बुधबार, ३० पुष, २०८२

अष्ट्रेलियन नागरिक ग्याबिनको सहयोगले चिटिक्क हिमा आवासीय विद्यालय

अष्ट्रेलियाको सरकारी विद्यालयमा कार्यरत ग्याबिन पछिल्लो समय नेपालका दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा आफैँ पुगेर सहयोग गरिरहेका छन्।

मकारी अष्ट्रेलियन नागरिक ग्याबिन म्याको म्याकोको एकल सहयोग हुँदा विकट हिमाली भेगको हिमा गाउँपालिकामा अवस्थित हिमा आवासीय विद्यालय यतिबेला नयाँ श्रृङ्गारिएको छ।

विद्यालयको भौतिक संरचना, शैक्षिक सामग्री र सिकाइ वातावरणमा ऐतिहासिक सुधार आएको छ। यो परिवर्तन सहयोग, समन्वय र साझा प्रयासको परिणाम हो।

विद्यालयका कोठामा पिफर्म र कार्पेट राखिएको छ। चारवटा कोठाका लागि ल्याइएका पिफर्म र कार्पेट डबल परेपछि विद्यार्थी बस्ने आवासमा समेत प्रयोग गर्न मिलेको छ।

यसले विद्यार्थीको बसाइ सुरक्षित, सहज र न्यानो बनाएको छ। विद्यालय पूरै रंगरोगन गरिएको छ। भित्ताहरू रंगीन छन्। कोठाको आकर्षण निकै बढेको छ।

यसले बालबालिकामा विद्यालयप्रतिको रुचि बढाएको हिमा आबासीय विद्यालयमा अध्ययनरत छात्रा गिता योगीले बताइन्।

विद्यालयमा एउटा अत्याधुनिक पुस्तकालय निर्माण गरिएको छ। जहाँ ५० लाख रुपैयाँभन्दा बढी मूल्यका किताब छन्।

७ सय थान बाल साहित्य तथा शैक्षिक पुस्तक उपलब्ध रहेको काठमाडौं मन्टेस्वरीका प्रमुख आनन्द देवकोटाले जानकारी दिए।

यसले बालबालिकाको पढ्ने बानी विकास गर्ने उनको भनाइ छ। उनले भने, ‘जुम्लाको हिमा आवासीय विद्यालयमा काम गर्ने असाय बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन ग्याबिनले ठूलो सहयोग गर्नु भएको छ।’

मन्टेस्वरी शिक्षाका लागि आवश्यक सामग्री ल्याइएको छ। स्टेशनरी सामग्री पर्याप्त छन्। ३२ वटा अत्याधुनिक डेस्क–बेन्च राखिएका छन्।

यी सामग्री काठमाडौंबाट जुम्ला ल्याउन मात्रै १ लाख २० हजार रुपैयाँ खर्च लागेको अग्रज पत्रकार तथा राजनीतिकर्मी मनऋषि धितालले बताए।

हिमा आवासीय विद्यालयका लागि यो सहयोग जुटाउन धितालले नै ग्याबिनसँग समन्वय गरेका छन्। ‘यो साह्रै उपलब्धिपूर्ण काम हो,’ उनले भने, ‘शिक्षामा गरिएको लगानी दीर्घकालीन हुन्छ। ग्याबीन जस्तो मनकारी साथीप्रि आभार प्रगट गर्न चाहन्छु।’

धितालका अनुसार ग्याबिनले पुस्तक बाहेक हिमा आवासीय विद्यालयका लागि १३ हजार डलर बराबरको नगद तथा सामग्री सहयोग गरेका छन्। ‘यसले विद्यालयको मुहार फेरेको छ,’ उनले थपे।

काठमाडौं मन्टेस्वरीका देवकोटाका अनुसार ग्याबिनले हालसम्म नेपालका १२ वटा विद्यालयमा सहयोग गरिसकेका छन्। ‘शिक्षामा लगानी भनेको भविष्यमा लगानी हो,’ उनले भने, ‘हिमा आवासीय विद्यालयमा भएको सुधार उदाहरणीय छ।’

अष्ट्रेलियाको सरकारी विद्यालयमा कार्यरत ग्याबिन पछिल्लो समय नेपालका दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा आफैँ पुगेर सहयोग गरिरहेका छन्।

पुग्ने र सहयोग जुटाउने मात्रै होइन आफै काममा समेत खटिएको देख्दा अचम्मित भएको अग्रज पत्रकार धितालले बताए।

‘म यहाँका बालबालिकामा अपार सम्भावना देख्छु,’ ग्याबिनलाई उद्रित गर्दै धितालले भने, ‘थोरै सहयोगले ठूलो परिवर्तन ल्याउन सकिन्छ।’

हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले यस सहयोगप्रति आभार व्यक्त गरे।

‘स्थानीय सरकारको प्रयासमा बाह्य सहयोग जोडिँदा परिणाम उत्कृष्ट हुन्छ,’ उनले भने, ‘हिमा आवासीय विद्यालयलाई नमुना विद्यालय बनाउने हाम्रो लक्ष्य छ।’

उनका अनुसार गाउँपालिकाले शिक्षक क्षमता विकास र शैक्षिक गुणस्तरमा समेत निरन्तर जोड दिदै आएको छ।

हिमा आवासीय विद्यालयको लगानीले विपन्न र असाहे बालबालिकालाई शिक्षाको मुलधारमा ल्याउन सकिने धितालको बुझाई छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार