कर्णाली प्रदेशका विभिन्न जिल्ला जोड्ने राजमार्गहरूको भौतिक अवस्था, सुधार सम्भावना र दीर्घकालीन महत्वका सडक सञ्जालबारे अध्ययन गर्न सरकारी प्राविधिकहरुको विज्ञ टोलीले कर्णालीका विभिन्न क्षेत्रमा स्थलगत भ्रमण गरिरहेको छ।
टोलीको नेतृत्व सडक विभागका सुपरिन्टेन्डेन्ट इन्जिनियर (सह–सचिव) ई. सौजन्य नेपालले गरेका छन्। टोलीमा ई. निवेश आचार्य, ई. रविन्द्र श्रेष्ठ तथा अन्य प्राविधिक सदस्यहरू सहभागी छन्।
यो टोलीको मुख्य उद्देश्य कर्णाली प्रदेशका राजमार्गहरूको वस्तुगत अवस्था बुझ्ने, तत्काल मर्मत गर्न सकिने सडक पहिचान गर्ने, नयाँ निर्माण आवश्यक क्षेत्र निर्धारण गर्ने तथा दीर्घकालीन सडक सञ्जाल विकासका लागि रणनीति तयार गर्नु रहेको यातायात तथा पूर्वाधार विज्ञ ई. अंङ्गलाल रोकायाले बताए।
उनका अनुसार यस अध्ययनका आधारमा एसियाली विकास बैंक, विश्व बैंक लगायत दातृ निकायहरूका लागि प्रतिवेदन तयार गरिनेछ। साथै आगामी आर्थिक वर्षको सडक पूर्वाधार विकास कार्यक्रमको पूर्वतयारीमा समेत यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विज्ञ टोलीमा विभिन्न क्षेत्रका विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको छ। जसमा पुल्चोक ईन्जिनियरिङ कलेजका सिनियर प्राध्यापक तथा पूर्वाधार विज्ञ ई. डा. पदम बहादुर शाही, पूर्वाधार तथा यातायात विज्ञ ई. अङ्गलाल रोकाया, सहरी योजनाकार ई. महेन्द्र राज खत्री रहेका छन्।
प्राध्यापक शाही भन्छन्, ‘कर्णालीका सडकहरू केवल यातायातको साधन मात्र नभई आर्थिक, सामाजिक र पर्यटन विकासका मेरुदण्ड हुन्। योजनाबद्ध ढंगले लगानी र मर्मत गर्न सके यहाँको समग्र विकासमा ठूलो योगदान पुग्छ।’
उनले सडकको गुणस्तर, दीर्घकालीन टिकाउपन र वातावरणमैत्री संरचनामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
अध्ययन टोलीले सम्बन्धित स्थानीय निकाय, सरोकारवाला संस्था तथा समुदायसँग अन्तरक्रिया गर्दै सडकको अवस्था, समस्या र सम्भावनाबारे जानकारी संकलन गरिरहेको सहरी योजनाकार ई. महेन्द्र राज खत्रीले जानकारी दिए।
‘प्राप्त सुझाव र जानकारीका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई नीतिगत तथा प्राविधिक सुझाव पेश गरिनेछ। जसले आगामी दिनमा कर्णालीका राजमार्गहरुलाई राष्ट्रिय राजमार्गको तहमा पर्याउन सकियोस्,’ उनले भने।
उनका अनुसार यो कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईंको विशेष पहलमा अघि बढाइएको हो। मन्त्री चौलागाईंको नेतृत्वमा कर्णालीको सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै दीर्घकालीन सुधार अभियान सुरु गरिएको बताइएको छ।
अध्ययनबाट प्राप्त तथ्य र सुझावका आधारमा कर्णाली प्रदेशका राजमार्गहरूको सुधार, स्तरोन्नति र विस्तारमा नयाँ गति आउने अपेक्षा गरिएको यातायात तथा पुर्वाधार विज्ञ रोकायाले थपे।
उनका अनुसार यसले व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसर विस्तारमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
उनले भने, ‘यो अध्ययन कर्णालीको सडक विकासका लागि मार्गदर्शक दस्तावेज बन्नेछ र दातृ निकायको सहयोग सुनिश्चित गर्न महत्वपूर्ण आधार तयार गर्नेछ।’
यसरी, सरकारी टोलीको सक्रिय पहल र विज्ञहरूको सहभागिताले कर्णाली प्रदेशको पूर्वाधार विकासमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको सहरी योजनाकार खत्रीको बुझाई छ।















