बिहीबार, १४ फाल्गुन, २०८२

कविता :समयको साक्षी

प्रिय पिपल!
उष्णमा भरेर शीतल
उम्रेका अनेकौं कहानीहरु
तिमी पनि साक्षी हौ-
कि प्रश्न थुन्ने कारखाना !
वा वाचित ऋचामा उभिन्छौ ?

हजुरबाको ठेकान
बाहरूको रौनक-
दाइह‌रुको कथा
भाइहरुको चुटकिला
तिमी मौन छौ !
बिलाएर सम्पूर्ण कथा
बिलाए झैं भ्रुणहरु
पुत्र दर्शनमा !

अदम्य शाहस आएन होला!
प्रेतात्मा मानवमा पदापर्ण हुँदा
के तिम्रो लहरा रक्षक भएर उभियो
राँके जुलुसका राक्षसहरुसँग !
किचकन्नीका बथानहरुको
हाँसोमा रुम‌ल्लियौ कि –
युवाको यौवनसँग
यौनका कहानीसँग!

तिमीले मृत्यु पनि भोग्यौ
जस्तो भन्छन – मृत्यु नियालेँ
नजिकैबाट !
तिम्रो आँगनमा आउने मुर्दाहरु
चेतनाहीन छाया
कसले सिकाए मृत्युको मर्म
जीउँदाहरूले कि मुर्दाहरूले ?

बालक्रीडा पनि भोग्यौ
स्वयम्‌मा जीवन उमार्यौ
वयस्कहरू पनि फनफनी घुमे वरिपरि
जो बालकै थिए !
अस्ताए – डाँडाको बेलसरी
झुल्किए तिम्रै आँगनमा
के तिमी संवेद‌नाले काम गर्छौ ?

जरामा धूपबत्ती बले
हाँगामा जीसस झुण्डिन आए
लाटोकोसेरोले ध्यान गरे
चिबेले काग लखेटे
चिलले परेवा चिरे
तप ! तप ! तप ! तप !
तिम्रो आँगनमा रगत तप्कियो
भन – तिमी दुःखमा छट्पटायौ ?

अँ –
तिमी त साक्षी पनि बस्यौ
यो परिवेशको !
त्यो समयको !
बद‌लिदो युगको !
तिम्रो आयुको !
हाम्रो सत्कर्म – कुकर्मको !
भन कसरी हेर्छौ यो समय-
समय त्रस्त भएको मौस‌म
ति चिसा रातहरू !

तिम्रै आँगन भएर गए होलान बामनी बज्यै –
खोज्दै हिडेका बाजेहरु !
मुण्डन गरिएका नातिहरु !
छाप्री समातेका पनातिहरु !
सगौरव हिडने सन्ततिहरु !
फर्फराए होलान्
प्रथाका ध्वजापताकाहरु !
पिडाका पर्वतहरू
अपमानका भिरहरू
आरोपका बृक्षहरू
के मात्र देखेनौ –
सर्वाङ्‌ग नाङ्‌गाहरु !
हर ठाउमा ठडिने बाङ्‌गाहरु
गङ्‌गाहरू- देवव्रतहरू !
भोक – शोक – परलोक
कतिसम्म लुकाउछौ ?

बामनी बज्यैको बाटो यहि छ
पुण्य वा श्रापित माटो यहि छ
दुःख छ पिडाको पाटो यहि छ
यहि बाटो हिडने बज्यैहरूको चित्कार –
रगतको टाटो पनि यहि छ –
तिम्रै माथिबाट उठ्‌योहोला
दुर्गन्धको धुवाँ
तिम्रो जरास‌म्मै पुग्यो होला अश्रु रस
तिमी मौन भयौ – को बताउँछ अब !

बागनी बज्यैको चित्कार सुनेको
पटपटी फुटेको शरिर देखेको
तिमी सँगै त हो बाज्याले उत्तर खोजेको
तिमीमा ध्यानस्थ भएको
तिम्रै आँगन‌मा चित्कार छोडेको
बास्नादार भोजन अर्पण गरेको
तिम्रै समिपमा घण्टीको करतल ध्वनी
किन जागेनौ शङ्खनाद‌मा
कि विरह‌को सनाही बजिरहन्छ
भित्र – भित्र ! भित्री गहिराइमा !
कति लुकाउछौ – केहि त देखाउ !
तिमी इतिहास हौ – वर्तमान हौ

बाजेको तन्त्र
तिम्रो मौन मन्त्र
बामनी बज्यैको चित्कार
प्रथामा परिबन्ध
म के महसुस गरुँ –
तिमी भएरै
नामेट अस्तित्व !

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार