मानिसलाई पनि स्वाभाविक ज्ञान प्राप्त हुन्छ। तर मानिस अन्यभन्दा विशेष प्राणी भएकाले थप ज्ञान आर्जन गर्न सक्छ। स्वाभाविक ज्ञानले मानिस जीवनयापन गर्न सक्छ। तर आफ्नो विकास गर्दै लक्ष्यतर्फ अग्रसर हुँदै पुरुषार्थ सिद्धि गर्न सक्दैन।
प्राणीले मानव जीवन प्राप्त गरेपछि मानव जीवनको प्रमुख उद्देश्य पुरुषार्थ प्राप्त गर्नु हो। पुरुषार्थ भनेको जीवको प्रयोजन हो। यसलाई धर्म, अर्थ, काम र मोक्षरूपी पुरुषार्थ चतुष्टय भनिन्छ।
वेदको ज्ञानले मानवको पुरुषार्थ सिद्धिको मार्ग प्रशस्त गर्छ। वेदले प्राणीलाई सतत् पुरुषार्थतर्फ उद्यत गराउँछ। यसले शान्ति र आनन्दपूर्वक जीवनयापन गर्न प्रेरित गर्दछ।
वेदको ज्ञान बिना मानिस शान्तिपूर्वक जीवनयापन गर्न सक्दैन। तसर्थ सुख, शान्ति र परमतत्त्वको सान्निध्य प्राप्त गर्न वेदको ज्ञान अति आवश्यक छ। मनुस्मृतिमा सम्पूर्ण वेदलाई धर्मको मूलका रूपमा स्वीकार गरिएको छ।
वेदका भाष्यकारहरूले वेदलाई सबै विद्याको स्रोतका रूपमा मानेका छन्। सबै ज्ञानको उद्गम वेद हो। हाम्रो आहार विहार, कर्मकाण्ड, संस्कार आदिको उद्गम बिन्दु वेद नै हो।
वेद हाम्रो जीवनको प्राणतत्त्वका रूपमा स्थित भएको छ। हाम्रो यज्ञादि अनुष्ठान कर्म, कर्मकाण्डादि संस्कार कर्महरू, दैवीय उपासना आदि सनातनदेखि चली आएका छन्। यस प्रकारका सम्पूर्ण अनुष्ठान, उपासनाको मार्ग निर्देशन गर्ने वेद नै हो।
हाम्रो जीवन पद्धति र विचारधारा पनि वेदबाटै निर्देशित भएको छ। यसैले हाम्रो जीवनमा वेदको धेरै महत्व रही आएको छ।
मानिसको जन्म हुँदा त्यस बेला बालकको आफ्नो कुनै भाषा ज्ञान हुँदैन। बालक विभिन्न ज्ञानबाट अनभिज्ञ हुन्छ। त्यस बेला उसले सम्पूर्ण ज्ञान अरूबाट प्राप्त गरेको वा सिकेको हुन्छ।
उसले त्यो ज्ञान आमा, बुबा, गुरुजन एवं संगतबाट प्राप्त गर्दछ। सृष्टिका आदिमा जुन बेला कोही ज्ञान प्रदान गर्नेवाला थिएनन्, आमा, बुबा एवं गुरुजनहरू पनि थिएनन्। त्यस बेला परमात्माले आफ्नो दिव्य ज्ञान ब्रह्माजीको हृदयमा र ऋषिहरूको हृदयमा प्रकट गरे।
त्यही ज्ञान ऋषिहरूद्वारा शिष्य प्रशिष्य परम्परामा व्याप्त हुँदै मानिससम्म पुग्यो। यस प्रकार ज्ञानको परम्परा सृष्टिका आदिदेखि निरन्तर रूपमा चली आएको छ।
यसै ज्ञानको परम्परा प्रकृतिले प्राणी मात्रलाई प्रदान गर्दछिन्। प्रकृतिमा परमात्माको विशेष कृपा र रूप रहेको हुन्छ। यसै प्रकृतिबाट प्राणीहरूले स्वाभाविक ज्ञान प्राप्त गर्दछन्।
मानिसलाई पनि स्वाभाविक ज्ञान प्राप्त हुन्छ। तर मानिस अन्यभन्दा विशेष प्राणी भएकाले थप ज्ञान आर्जन गर्न सक्छ। स्वाभाविक ज्ञानले मानिस जीवनयापन गर्न सक्छ। तर आफ्नो विकास गर्दै लक्ष्यतर्फ अग्रसर हुँदै पुरुषार्थ सिद्धि गर्न सक्दैन।
ज्ञानको विकासका लागि गुरुको आवश्यकता हुन्छ। गुरुको औँलो समातेर हामी अगाडि बढ्न सक्छौँ। प्रकृतिका मध्य रहेर मात्र ज्ञानरूपी विकास हुँदैन। अपितु गुरुको सन्निध्य आवश्यक हुन्छ।
विगतका इतिहासमा हामी पाउँछौँ, केही मानव प्रकृतिका सान्निध्यमा रहे तर गुरु सन्निध्य प्राप्त गरेनन्। उनीहरूले जीवनयापन गर्न पशुवध आदि हिंसाको सहारा लिए। अँध्यारोमै रहे।
अर्कोतिर ऋषिहरू गुरुको सन्निध्यमा बसे। दिव्य ज्ञान प्राप्त गरे। प्रकृतिका मध्य रहेर पनि हिंसारहित भावनामा लीन रहेर समाजमा ज्ञानको ज्योति फैलाए।
त्यसैले मानिस गुरुको सन्निध्यमा प्रकृतिका मध्य रहेर ज्ञानको विकास गर्दै आत्मोन्नतिको मार्ग अनुसरण गर्दै समाजलाई पनि सत्मार्गतर्फ डोर्याउन सक्छ। यसै प्रकारको प्रयोग ऋषिहरूले गरे।
आफ्नो ईश्वरीय ज्ञानका अनुभवले संसारलाई विविध ज्ञानले आप्लावित गरे। ईश्वरीय ज्ञान परमात्माले मानव कल्याणका लागि प्रकट गरेको हो। यसका माध्यम ऋषिहरू हुन्। ऋषिहरूले गुरु शिष्य परम्परा अनुसार जनमानसमा यसको ज्ञान पुर्याए।
अथर्ववेदमा ज्ञानलाई वेदमाताका रूपमा स्वीकार गरिएको छ। वेदमाता परमात्माको वेदवाणीलाई द्विजहरूमा प्रेरित गर्दै प्रसार गरून्। वेदमाताको कृपाले ब्रह्मज्ञानी उत्तम आयु, प्राण, पुत्र पौत्रादि ऐश्वर्य र ब्रह्मसामीप्यता प्राप्त गर्दछ।
स्तुतामया वरदा वेदमाता प्रचोदयन्तां पावनीं द्विजानाम् ।
आयुः प्राणं प्रजा पशु कीर्तिं द्रविणं ब्रह्मवर्चसम् ।
मह्यं दत्वा ब्रजत ब्रह्मलोकम् ।
(अथर्व १९.७१.१)
हामी साधकहरूद्वारा स्तुति गरिएकी, चिताएको फल प्रदान गर्ने वेदमाता द्विजहरूलाई पवित्रता र प्रेरणा दिनेवाली हुन्। हामीलाई दीर्घ जीवन, प्राणशक्ति, सुसन्तति, श्रेष्ठ पशुधन, कीर्ति, वैभव र ब्रह्मतेज प्रदान गरेर ब्रह्मलोकतर्फ प्रस्थान गरून्।
देवपितृमनुष्याणां वेदचक्षुः सनातनः । वेदलाई देवता, पितर र मनुष्यहरूको सनातन चक्षु भनिएको छ। मनु महाराज भन्नुहुन्छ, वेद तीनै कालमा उपयोगी छ र वेदबाट सबै वस्तु प्राप्त हुन्छन्।
भूतं भव्यं भविष्यं च सर्वं वेदात् प्रसिध्यति ।
वेद स्वयं ब्रह्म हो। शब्द ब्रह्म हो। यसको साक्षात्कारले मानिसलाई कुनै पनि ज्ञान दुर्लभ हुँदैन।
मानवको यस लोक र परलोकका कल्याणका साधनरूप धर्मका सम्पूर्ण अङ्गहरूको वर्णन वेदहरूमा उपलब्ध छ। धर्मसँगसँगै अध्यात्म, मर्यादा, ज्ञान विज्ञान, कला कौशल, शिल्प उद्योग आदि सबै विषयहरूको प्रतिपादन वेदमा गरिएको छ।
यसै कारणले विद्वानहरूले वेदलाई अक्षय ज्ञानको भण्डार भनेका छन्। ‘मानव जातिको सबैभन्दा पुरानो इतिहास, सामाजिक नियम, राष्ट्र धर्म, सदाचार, कला, त्याग, सत्य आदिको ज्ञान प्राप्त गर्ने एकमात्र साधन वेद हो।’
वेदमा मुख्य रूपमा तीन विषय, कर्मकाण्ड, उपासना काण्ड र ज्ञानकाण्डको वर्णन गरिएको पाइन्छ। कर्मकाण्डमा यज्ञ यागादि विभिन्न अनुष्ठानहरूको प्रतिपादन र सोहि संस्कारादि विधि विधानहरूको उल्लेख प्राप्त हुन्छ।
यज्ञ नित्य र नैमित्तिक दुई प्रकारका हुन्छन्। नित्य कर्म सन्ध्या वन्दना, स्नान, पञ्चमहायज्ञ आदि हुन्। पञ्चमहायज्ञ गृहस्थले सधैँ पालन गर्नुपर्दछ। गरे आत्मोन्नतिका साथै पूर्वजन्मका पापहरूबाट निवृत्ति हुन्छ।
पञ्चमहायज्ञमा,
१) ब्रह्मयज्ञ – स्वाध्याय गर्नु।
२) देवयज्ञ – देव उपासना, पूजन, हवन आदि गर्नु।
३) भूतयज्ञ – कृमि, कीट, पशुपक्षी आदिको सेवा, बलिवैश्वदेव आदि।
४) पितृयज्ञ – श्राद्ध, तर्पण आदि गर्नु।
५) मनुष्ययज्ञ – अतिथि र भोकले पीडितको अन्नादि सेवा गर्नु।
यस्तै नैमित्तिक कर्म श्रौत र स्मार्त हुन्छन्। श्रुति प्रतिपादित यज्ञ श्रौतयज्ञ र स्मृति प्रतिपादित यज्ञ स्मृतियज्ञ हुन्। उपर्युक्त कर्महरू भोग अपवर्गरूप हुन्।
कामनासहित गरिएका यज्ञ लौकिक भोग पदार्थ उपलब्ध गराउँछन्। कामनारहितका यज्ञ आदि सम्पूर्ण निष्काम कर्म अपवर्ग अर्थात् मोक्ष प्रदान गर्नेवाला हुन्।
वेद, ब्राह्मण, आरण्यक र उपनिषद आदि ग्रन्थ सबै ज्ञान प्रदान गर्नेवाला हुन्। आरण्यक र उपनिषद आदि ग्रन्थहरू विशेष रूपमा आत्म परमात्म विषयक ज्ञान प्राप्त गर्नेवाला हुन्।
निष्ठापूर्वक गरिएको आराधना र यज्ञ आदि अनुष्ठानले साधकका आध्यात्मिक र भौतिक कामनाहरूको पूर्ति हुन्छ।
अध्यात्मवादको सीधा सम्बन्ध आत्मासँग छ। वैदिक ऋषिहरूले आत्मासँग एकाकार हुनेमा जोड दिएका छन्। आत्माको साक्षात्कार गरे परमात्माको साक्षात्कारका लागि मार्ग प्रशस्त हुन्छ।
वेदहरूमा एक मात्र परमतत्त्वको महत्त्वलाई स्वीकार गरिएको छ। परमतत्त्व एक रूप भए पनि आफूलाई अनेक रूपमा प्रकट गर्दछ, एकं सद्विप्रा बहुधा वदन्ति। त्यो परमेश्वर एउटै छ र त्यसलाई अनेक रूपवाला भनिन्छ।
शरीरलाई स्वस्थ नगरीकन, मनलाई स्थिर नगरीकन हामीमा विवेकज्ञानको उदय हुन सक्दैन। विवेकज्ञानको अभावमा हामीले परमात्मतत्त्वलाई बुझ्न सक्दैनौँ।
ज्ञान प्राप्तिका लागि चित्तका वृत्तिहरूको नियन्त्रण आवश्यक छ। चित्त नियन्त्रित गरी एकाग्र भावले ध्यानमा संलग्न हुन ऋषिहरूले एकाग्र ध्यान पद्धतिमा जोर दिए।
महर्षि पतञ्जलिले पनि अष्टाङ्ग योगको अनुष्ठानपूर्वक चित्तवृत्तिहरूको निवारण गर्दै परमात्मस्वरूप प्राप्तिमा जोर दिएका छन्।
योगश्चित्तवृत्तिनिरोधः । (यो.सू. १.२)
तदा द्रष्टुः स्वरूपेऽवस्थानम् । (यो.सू. १.३)
चित्तवृत्तिहरूको निरोधपूर्वक एकाग्रता प्राप्त गरेर परमात्मस्वरूपको स्थितिमा पुग्न सकिन्छ। ध्यानमा निमग्न रहेको साधक विचारशून्य भई निर्विचार अवस्थामा समाधि प्राप्त गर्दछ। समाधि अवस्थामा प्राप्त योगी अनन्त परमात्माको साक्षात्कार गर्न सक्दछ।
यस समाधि अवस्थासम्म पुग्न तन, मन र वचनको शुद्धतामा जोर दिइएको छ। पवित्र विचारवान् साधक यस मार्गमा अगाडि बढ्न सक्छ। यसका लागि एउटा मार्ग यज्ञ आदि अनुष्ठान पनि बताइएको छ।
यज्ञद्वारा वातावरण शुद्ध हुन्छ। वातावरण शुद्ध भई सदाचार र ब्रह्मचर्यको भावना उत्पन्न हुँदै बलवती हुन्छ। यही सदाचार र ब्रह्मचर्य दृढ हुँदै जाँदा परमतत्त्व प्राप्त गर्ने जिज्ञासा बढ्दै जान्छ।
मानिस आफ्नो ध्येय प्राप्तिका लागि वैदिक ज्ञान अनुसार पुरुषार्थमा रत हुन्छ। यही ऋषिमुनिहरूले सिकाएको अध्यात्ममार्गको बाटो वेदज्ञानबाट प्राप्त हुन्छ।
जीवनमा धर्मको जिज्ञासा राख्ने जिज्ञासुहरूका लागि वेदको धेरै महत्व रहेको छ। वेदमा अध्यात्मसँगसँगै विज्ञान, गणित, भूगोल, भौतिकी, आयुर्विज्ञान र वनस्पतिविज्ञान आदि विषयमा वर्णन गरिएको पाइन्छ।
ब्रह्माण्डमा विचरण गर्ने सूर्यादि ग्रह, नक्षत्रहरूका बारेमा ऋग्वेद (१.९२.१) मा वर्णन गरिएको छ।
एता उ त्या उषसः केतुमकत पूर्वे अर्धे रजसो भानुमञ्जते ।
निष्कृण्वाना आयुधानीव धृष्णवः प्रति गावोऽरुषीर्यन्ति मातरः ॥
यस सृष्टिमा सूर्यको उज्यालो सधैँ आधा भागमा मात्र प्रकाशित हुन्छ। आधा भागमा सधैँ अन्धकार रहन्छ। सूर्यका प्रकाश बिना कुनै पदार्थको ज्ञान हुँदैन।
जसरी वीरहरूले शस्त्रहरू चम्काउँछन्, त्यसरी नै सूर्यका किरण आफ्ना प्रकाशले संसारलाई प्रकाशित गर्दै अगाडि बढ्दछन्।
औषधिका बारेमा यजुर्वेद (१२.७५) मा भनिएको छ,
या ओषधीः पूर्वाजाता देवेभ्यस्त्रियुगं पुरा ।
मनैनुबभ्रूणा मह शतं धामानि सप्त च ॥
सृष्टिका आरम्भमा जुन औषधिहरूलाई देवताहरूले वसन्त, वर्षा र शरद् ऋतुमा उत्पन्न गरे। ती संसारको रचनामा समर्थ पाकेर पहिलो वर्ण भएका औषधिहरूका सयौँ र धान्य आदिका सात सात वटा नामलाई म जान्दछु।
यस प्रकार सबै विषयको ज्ञानकोष वेद हो। हाम्रो दैनिक जीवनका कर्महरू, सामाजिक कर्महरू र राजनीतिक एवं आर्थिक विचारधाराहरू कुनै न कुनै रूपमा प्रभावित छन्। तसर्थ हामीले वैदिक जीवनलाई आत्मसात् गर्नु आवश्यक एवं उपयोगी छ।
कौण्डिन्य पदम














