शाही जुम्लाबाट नेपाली कांग्रेसको इतिहासमै पहिलो पटक संविधान सभा निर्वाचन जित्ने नेता हुन्। दोस्रो संविधान सभा निर्वाचनमार्फत संविधान निर्माणकर्ताको सूचीमा उनको नाम र हस्ताक्षर दर्ज छ।
नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन्।
जुम्ला र समग्र कर्णालीको राजनीतिमा लामो समयदेखि सक्रिय शाहीलाई कांग्रेसले राष्ट्रिय सभा जस्तो गरिमामय जिम्मेवारीका लागि अघि सारेको छ।
शाही जुम्लाबाट नेपाली कांग्रेसको इतिहासमै पहिलो पटक संविधान सभा निर्वाचन जित्ने नेता हुन्। दोस्रो संविधान सभा निर्वाचनमार्फत संविधान निर्माणकर्ताको सूचीमा उनको नाम र हस्ताक्षर दर्ज छ।
जुम्ली जनताले उनलाई दिएको त्यो जिम्मेवारी उनले संविधान निर्माणमार्फत पूरा गरेका छन्, जसलाई उनी आफ्नो जीवनको सबैभन्दा ठूलो राजनीतिक उपलब्धि मान्छन्।
पछिल्लो समय केही राजनीतिक वृत्तमा उनलाई ‘बागी उम्मेदवार’ का रूपमा चित्रण गर्ने प्रयास भए पनि शाही त्यसलाई स्पष्ट रूपमा अस्वीकार गर्छन्। उनले विभिन्न अन्तर्वार्तामा आफू कहिले पार्टीविरुद्ध नउभिएको प्रष्ट पारेका छन्।
‘म स्वतन्त्र बागी होइन, पार्टीकै संस्थागत निर्णयअनुसारको वैकल्पिक उम्मेदवार थिएँ,’ शाही भन्छन्। तत्कालीन केन्द्रीय नेतृत्व र स्वर्गीय नेता भीमप्रसाद श्रेष्ठको उपस्थितिमा भएको निर्णयअनुसार आफू वैकल्पिक उम्मेदवार बनेको उनको दाबी छ।
शाही आफूलाई राजनीतिमा प्रचारभन्दा काममा विश्वास गर्ने नेता ठान्छन्। संविधान सभामा रहँदा उनले जुम्लाको दीर्घकालीन विकासका लागि ऊर्जा क्षेत्रलाई मुख्य आधार माने।
आर्थिक वर्ष २०७१/०७२ को बजेटमा जुम्लामा पाँच मेगावाट विद्युत् उत्पादन गर्ने व्यवस्था गरिनु उनको निरन्तर पहलको परिणाम थियो। योजना कार्यान्वयनमा ढिलाइ भएपछि उनले सर्वोच्च अदालतसम्म पुगेर कानुनी लडाइँ लडे। विद्युत् उत्पादन गर्न सरकारलाई परमादेश जारी हुनु उनको संघर्षको ठोस उपलब्धि मानिन्छ।
उनका अनुसार जुम्लामा विद्युत् विकास नहुनु भनेको उद्योग, रोजगारी र समृद्धिको ढोका बन्द हुनु हो। त्यसैले राष्ट्रिय सभा सदस्य बनेपछि पनि आफ्नो प्राथमिकता उर्जाकै क्षेत्रमा रहने उनको धारणा छ। ‘म पद र भत्ताका लागि राजनीतिमा आएको होइन,’ उनी भन्छन्, ‘अधुरा काम पूरा गर्न र जुम्ली जनतासँग गरेका प्रतिबद्धता निभाउन आएको हुँ।’
शाहीको पहलमा जुम्ला–रारा सडकखण्ड, उर्थु पुल, छिनासँगु पुल, ताम्ती जाने कुडारी पुलजस्ता पूर्वाधार परियोजनाहरू अघि बढेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ३०० शय्याको भवन निर्माण पनि उनको सक्रियतासँग जोडिन्छ।
यस्ता कामहरू उनले कहिल्यै ठूलो प्रचारका रूपमा अघि सारेनन्, तर आवश्यकता पर्दा तथ्यसहित प्रस्तुत गर्न हिच्किचाउँदैनन्।
गठबन्धन राजनीतिमा पनि शाही स्पष्ट र सन्तुलित दृष्टिकोण राख्छन्। गठबन्धनमा दलहरू इमानदार भएमा निर्वाचन जितिने दाबी गरेका उनी प्रदेश सभा निर्वाचन २०७९ पराजित भएका थिए।
राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा पनि गठबन्धनलाई संस्थागत रूपमा सफल बनाउनु सबै दलको साझा दायित्व भएको उनी बताउँछन्।
अनुभव, निरन्तरता र संस्थागत राजनीतिमा विश्वास गर्ने शाहीको यात्रा अब राष्ट्रिय सभातर्फ मोडिएको छ। उम्मेदवार बन्दै गर्दा उनले राष्ट्रिय सभा सदस्यको रुपमा कर्णालीका मुद्दालाई राष्ट्रिय तहमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।














