मलाई पुतली खुब मन पर्थ्यो
सेता,राता, पहेँला बुट्टा दार पखेटा भएका
साना,ठुला, ठिक्कका, थरिथरिका
कति रमाइलो, उड्यो, घुम्यो, नाच्यो
थरिथरीका फूलमा बस्यो
पुतली जस्तो पो जिन्दगी त!
एकदिन आमाले
मेरो कपालमा रातो रिबन बाँध्दै गर्दा
भनेकी थिइन्
“ओहो!तँ त पुतली जस्तै भइस्”
म कम्ति फुर्केकी थिएँ र!
मलाई लाग्थ्यो ‘पुतली हुनु अरु भन्दा सुन्दर हुनु हो’
खुल्ला हुनु हो, स्वच्छन्द उड्न पाउनु हो,
माथि… माथि……सबै भन्दा माथि
निलो गगन र चिसो पवनमा घुम्न पाउनु हो,
एका बिहानै पुतली जसरी फुरफुर गर्दै
खेतका आली,धारा पधेरा चहार्दै
विद्यालय पुग्थेँ
नाँच्थे,गाउँथे,झुम्थे,उड्थे
मलाई म पुतली जस्तै सुन्दर लाग्थ्यो
एकदिन म विद्यालयबाट फर्किदै गर्दा
समायो कसैले मेरो पाखुरा
तान्यो पछाडि र थुन्यो मुख
टोक्यो गालामा, च्यात्यो कमिज
निकाल्यो फ्रक
त्यसपछि काट्यो मेरो पखेटा
लुछ्यो मेरो सुन्दरता
र बग्यो रगतको आहाल
भिज्यो जमिन,भिजे आखाँ
किचेर एक पुतली उड्यो अरिङ्गाल अर्को पुतली मार्न
म फेरि कहिल्यै उठ्न सकिनँ
त्यसपछि फेरि फुरफुरे पुतली हुन डर लागेको हो
नत्र मलाई पुतली खुब मन पर्थ्यो।















