको सल्लाह रहनेछ।
सरकार, यदि छोरी–चेलीले न्याय पाउनकै लागि मर्नु र मारिनुपर्छ भने, बलात्कार गरेर होइन। यदि यो देशमा छोरी–चेलीले न्यायको लागि मर्नुपर्छ भने तिम्रो संसदको ढोका अगाडि फाँसीको सजाय दिइयोस्।
हामी मर्न तयार छौँ, तर आफ्नो सपनालाई अङ्गालेर जब कुनै छोरी आफ्नो बाटोमा हिँडिरहेको बेला दाउ छोपेर उसलाई घाँटी थिचेर मार्नु र उसका लत्ताकपडा सहित उसको बेवारिसे मृत्यु हामी स्वीकार गर्न सक्दैनौँ।
सरकार, हामी यही न्यायको लागि तिमीसँग अन्तिम पटक हात फैलाउँछौँ। कि इनिशाको हत्याको लागि भनेजस्तो सजाय हुनुपर्छ। अपराधीलाई यदि यसो हुन सक्दैन भने इनिशा जस्तै कयौँ छोरीको मृत शरीर तिम्रो जिम्मामा हुनेछ।
अझ त हामी सम्पूर्ण नेपालीहरूले तिम्रो बेमतलबले आज कयौँ छोरीहरू यसरी बलात्कारको सिकार हुनुपर्ने अवस्था बुझ्नेछौँ। हामी जनताले तिमीलाई विश्वास गरेर सत्तामा पठाएका हौँ। आज त्यो विश्वास जोगाउने समय आएको छ।
छोरीहरूको सुरक्षा सुनिश्चित गर्नु केवल नारा होइन, राज्यको कर्तव्य हो। यदि अब पनि तिमी मौन बस्छौ भने हामी फेरि पनि सडकमा उत्रिन बाध्य हुनेछौँ। अब यदि उसो हो भने सरकार लज्जित भएर जिन्दगीभर यो देश बदल्ने सपना नदेख्न पनि अनुरोध गर्छौँ। अब प्रश्न फेरि त्यहीँ छ, सरकार, हामी यो चीत्कार कहिलेसम्म हेरेर बस्ने?














