अर्बौ ठगेर करोड बैंक जमानत राखेर सहकारी ठगहरु त भागिहाल्छन् अनि बिचल्ली चाँहि बचतकर्ताको हुन्छ । त्यसैले, रविलाई बैंक जमानतमा छोड्ने अदालतको फैसला न्यायोचित छैन । अदालतले न्यायोचित फैसला गर्नुपर्छ नाकि कसैको दबाब, प्रलोभनमा आएर वा कोही लोकप्रिय व्यक्ति भएको देखेर । रवि छुट्नासाथ बजारमा रास्वपाका कार्यकर्ता, समर्थकहरुको चुरीफुरी शुरु भइसकेको छ । उनीहरु भन्छन्, ‘रविमाथि राजनीतिक प्रतिशोध साँधिएको पुष्टि भयो।’
अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता तथा समर्थक भन्छन् ‘रवि लामिछाने धरौटीमा छुटे, उनले सफाई पाए । रवि निर्दोष देखिए अनि अदालतले छोडिदियो।’ अब न धरौटीमा छुटेका हुन् न त उनले सफाइ नै पाएका छन्।रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा उनी झण्डै नौ महिनादेखि जेलमा थिए।
जिल्ला अदालतको आदेशबमोजिम जेल पुगेका उनले सहकारीमा हिनामिना भएको रकममध्ये आफ्नो भागमा पर्ने बिगो तिरेर रिहा हुन पाउनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए । सोही निवेदनउपर गत पुस ३ गते भएको सुनुवाईमा उच्चले उनलाई बिगोबापत रकम तिरेर रिहा गर्न आदेश दिएको हो।
रविले दुई करोड ६८ लाख ७४ हजार रुपैयाँ तिरेर रिहा हुनुपर्ने माग राखेका थिए । उच्च अदालतले सो रकमसहित थप एक करोड तिर्न लगाएर उनलाई छोडेको हो। अदालतले उनलाई निर्दोष ठहर गरेको छैन्। यो त केबल आदेश मात्रै हो, अन्तिम फैसला होइन । रविले सहकारी ठगेका छन् कि छैनन् ? न्यायालयबाट अन्तिम फैसला हुन बाँकी नै छ ।
तर, अदालतले उनलाई निर्दोष ठहर नगरेपछि रास्वपाका कार्यकर्ता, समर्थकहरु चाँहि रविलाई अदालतले निर्दोष ठहर गरेर छोडिदियो भन्दै आम जनमानसमा भ्रम फैलाइरहेका छन्।
बुटवलको सुप्रिम सहकारीमा रविसहित दर्जनौंविरुद्ध मुद्दा चलेको छ, उनीहरु अहिले पनि जेलमै छन् । यो सहकारीमा सर्वसाधारण जनताले खाइनखाई राखेको अर्बौ रकम हिनामिना भएको छ ।
डुबेको अर्बौ छ तर रवि करोड तिरेर छुटेका छन् । अर्कोतर्फ, रविले यो सुविधा पाएपछि अन्यले पनि पाउने कि नपाउने ? प्रश्न उठेको छ । अब रविको सिको गर्दै सहकारी ठगीमा जेल परेका सबैले आफ्नो भागबमोजिमको बिगो बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग गर्दै अदालतमा रिट दायर गरे भने के हुन्छ ? के अदालतले उनीहरु सबैलाई पनि छोडिदिने?
अर्बौ ठगेर करोड बैंक जमानत राखेर सहकारी ठगहरु त भागिहाल्छन् अनि बिचल्ली चाँहि बचतकर्ताको हुन्छ । त्यसैले, रविलाई बैंक जमानतमा छोड्ने अदालतको फैसला न्यायोचित छैन । अदालतले न्यायोचित फैसला गर्नुपर्छ नाकि कसैको दबाब, प्रलोभनमा आएर वा कोही लोकप्रिय व्यक्ति भएको देखेर । रवि छुट्नासाथ बजारमा रास्वपाका कार्यकर्ता, समर्थकहरुको चुरीफुरी शुरु भइसकेको छ । उनीहरु भन्छन्, ‘रविमाथि राजनीतिक प्रतिशोध साँधिएको पुष्टि भयो।’
रवि आफुले सहकारी ठगेको स्वीकारेर रकम तिर्ने अनि उसका कार्यकर्ता, समर्थक चाँहि राजनीतिक प्रतिशोध भन्ने, वाहवाह । यदि रवि निर्दोष थिए भने उनी यो रकम तिर्न कहिल्यै तयार हुने थिएनन् । उनी अदालतको अन्तिम आदेश कुर्थे । तर, आफूले सहकारीको रकम हिनामिना गरेको रविलाई पनि थाहा छ । अनि अदालतले अन्तिम आदेशले जीवनभर जेलमै काट्नुपर्ने डरले उनी यो रकम तिर्न तयार भएका हुन्।
अर्कोतर्फ, रविले एउटामात्र होइन, दर्जनों सहकारी ठगेका छन् । चितवन, पर्सा, पोखरा, काठमाडौंलगायत धेरै जिल्लामा उनीमाथि मुद्दा चलिरहेको छ । सम्पत्ति शुद्धिकरणमा पनि उनीमाथि मुद्दा चलिरहेकै छ । अनि एउटा सहकारीको बिगो तिरेर छुटेपनि अन्य सहकारीको हकमा के होला ? हिजो सहकारीको पैसा मोजमस्ती गर्ने, अहिले प्रतिशोध भन्दै जनता उचाल्ने ?
रविकै कारण सहकारीमा आफूले जीवनभर दुःख गरेर कमाएको लाखौं सर्वसाधारणको अर्बौ रकम डुबेको छ।सहकारीमा आफ्नो रकम डुब्नेलाई मात्र थाहा छ कि रवि कस्ता व्यक्ति हुन् । तर, रास्वपाका कार्यकर्ता, समर्थकहरु रवि महान् व्यक्ति, देश र जनताको हितमा काम गर्ने हुन् भन्दै हिँडेका छन् । रविले के गरेका छन् र उनी महान् छन् ? उनले देश र जनताका लागि के काम गरे ? रवि दुईपटक गृहमन्त्री बने तर गृहमन्त्री हुँदा उनले सिन्कोसमेत भाँचेनन् ।
भ्रष्टाचारका ठूला फाइल खोल्छु भन्दै जनतालाई भ्रमित मात्रै बनाए। अनि अझैपनि रास्वपाका समर्थक, कार्यकर्ताहरु ‘रवि रवि’ भन्दै हिँड्छन्।
राजनीति गर्ने व्यक्ति त्यागी हुनु पर्छ।उसले मुलुकमा योगदान पुर्याएको हुनुपर्छ । तर, रवि त त्यस्ता व्यक्ति हुन्, जो मुलुक संकटमा हुँदा अमेरिकामा रमाइरहेका थिए । देशमा माओवादी जनयुद्ध हुँदा अर्थात् ०५६ सालमा उनी नेपाल नै छोडेका अमेरिका पुगेका थिए।
यहाँ फर्किन नसक्ने अवस्था र अमेरिकाको सेवासुविधाले उनलाई लोभ्याए अनि ०६६ सालमा नेपाली नागरिकता नै त्यागेर अमेरिकी ग्रिनकार्ड लिए । अमेरिकामा पनि उनको काम ठग्ने नै थियो।
त्यहाँ उनले ठग्नु ठगे । अनि त्यहाँ आफूमाथि मुद्दाको चाङ लागेपछि उनी ०७१ सालमा नेपाल फर्किए, भिजिट भिसामा । नेपाल फर्किएपछि सञ्चारकर्ममा लागे । केही जनताका मुद्दा उठाए, पुराना राजनीतिक दल र नेतामाथि हिलो छ्यापे।त्यसक्रममा उनीमाथि आफ्नै सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लाग्यो । उनलाई प्रहरीले पक्राउ गर्यो । त्यतिबेला रवि राजावादी थिए।
प्रहरीले समातेपछि चितवनमा उनको समर्थनमा राजावादीहरु उत्रिए । अनि प्रहरी र अदालतले अनुसन्धान नै नगरी उनलाई छोडिदियो । त्यसपछि रवि झनै चर्चित भए । उनले सञ्चारकर्मलाई छोड्ने निर्णय गरे, अनि राजनीतिमा लागे । ०७९ असारमा पार्टी खोले । मंसिरमा चुनाव लडे । चुनावमा रास्वपा चौथों पार्टी बन्यो।
चुनाव लड्नुअघि रवि भन्थे–हामी सरकारमा जाँदैनौं। तर, चुनाव भएको एक महिनामै उनी सरकारमा गए । त्यो पनि गृहमन्त्री बनेर । ०७९ पुस ११ गते गृहमन्त्री बनेपछि उनका पोल खोलियो । उनी नेपाली नागरिक नै नभएको खुल्यो । सर्वोच्च अदालतले उनी नेपाली नागरिक नभएको ठहर गर्दै तत्कालिन गृहमन्त्रीसहित सांसद, पार्टी सभापतिलगायत पदबाट उनलाई बर्खास्त गरिदियो । ३२ दिनमै उनले गृहमन्त्रीको कुर्सी गुमाए।
अदालतले नेपाली नागरिक नभएको ठहर गरेपनि उनले काठमाडौं सिडिओ कार्यालयबाट नागरिकता लिए । उनका कारण चितवनमा पुनः चुनाव गराउनुपर्यो । आफूमाथि दलहरुले प्रतिशोध साँधिएको भ्रम फैलाएर चितवनबाट फेरि उनले नै चुनाव जिते । र, दलहरुको विरोध गरेर उनीहरुकै सरकारमा फेरिपनि गृहमन्त्री बने । गृहमन्त्री हुँदा उनले ठूला फाइल खोल्छु खोल्छु भन्दै उनलाई अल्मल्याइराखेका थिए।
तर, यसपटक गृहमन्त्री हुँदा उनको अन्य ठगीका प्रकरण बाहिरियो । अनि थाहा भयो कि उनी ठूला फाइल खोल्न होइन, आफ्नै फाइल बन्द गर्न चाँहि गृहमन्त्री बनेका रहेछन् । उता गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जेलरलाई कुटेर रवि नख्खु जेलबाट भागे । उनी भाग्दा देशभरका जेलबाट कैदीबन्दी भागे । त्यसक्रममा सुरक्षाकर्मीको गोलीबाट दर्जनौं कैदीबन्दीले ज्यान गुमाए।
उनी भाग्दा भागेका कैदीबन्दी अझै बाहिरै छन्।उनीहरु पुनः अपराधमा संलग्न भइसकेका छन्। यसले जनता असुरक्षित महसुस गरिरहेका छन्। अनि यसको जिम्मा कसले लिने ? रविको देखाउने र पचाउने दाँत फरक फरक छ । पहिले त उनीबाट आफ्नै सहकर्मी पुडासैनी पीडित भए अनि आत्महत्या गरे । अहिले उनीबाट लाखौं सर्वसाधारण पीडित बनेका छन् ।
यदि त्यतिबेलै उनलाई कारबाही गरिएको भए अहिले यो अवस्था आउने नै थिएन । विडम्बना, लोकप्रियताको सामु राज्य, अदालत र प्रहरी प्रशासन डराउँदा रविले आफूले सर्वश्रेष्ठ ठाने । आफूले जे गरेपनि हुन्छ भन्ने उनमा पर्यो । र, अझै पनि जनता उनकै विश्वास गरिरहेका छन् । अब चाँहि उनको बुद्धि पलाओस्।
रवि छुटेसँगै रास्वपाका समर्थक, कार्यकर्ताले भन्न थालेका छन्। फागुनको चुनावमा रास्वपा पहिलो पार्टी बन्छ । रास्वपा पहिलो पार्टी बनेमा देशमा ठगहरुको शासन चल्नेछ । किनकि रास्वपामा जतिपनि व्यक्ति जोडिएका छन्, उनीहरु कुनै न कुनै काण्डमा मुछिएका छन् । त्यसैले, जनता सचेत हौं । सञ्चारकर्मीहरुले पनि जनतालाई सचेत गराऔं । रवि र उसका समर्थक, कार्यकर्ताको हावादारी कुरामा विश्वास नगरौं । सोचबुझ गरेर मात्र मतदान गयौं । नभए यसको परिणाम जनता आफैं भोग्नुपर्ने छ।















