सोमबार, २८ पुष, २०८२

जुम्लाकि महिलाहरु जोखिम मोलेर दाउरा, स्याउला गर्दै

समाजमा कामको बाँडफाँड समानतापूर्ण छैन। जोखिमपूर्ण काम महिलाले नै गर्नुपर्ने सोच अझै बलियो छ।

जुम्लामा यतिबेला महिलाको दैनिकी झनै कठोर बनेको छ। खेतीपातीको चटारो सकिएसँगै उनीहरू वनपाखातिर उक्लिन थालेका छन्।

असोज, कात्तिकमा अन्न भित्र्याउने कामले थकित शरीर मंसिर, पुस लागेपछि फेरि स्याउला र दाउराको भारी बोकेर उकालो, ओरालो धाउन बाध्य छ।

जुम्लाका प्रायः घरधुरीमा स्याउला र दाउरा अनिवार्य जस्तै छन्। हिउँद याममा चिसो अत्यधिक हुने भएकाले घर तताउन दाउराकै भर पर्नुपर्छ। ग्यास महँगो छ।

विद्युत् पुगे पनि विद्युतिय सामग्री कमै चलाइन्छ। त्यसैले दाउरा नै प्रमुख विकल्प बनेको छ। गाईवस्तुलाई न्यानो राख्न र खेतीका लागि मल जुटाउन पनि स्याउला अनिवार्य हुन्छ।

चन्दननाथ नगरपालिका -७ मिचाका स्थानीय भक्ति सार्की भन्छन्, ‘हिउँदमा दाउरा र स्याउला बिना घर चल्दैन। गाईवस्तु चिसोले मर्छन्। खेतीका लागि मल पनि चाहिन्छ। त्यसैले जति गाह्रो भए पनि स्याउला गर्नैपर्छ।’

तर यो कामको सबैभन्दा ठूलो भार महिलाको काँधमा परेको छ। जुम्लामा दाउरा स्याउला महिलाको ‘ठेक्का’ जस्तै भएको छ।

पुरुषहरू कमै देखिन्छन्। महिलाहरू बिहान सबेरै डोको बोकेर बनतिर लाग्छन्। साँझ ढिलो घर फर्कन्छन्। थकान, जोखिम र पीडा उनीहरूको दैनिकी बनेको छ।

यस वर्ष मात्रै स्याउला, दाउरा गर्न गएका धेरै महिला घाइते भएका छन्। कतिपयले ज्यान समेत गुमाएका छन्। चन्दननाथ नगरपालिका–७ की स्थानीय जुनकली सार्कीका अनुसार हालै मात्रै सो वडाका पाँच जना महिला घाइते भएका छन्।

‘एक जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ,’ उनले भनिन्, ‘चार जनालाई डिस्चार्ज गरिएको छ। तर उनीहरू अझै पूर्ण रूपमा निको भएका छैनन्। घरमै आराम गरिरहेका छन्।’

भिरालो बाटो, चिप्लो माटो र भारी डोको महिलाका लागि मुख्य खतरा हुन्। सानो कमजोरी पनि ठूलो दुर्घटनामा परिणत हुन्छ। जुम्लाका धेरै वनपाखा भिरालो छन्। हिउँदमा चिसो र कुहिरोले जोखिम झनै बढाउँछ।

स्थानीय मनकैला सार्कीले आफ्नो पीडा सुनाइन्, ‘हिउँदमा दाउरा, स्याउला नगरी घर चलाउन गाह्रो हुन्छ। जंगल जानैपर्छ। गएपछि लड्ने समस्या हुन्छ।’

उनले गत वर्षको घटना सम्झिइन्, ‘मंसिर महिनामा एकै दिन म र मेरी बुहारी सारदा सार्की भिरबाट लड्यौं। दुबैलाई चोट लाग्यो। एक महिना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्नुपर्‍यो।’

मनकैलाको अनुभव जुम्लाका धेरै महिलाको साझा दु:ख हो। उपचार खर्च, कामबाट छुट्ने समय र पारिवारिक चिन्ता थप बोझ बन्छ। घाइते भएपछि घरको काम झनै अप्ठ्यारो हुन्छ। तर विकल्प भने छैन।

समाजमा कामको बाँडफाँड समानतापूर्ण छैन। जोखिमपूर्ण काम महिलाले नै गर्नुपर्ने सोच अझै बलियो छ।

पुरुषहरू वैदेशिक रोजगारी, व्यापार वा अन्य काममा व्यस्त छन्। घरायसी काम र दाउरा स्याउलाको जिम्मा महिलामै सीमित छ।

जुम्लाका महिलाहरू अझै पनि चुपचाप भारी बोकिरहेका छन्। उनीहरूको श्रमले घर तातो छ, गाईवस्तु बाँचेका छन् र खेती चलेको छ। तर त्यो श्रमसँग जोडिएको जोखिम र पीडा घट्न गाह्रो भएको मनकैलाले दुखेसो पोखिन।

उनी थप्छिन्, ‘हिउँदको कठ्यांग्रिने चिसोमा वनपाखा हामी महिलाको बाध्यता जस्तै छ। यही नै हाम्रो वास्तविकता हो।’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार