ग्यास गिजर राम्रो हावापास हुने बाथरुममा मात्र प्रयोग गर्नुपर्छ। ग्यास गिजर भएको अवस्थामा नुहाउनु अघि आवश्यक मात्रामा तातो पानी भरेर ग्यास गिजर बन्द गरेपछि मात्र नुहाउनु सुरक्षित हुन्छ।
जुम्ला लगायत कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा जाडोयाम अत्यन्त कडा हुने भएकाले मानिसहरू नुहाउन ग्यास गिजर, कोठा तताउन हिटर, दाउरा तथा कोइला प्रयोग गर्ने गर्छन्। चिसोबाट जोगिन घरका ढोका झ्याल बन्द गरिने भएकाले यस्ता उपकरणबाट निस्कने कार्बन मोनोअक्साइड ग्यास कोठाभित्र जम्मा भई गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
कार्बन मोनोअक्साइड रङ्गहीन, गन्धहीन र स्वादहीन ग्यास भएकाले मानिसले थाहा नै नपाई यसले शरीरमा असर पुर्याउँछ, त्यसैले यसलाई ‘मौन घातक’ भनिन्छ। ग्यास गिजर, ग्यास हिटर, दाउरा, कोइला वा मट्टितेलजस्ता इन्धन बन्द कोठाभित्र प्रयोग गर्दा ढोका, झ्याल बन्द हुने भएकाले हावाको आवत जावत कम हुन्छ र कोठाभित्र अक्सिजनको मात्रा घट्छ।
अक्सिजन कम हुँदा इन्धन पूर्ण रूपमा नजली कार्बनले अक्सिजनसँग पूरा प्रतिक्रिया गर्न पाउँदैन र सामान्य अवस्थामा बन्ने कार्बन डाइअक्साइड (CO₂) को सट्टा अत्यन्त विषालु कार्बन मोनोअक्साइड (CO) ग्यास उत्पादन हुन्छ। यो कार्बन मोनोअक्साइड ग्यास कार्बन डाइअक्साइडभन्दा धेरै गुणा बढी हानिकारक भएकाले स्वास्थ्यका लागि गम्भीर खतरा उत्पन्न गर्छ।
जुम्लामा धेरैजसो घरमा ग्यास गिजर बाथरुममै प्रयोग गर्ने, रातभर सुत्ने कोठामा हिटर बाल्ने तथा भान्सामा दाउरा बालेर ढोका झ्याल बन्द गर्ने चलन रहेको पाइन्छ, जसले कार्बन मोनोअक्साइड विषाक्तताको जोखिम झनै बढाउँछ।
यस विषाक्तताका प्रारम्भिक लक्षणहरूमा टाउको दुख्ने, चक्कर लाग्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने र सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छन्। अवस्था गम्भीर हुँदै जाँदा भ्रम, छाती दुख्ने, मुटुको धड्कन बढ्ने, बेहोस हुने, झट्का आउने (Seizures) र अन्ततः कोमामा जाने वा मृत्यु समेत हुन सक्छ।
विशेषगरी राति सुतिरहेको अवस्थामा हिटर बालिएको भए धेरैजसो मानिस निद्रामै ज्यान गुमाउने जोखिम हुन्छ। कार्बन मोनोअक्साइड विषाक्तताको निदानका लागि बिरामीले बन्द कोठामा ग्यास गिजर, हिटर वा अन्य इन्धन प्रयोग गरेको इतिहास (History) अत्यन्त महत्वपूर्ण हुन्छ।
सम्भव भएमा रगतमा कार्बोक्सी हेमोग्लोबिन (COHb) को मात्रा मापन गरेर विषाक्तता पुष्टि गर्न सकिन्छ। तर सामान्य पल्स अक्सिमेट्री गर्दा अक्सिजन स्तर सामान्य देखिन सक्छ।
त्यसैले स्रोत साधन सिमित स्थानहरूमा प्रयोगशाला सुविधा नभए पनि चिकित्सकले लक्षण र जोखिमपूर्ण इतिहासका आधारमा उच्च शंका (Clinical Suspicion) राखी समयमै उपचार सुरु गर्नु अत्यावश्यक हुन्छ। कार्बन मोनोअक्साइड विषाक्तताको उपचार समयमै भएमा जीवन बचाउन सकिन्छ।
सबैभन्दा पहिला बिरामीलाई ग्यास भएको स्थानबाट तुरुन्तै खुला हावामा लैजानुपर्छ। सकेसम्म चाँडो शुद्ध अक्सिजन दिनुपर्छ र नजिकको स्वास्थ्य संस्थामा पुर्याउनुपर्छ।
गम्भीर अवस्थामा विशेष अक्सिजन (100% Oxygen via Face Mask) उपचार आवश्यक पर्न सक्छ। तर उपचारभन्दा पनि यसको रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय हो।
कार्बन मोनोअक्साइड विषाक्तताबाट बच्न रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय हो। ग्यास गिजर, हिटर वा अन्य इन्धन प्रयोग गर्दा सधैं कोठामा पर्याप्त हावापास हुने व्यवस्था गर्नुपर्छ र झ्याल वा भेन्टिलेसन खुला राख्नुपर्छ।
ग्यास गिजर राम्रो हावापास हुने बाथरुममा मात्र प्रयोग गर्नुपर्छ। ग्यास गिजर भएको अवस्थामा नुहाउनु अघि आवश्यक मात्रामा तातो पानी भरेर ग्यास गिजर बन्द गरेपछि मात्र नुहाउनु सुरक्षित हुन्छ।
सुत्ने कोठामा हिटर बालेर सुत्नु हुँदैन र सुत्नुअघि हिटर अनिवार्य रूपमा बन्द गर्नुपर्छ। दाउरा वा कोइला बन्द कोठाभित्र बाल्नु हुँदैन र परिवारका सबै सदस्यलाई कार्बन मोनोअक्साइड ग्यासको खतराबारे जानकारी दिनुपर्छ। सम्भव भए कार्बन मोनोअक्साइड डिटेक्टर जडान गर्नु अझ सुरक्षित उपाय हो।














