मैले केही दिन अघि सामाजिक संजालमा एउटा भिडियो भेटेँ। त्यसलाई सबै सामु बाडेँ। भिडियोमा ३-४ जना महिला ठेटुका बनाउदै गरेका थिए।
धेरै मान्छेले हेरे र विभिन्न प्रतिक्रिया आए। त्यसैले मैले उहाँ भिडियोमा देखिनु भएकी एउटी आमासँग सम्पर्क गरे सिंजा। गाउँपालिका वडा नं. २ बिष्टवाडा जुम्लामा बस्नु हुने अम्विका तिवारी उमेरले ५८ वर्ष हुनु भयो।
हाल जाडोको महिना काट्नको लागि कोहोलपुरमा हुनुहुन्छ। उहाँ फागुनतिर जुम्ला फर्किनु हुन्छ। अनि बनाउनु हुन्छ उहीँ ठेटुका। आउनु होस् आज उहाँसँग गरिएको हाम्रो पहिचान हाम्रो पोसाक ठेटुकाको बारेमा गरिएको कुराकानीको केही अंश यस्तो छ।
आमा नमस्ते, सन्चै हुनु हुन्छ?
नमस्ते बाबु। अँ सन्चै छु। को हुनुहुन्छ, तपाईं?
मेरो नाम महेश रावल हो। म शिक्षक हुँ। तपाईंले ठेटुका बनाएको देखेपछि तपाईंसँग कुरा गर्न मन लाग्यो। तपाईंले यो सीप कसरी सिक्नुभयो, आमा ?
हाम्मी आमा बनाउनु हुन्थ्यो। आमाले बुनेको देखेर मैले सिकेँ। आमाले पनि मलाई यो सीप सिकाउनु भयो।
कति वर्ष भयो यो सीप सिकेको ?
धेरै भयो। पहिले छोडिसकेको थिएँ। अहिले पुरानो संस्कृति नछोडौं भन्छन्, सबै। अनि फेरि बनाउन थालेँ।
सानै उमेरमा सिक्नु भएको हो तपाईंले?
अँ स्यानै उमेरमा सिकेको आमासँगै उहि बेला म १०-१२ वर्षकी हुँदी हुँ। पढेलेखेको थिइनँ। हैन गोरुबाछा हेर्न जान्थौं। त्यति बेला आमाले बुनेको देखेर सिकेको।
हाम्रो भाषामा यो पोसाकलाई ठेटुका नै भन्छन् कि अरु?
हामी ठेटुकै भन्छौं। अचेल ठेटुकाको फरिया पनि भन्ने गर्छौं।
यो तपाईंको पाला वा तपाईंको आमाको पालामा सधै लगाउने गर्थे कि कहिले काहीँ भोज भतेर विवाह जस्ता कार्यक्रममा लगाउने गर्थे?

यो सधै लगाउथ्यौं। आमा सँगै गाउँका सबै महिला पनि यहि लगाउन्थे। अरु केही हुन्थेन यहि पोषाक लगाएर जीवन गुजारा गर्नु पर्थ्यो।
अचुल नयाँ चिज भयो हैन यो पोषाक?
अँ ! अहिले नयाँ चिज भनिकन बनाउन लागेको ८-१० वर्ष भयो। कहिले काहीँ बनाउँछु अनि किनेर लग्छन्।
यो बनाउन के के समान चाहिन्छ ? कसरी बन्छ ? भन्न सक्नु हुन्छ ?
अँ ! म आफै बनाउँछु भन्न सकिल्ला छु। सुरुमा दोकानबाट ठेटुका किनेर ल्याउँछु हैन। अनि धुनु पर्छ। थापकाट वा मुखुरले चुट्नु पर्छ, २-३ घण्टासम्म चुट्छौं। जसलाई माणा निकाल्ने भन्छौं।
अनि हाम्रै जंगलमा पाइन्छ राती जडा भन्ने एक दिन भरी लगाएर कोरेर ल्याउछौं। त्यो जडा सुकाएर कुट्छौं। धुलो बनाई चाल्लाले चालेर धुलो बनाउँछौं। केही घण्टा डबरामा भिजाई राख्छौं। रङ दिन थाल्छ। त्यसैमा ठेटुका भिजाउनु पर्छ, करीव १-२ घण्टा भिजाउनु पर्छ।
जब रङ सर्छ त्यसलाई निकालेर बिफरो तल, सफेरो माथि हुने गरि घाममा पुरै तन्काएर घाममा डास्ने खोजडिनु हुँदैन। ४-५ दिन सुकाई सकेपछि अझ सुकेन भने बेलुका आफू सुत्ने ओछ्यानको मुनि पनि राख्ने गरिन्छ छिटो सुख्छ भनेर।
अनि फेरि जिउलोमा सिमला खेतमा रहेको लेतो हुन्छ नि हो त्यही लेतो निगालोको छिपा जुन हामी २-३ सय रुपैया हालेर किन्छौं। २-४ जनिले त्यो ठेटुकामा चौकी हाल्ने आधिले पोत्ने आधिले छिप्ने गर्छौं। यो काम २-३ दिन लाग्छ। छिपिसके पछि भोलिपल्ट सुकाउनु पर्छ।
२ दिनसम्म त्यो सिम सुक्छ। फेरि त्यसलाई धुने झल्झलानो हुने गरि धोई सुकाउने। त्यसपछि एउटा हरियो तोरो हुन्छ। कसैले चुलाकोट हुन्छन्। भन्छन् कोहि मुगु पिनाबाट ल्याउँछन्। जुन यो हरियो तोरो ढुङ्गाको पहरामा हुन्छ।
एक मुटो तोरो र एक मानो पानी गर्ने त्यसैमा २-३ दिन भिजाउनु पर्छ।। निगालाका साना भाटा गर्ने त्यो बुँदा बुँदामा लगाउने २-३ जनाले त्यो तोरो लगाउने। जसले रेखा हाल्न सहयोग गर्छ।
अनि फेरि जङ्गल गई एउटा मुज्जेट्टो भन्ने जडिबुडी हुन्छ। ३ दिनसम्म कोरेर ल्याए पछि १ ठेटुकालाई पुग्छ। मुजेट्टोको जडा सुकाई कुटि धुलो बनाइन्छ चाल्लाले चालेर तामा ताउलामा पकाउने।
तोरो लगाएकोलाई पखाल्ने पहेलो रङ लागेको कोठा देखिन्छ। त्यसैमा मुजेट्टोले छिप्ने काम गरिन्छ जुन बुट्टा पनि हो। यसरी बन्छ ठेटुका।
यो बनाउने बेला सबै भन्दा गाह्रो काम कुन हो?
अँ, सबै भन्दा गाह्रो काम छिप्ने बेला हुन्छ। र माणा गाड्ने बेला थापाकाट्ले चुट्ने बेला हुन्छ।
समय निकै लाग्ने रहेछ है ?
हो त! एउटा बनाउन १ महिना लाग्छ। धेरै मेहेनत गर्नु पर्छ। पानी पर्न दिनु हुन्न। पहेँलो गरिसकेपछि पानी पर्न दिनु हुन्न। निक्कै होसियार हुनु पर्छ।
कति हाते हुन्छ या बनाउनु हुन्छ ?
त्यो यस्तो हुन्छ, ठुली महिला हुन भने ८ मिटर सानी छन् भने ६ मिटर नत्र ७ मिटर सबैलाई हुन्छ।
अनि त्यसमा भएका रङ र बुट्टाको कुनै अर्थ हुन्छ? सबैमा एकै नासको हुन्छ कि फरक ?
नाई रङको कुनै अर्थ हुँदैन। बुट्टा भने छिपा अनुसारको हुन्छ। जस्तो छिपा त्यस्तै बुट्टा बनाउन सकिन्छ।
छिपो कसले बनाउँछ ?
हाम्रै मिस्त्री वा हाम्रै मान्छेले बनाउँछन्। काठलाई आगाले पोलि आरीले काटेर बनाउँछन्।
यो सीपबाट पैसा कमाउन सकिन्छ होला ?
सकिन्थ्यो एउटैको ९-१० हजार पर्छ। मैले त बाबु ८ हजारले दिएको हुँ, ४ वटा ठेटुका। कमाउन सकिन्छ। अलि समय बढी लाग्ने गर्छ।
अनि यो सीप जगाउनको लागि अरुलाई सिकाउनु हुन्छ ?
सिकाउन सकिन्छ। तपाईलाई सिक्न मन भए आउँदा हुन्छ। इच्छा भएकाले आउँदा हुन्छ। अल्छी मान्नु भएन।
कोहि सरकारी तथा स्थानीय निकाय वा संघ संस्थाले सहयोग गरेका छन्, तपाईंको काममा ?
गाउँपालिकाले एक चोटि थोरै आर्थिक सहयोग गरेको थियो। त्यसबाहेक अन्य सहयोग केही छैन।
कहिले काहीँ काम गर्दै जाँदा बिग्रन पनि सक् हैन ?
अँ ! सबै बन्दैनन्। कोहि बिग्रन्छन्, पनि।
बुन्ने बेला रमाइलो पनि हुन्छ होला हैन ?
अँ! रमाइलो पनि हुन्छ। समूहमा काम गर्छौं। आज मेरो छिप्छौं, भोलि अर्काको, पर्सी अर्काको गरि बनाउँछौ रमाइलो हुन्छ। गफ गर्यो, काम गर्यो।
यसरी हाम्रो पोषाकको इतिहास बचाउनु भएको छ, तपाईंलाई कस्तो लाग्छ ?
मलाई खुसी लाग्छ। आज तपाईंले यसरी जान्न खोज्नु भयो, मेरो सीपको प्रशंसा गर्नु भयो, मलाई खुसी लाग्यो। अझ यो सीप अरुलाई बाँड्न पाएको भए, यस सम्बन्धि तालिम संचालन गर्न पाएको भए, अझ राम्रो हुने थियो।
अन्तमा, यो सिपमा अझै निखारता आवस निरन्तरता होस शुभकामना आमा। यति धेरै जानकारी दिनु भएकोमा धेरै धेरै धन्यवाद! नमस्ते।
तपाईंलाई पनि धेरैधेरै धन्यवाद बाबू। मुरो सीपको कुरा सुनेर अरुलाई सुनाउन लाग्नुभएको छ। धेरै धन्यवाद। नमस्कार।















