बुधबार, २१ माघ, २०८२

देशलाई परिवर्तन चाहिएको छ,तर नेतालाई कुर्सी

म जेन्जी पुस्ताको एक युवक हुँ। म त्यो पुस्ता हुँ, जसले मोबाइल र इन्टरनेटसँगै राजनीति बुझ्न सिक्यो। म त्यो पुस्ता हुँ, जसले पुराना भाषणमा होइन, परिणाममा विश्वास गर्न चाहन्छ। तर यहीँ पुस्ताले सबैभन्दा धेरै निराशा भोगेको छ।

देश बद्लियो भन्नत धेरैले भन्छन्। व्यवस्था फेरियो, संविधान फेरियो, शासन प्रणाली फेरियो। तर आम नागरिकको जीवनमा खासै केही फेरिएको छैन। आज पनि युवाको हातमा प्रमाणपत्र छ तर काम छैन, युवाको आँखामा सपना छ तर भविष्य अन्योलमा छ, र जनताको हातमा मत छ तर भरोसा छैन। यहीँ यथार्थभित्र उभिएर हेर्दा एउटा सत्य स्पष्ट देखिन्छ।देशलाई परिवर्तन चाहिएको छ, तर नेतालाई कुर्सी।

विगतका दशकयता नेपालमा राजनीति विकासको साधन होइन, विभाजनको कारण बन्दै गएको छ। मेरो पार्टी, तेरो पार्टी भन्ने सोचले समाजलाई यति गहिरो रूपमा बाँडेको छ कि आज एउटै घरका दाजुभाइबीच बोलचाल छैन्। साथी साथीबीच विश्वास छैन। राजनीतिक विचार फरक हुनु स्वाभाविक हो, तर यहाँ विचारभन्दा माथि पार्टीको अन्धभक्ति राखिएको छ। बहस गर्नुपर्ने ठाउँमा गाली छ, प्रश्न गर्नुपर्ने ठाउँमा आरोप छ। राजनीति जनतालाई जोड्ने सेतु हुनुपर्ने हो, तर आज फुटाउने हतियार बनेको छ।

राजनीतिको मूल उद्देश्य जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो। तर आजको राजनीति परिवर्तनका लागि होइन, सत्ता टिकाउन र कुर्सी जोगाउन केन्द्रित देखिन्छ। चुनावका बेला देश, जनता, भविष्यको कुरा गरिन्छ। चुनाव जितेपछि सत्ता, सुविधा, शक्ति र स्वार्थको खेल सुरु हुन्छ। पाँच वर्ष जनतालाई सम्झिने समय हुँदैन, तर पाँच दिन चुनाव नजिकिँदा जनताको घरदैलो खोजिन्छ। यहीँ कारण हो। भाषण र व्यवहारबीचको दूरी दिनप्रतिदिन बढ्दै गएको छ।

म जेन्जी पुस्ताको एक युवक हुँ। म त्यो पुस्ता हुँ, जसले मोबाइल र इन्टरनेटसँगै राजनीति बुझ्न सिक्यो। म त्यो पुस्ता हुँ, जसले पुराना भाषणमा होइन, परिणाममा विश्वास गर्न चाहन्छ। तर यहीँ पुस्ताले सबैभन्दा धेरै निराशा भोगेको छ। शिक्षा लियो, तर रोजगार पाएन। सीप छ, तर अवसर छैन। चाहना छ, तर वातावरण छैन। त्यसैले आज युवा पुस्ता देश छोड्न बाध्य छन्। रहरले होइन, परिस्थितिले। बिदेश जानु सफलता होइन, बाध्यता बनेको छ। कतिपय युवाहरू त आधुनिक गुलामीमै फसिरहेका छन्।

आफ्नो देशमा काम नलाग्ने ठहरिएर अरूको देशमा पसिना बगाउन बाध्य। यहीँ पीडाको चापले केही दिनअघि नेपालमा जेन्जी आन्दोलन देखियो। त्यो आन्दोलन कुनै पार्टीको झण्डामुनि थिएन, कुनै नेताको आदेशमा थिएन। त्यो आन्दोलन निराशा, आक्रोश र आशाको मिश्रण थियो। सडकमा उत्रिएका युवाहरू कुर्सी मागिरहेका थिएनन्, उनीहरू प्रश्न सोधिरहेका थिए। “हामीले पढेर के पायौं?”, “हाम्रो भविष्य कहाँ छ?”, “हामी सधैं बाहिरिनै जानुपर्ने हो?” यी प्रश्नहरू आन्दोलनको मूल आत्मा थिए। त्यो आन्दोलन देखेर डराउने होइन, सुन्ने आँट गर्नुपर्थ्यो। किनकि त्यो आवाज देशप्रेमबाट जन्मिएको थियो, अराजकताबाट होइन।

तर दुर्भाग्य, त्यो आन्दोलनलाई पनि कतै अव्यवस्थित भनियो। कतै उक्साइएको आरोप लगाइयो। सधैं जस्तै, प्रश्न उठाउनेलाई दोषी बनाइयो। यहाँ सत्य बोल्नु अपराध बन्दै गएको छ। देशको पक्षमा बोल्दा देशद्रोहीको ट्याग लगाइन्छ। भ्रष्टाचारको विरोध गर्दा चरित्र हत्या गरिन्छ। चुप लाग्नु सुरक्षित भएको छ। बोल्नु जोखिम। के यहीँ हो हामीले खोजेको स्वतन्त्रता? के यहीँ हो गणतन्त्रको सार?

आज जन्मिने बालकले देशको अवस्था बुझ्न पाएको छैन, तर उसले जन्मिँदै ऋणको भारी बोकेको छ। राज्यले लिएको ऋण, गलत नीतिमा खेर गएको बजेट, भ्रष्टाचारले चुहिएको पैसा। यी सबैको भार भविष्यको पुस्तामाथि थोपरिएको छ। उसले गल्ती केही गरेको छैन, तर उसले भोलि तिर्नुपर्ने मूल्य आज नै तय भइसकेको छ। यो केवल आर्थिक समस्या होइन, नैतिक असफलता पनि हो।

राजनीति आज मुद्दामा होइन। भावनामा खेलिरहेको छ। कहिले धर्मको नाममा, कहिले जातको नाममा, कहिले क्षेत्रको नाममा भोट मागिन्छ। विकास, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता मुद्दा भाषणको अन्त्यतिर हराउँछन्। जनतालाई सोच्न होइन, उत्तेजित हुन सिकाइन्छ। परिणामस्वरूप योग्य नेतृत्व होइन, चर्को भाषण गर्ने अनुहार अगाडि आउँछ। यहीँ कारण हो। बारम्बार उहीँ गल्ती दोहोरिन्छ। हरेक चुनावमा उहीँ वाचा दोहोरिन्छ। रोजगारी दिन्छौं, देश बनाउँछौं, सुशासन ल्याउँछौं। तर रोजगारीको अर्थ बिदेश जानु भएको छ। यदि आफ्नै देशमा काम नपाएर अरूको देशमा गएर दुःख गर्नु नै रोजगारी हो भने त्यो उपलब्धि होइन, राज्यको असफलता हो। देश युवालाई निर्यात गर्ने कारखाना बनेको छ । हामी त्यसलाई सामान्य ठानिरहेका छौं।

एक लिटर पेट्रोल, दुई छाक मासुभात, एक झोला चामल यत्तिमै हामी आफ्नो मत साट्न तयार हुन्छौं। हामी भुल्छौं कि मत केवल कागज होइन, भविष्यको निर्णय हो। आजको सस्तो प्रलोभन भोलि महँगो पछुतो बन्छ। पुराना दललाई धेरै मौका दिइयो। समय, शक्ति र विश्वास दिइयो। तर परिणाम उहीँ भ्रष्टाचार, बेरोजगारी, निराशा र बढ्दो ऋण।

अब समय आएको छ। परिवर्तन चाहियो भनेर मात्र होइन, परिवर्तनको दिशा तय गर्ने।मतदान अधिकार मात्र होइन, जिम्मेवारी हो। यो पटक कुनै पार्टीको झण्डा हेरेर होइन। आफ्नो विवेक हेरेर निर्णय गर्नुपर्छ। यो पटक केवल आफ्नो लागि होइन, ती बालबालिकाका लागि सोच्नुपर्छ, जो आज बोल्न सक्दैनन्। बिदेशी भूमिमा पसिना बगाइरहेका दाजुभाइ दिदिबहिनीको सम्मानका लागि सोच्नुपर्छ।

कुनै पार्टीको कार्यकर्ताको हैसियतले होइन, नेपाल आमाको सुपुत्रको हैसियतले सोच्नुपर्छ। हामीलाई परिवर्तन चाहिएको छ। हामीलाई देशमै केही गर्ने अवसर चाहिएको छ। हामीलाई देशप्रेमी, देशको लागि सोच्ने नेतृत्व चाहिएको छ।देश भविष्य खोजिरहेको छ। र त्यो भविष्य हामीले आज गर्ने निर्णयबाट सुरु हुन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार