सोमबार, १२ माघ, २०८२

लावण्य देशको इतिहास

अब अर्को प्रश्न उठ्छ, के शिवले राज चलाएका थिए त ? यस विषयमा खोज्दा शिवले कैलाश पर्वतमा बसेर आफ्ना गणहरू र दिक्पालहरूलाई सम्पूर्ण प्राणीको संरक्षण गर्न लगाएका थिए।

सन्तान धर्मालम्बी समाजमा आजभोलि स्वस्थानी व्रतकथा सुरु भइरहेको छ। यो कथा भगवान् शिवसँग सम्बन्धित रहेको छ भने लावण्य देशका राजा नमराजको प्रसङ्ग पनि जोडिएको छ। स्वस्थानी व्रतकथाले श्रीमान्–श्रीमती तथा छोरा–आमाबीचको सम्बन्धलाई उच्च, पवित्र र भावनात्मक तथा अजम्बरी हुन्छ भन्ने सामाजिक सन्देश दिएको छ।

के स्वस्थानी व्रतकथा केवल काल्पनिक हो ? या यसभित्र इतिहास पनि लुकेको छ ? यस सम्बन्धमा ठोस निष्कर्ष निकाल्न सकिएको देखिँदैन। प्रायः लावण्य देशको मजाक उडाउने, व्यङ्ग्य गर्ने र हाँसोमा उडाउने गरेको पाइन्छ। यसले कतै हामीले आफ्नो इतिहास र परम्पराको अपमान गरेका त छैनौँ ? जसलाई आफ्नो विगतको चासो हुँदैन, त्यसको भविष्य पनि पतन हुन्छ र अस्तित्व नष्ट हुन्छ। त्यसैले हामीले स्वस्थानीभित्र लुकेको इतिहास के हो भनेर खोजी गर्ने प्रयास गरेका छौँ।

यसै सिलसिलामा पहिला शिवको शासनको कुरा खोज्दा भगवान् शिवले आफ्ना क्षेत्रपाल दिक्पालहरूसँग कैलाश पर्वतबाट लोकको संरक्षण गरेको पाइन्छ। बेलाबेलामा आफ्ना अंश अवतारका रूपमा राजा जन्माउने र राज्य सञ्चालन गर्न लगाउने, जसले मानव समाजमा प्रत्यक्ष सहभागिता देखियोस् भन्ने उद्देश्य रहेको पाइन्छ। अदृश्य शक्तिमा देवताहरूको भूमिका रहने गरेको देखिन्छ।

मानव राजालाई ठूलो सङ्कट आइपर्दा देवताहरू साथमा रहने, उद्धार देवताले गर्ने परम्परा हालसम्म कायमै छ। कसैलाई सङ्कट पर्नासाथ कुलदेवता आइपुग्छन्, राज्यका प्रहरी पुग्दैनन्। राज्यले दिन नसकेको न्याय देवताहरूले दिने गर्छन्। प्राकृतिक विपत्तिका समयमा पनि राज्यभन्दा देवताले उद्धार गर्ने गरेका छन्। किनकि आर्य समाज विशेष गरी हिमालय क्षेत्रमा देवताको राज थियो, ती देवताहरूका पनि महादेवता भगवान् शिव हुन्।

त्यसैले मध्य हिमाल कैलाश पर्वतको जलप्रवाह क्षेत्र पूर्वतर्फ बग्ने ब्रह्मपुत्र नदी र पश्चिमतर्फ सतलज नदी र पूर्वतर्फ बग्ने कर्णाली जलप्रवाह क्षेत्र शिवको विचरण क्षेत्र हो। तसर्थ भारतको भूभागको कुरा नगरी नेपालको भूगोलमा मात्र हेर्दा हलसो महादेव, खोटाङ, नीलकण्ठ पर्वत, गणेश हिमाल, गोसाइँकुण्ड रसुवा, पशुपति क्षेत्र, डोलेश्वर, हरिहर तनहुँ, मुक्तिनाथ मुस्ताङ, छायानाथ मुगु, खार्पुनाथ हुम्ला, ज्वाला क्षेत्र दुल्लु, डुङ्गेश्वर दुल्लु, वैजनाथ अछाम, खप्तड पाटन, वासुकेदार डोटी, भागेश्वर डोटी, कपल्ले केदार डोटी, बडीकेदार डोटी, लानाकेेदार डोटी, मुख्य कैलाश पर्वत र केदारनाथ जस्ता शिवधाम तथा शिवका गण रहेको मानसखण्ड भएकाले यो समग्र भूमि शिवभूमि हो। त्यसैले यो देवभूमि हो। यही भूमिसँग सम्बन्धित इतिहासको नाम हो, स्वस्थानी।

शिव भगवान्सँग सम्बन्धित स्वस्थानीमा उल्लेखित लावण्य देश के हो ? यो देश थियो कि थिएन ? थियो भने कहाँ थियो ? लावण्य देश किन भनियो ? यी प्रश्नहरूको खोजी गर्ने प्रयास गरिएको छ। किनकि लावण्य देश मजाक र व्यङ्ग्यको विषय बन्न गएको छ। लावण्य देशको प्राचीन इतिहास स्वस्थानी पुस्तकबाहेक अन्यत्र खासै पाइँदैन। तर मध्यकालीन इतिहास, स्थानीय देवीदेवताको पडेली तथा खशान क्षेत्रका जनबोलीबाट लावण्य देश थियो भन्ने देखिन्छ। शब्द अपभ्रंश हुँदा केही फरक परेको पनि पाइन्छ।

मध्यकालीन इतिहासमा खश साम्राज्य सिजाको इतिहासबाट के देखिन्छ भने राजा जितारी मल्लको राज्यकाल वि.सं. १३४४ देखि १३५६ सम्म रहेको र उनको राज्य सीमा पश्चिमी लावण्य देशसम्म रहेको उल्लेख पाइन्छ। पश्चिमी लावण्य क्षेत्रलाई स्पीती लदहील भनिएको छ। स्पीती भनेको देवताको देश, रत्नको देश, खनिजको देश भन्ने बुझिन्छ भने लदहीलले पनि देवताको देश तथा भूत–प्रेत भगाउने देश भन्ने अर्थ दिन्छ। यसबाट मध्य हिमाल देवताको देश तथा खनिजको देश हो भन्ने मान्न सकिन्छ। खनिजलाई लवण भनिन्छ। लवणको देश नै लावण्य देश हो।

लवणको अत्यधिक सम्भावना भएको स्रोत कहाँ हो भन्ने हेर्दा लवणको प्रचुर स्रोत हिमाल नै हुन्। हिमाल केवल हिउँ जम्ने चुचुरा मात्र नभई फोस्फोरस, क्लोरीन, म्याङ्गानिज, आयोडिन, आर्सेनिक, निकेल, फलाम, तामा, सुन जस्ता खनिजले भरिपूर्ण छन्। यी सबै खनिज लवण हुन्। लवण भएको भूभागलाई लावण्य देश भनिएको हो, जुन देवताको देश हो र देवताका महाराज शिव हुन्।

त्यसो भए पश्चिम स्पीती लदहील मात्र लावण्य देश हो त ? होइन। शिवको राज जहाँजहाँ थियो, त्यहाँ हिमाल थिए र जहाँ हिमाल थिए, त्यहाँ खनिज थिए। खनिज भएको भूमि नै लावण्य भूमि हो। त्यसैले नेपाल पूरै लावण्य देश हो। यो कुरा सिजापति राजा जितारी मल्ल र उनका भाइ जालन्धरीको इतिहासले स्पष्ट पारेको छ। थप प्रमाणका रूपमा देवताका पडेलीहरू पनि छन्।

सिजामा मानिने एक देउतीको पडेलीमा लावण्य देशको उल्लेख यसरी गरिएको छ,
लावन्या देशअ, विकन्या चौडअ
झिम्रिका कुनाअ, गैरान खर्कअ, रासिन्या वनअ
बाह्र भाइ मष्टाऔ, नौ दुर्गा भवानीऔ

यसबाट के देखिन्छ भने लावण्य देश न पश्चिममा मात्र थियो, न काठमाडौंको शालीनदीमा मात्र। लावण्य देश एक साम्राज्य थियो जहाँ देवताको राज थियो। शिव महाराज थिए र देवताहरू उनका गण थिए। कालान्तरदेखि मध्यकालीन समयसम्म लावण्य देशको चर्चा हुँदै आएको पाइन्छ। आजकल खशान क्षेत्रमा जग्गा जमिनलाई ‘रावन्याको माटो’ भन्ने चलन छ, जुन लावण्य शब्दको अपभ्रंश हुन सक्छ।

अब अर्को प्रश्न उठ्छ, के शिवले राज चलाएका थिए त ? यस विषयमा खोज्दा शिवले कैलाश पर्वतमा बसेर आफ्ना गणहरू र दिक्पालहरूलाई सम्पूर्ण प्राणीको संरक्षण गर्न लगाएका थिए। कुनै समय इन्द्रलाई जिम्मेवारी दिए, त कहिले म्लेच्छ जातिमा उत्पन्न राजा पृथुलाई आफ्ना अंश अवतारका रूपमा राज्य सञ्चालन गराए। राजा पृथुको समयमा कृषि युग उत्कर्षमा पुगेको थियो। पृथ्वीबाट अन्न उत्पादन गराएकाले पृथ्वी दुहिएको भन्ने कथन पाइन्छ।

महाभारतकालीन समयमा भगवान् शिव पशुपतिमा गई श्लेषान्त वनमा मृगको रूप धारण गरी बसे। किराँतको रूप लिएर किराँतेश्वर बने। अर्जुनसँग भएको युद्ध, शिवलिङ्गमा चढाइएको फूल देखेर अर्जुनले शिवलाई चिनेको प्रसङ्ग, वरदान प्राप्त गरेको कथा इतिहासमा उल्लेखित छ।

पछि वैशालीका राजाले पशुपतिको आराधना गरेपछि शिव र गुहेश्वरी माताको आशीर्वादले पशुपतिनगरमा हजार वर्ष राज गर्ने वर पाएको उल्लेख पाइन्छ। शिव र देवताहरू काशी हुँदै हिमालतर्फ गएको र पशुपतिनगर वैशालीका राजाको हातमा गएको इतिहास पनि पाइन्छ। शिवको राज चल्ने कुरा लिच्छवी कालसम्म देखिन्छ।

त्यसैले स्वस्थानी इतिहास काल्पनिक होइन र लावण्य देश पनि काल्पनिक होइन। शिवले राजकाज गरेको कुरा पनि पूर्ण रूपमा अस्वीकार गर्न मिल्दैन।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार