पूर्ख्यौली वृतान्त
जुम्ला राज्य नेपालको पश्चिमी क्षेत्रमा अवस्थित मध्यकालीन बाइसे राज्यहरू मध्ये एक प्रमुख र शक्तिशाली राज्य थियो । यसको स्थापना वि.सं. १४६१ (ई.स. १४०४) मा खस मल्ल साम्राज्यको विघटनपछि भएको थियो । सिंजा उपत्यकाबाट शासित यस राज्यमा कल्याल वंशको शासन रहेको थियो । यस राज्यले कर्णाली क्षेत्रको राजनीति, संस्कृति र अर्थतन्त्रमा करिब ४०० वर्षसम्म निर्णायक भूमिका खेल्यो । यस लेखमा जुम्ला राज्यको उत्पत्ति, प्रमुख राजाहरूको शासनकाल र उनीहरूको योगदानका बारेमा विस्तृत व्याख्या, विवेचना गर्ने प्रयास गरिएको छ ।
ऐतिहासिक पृष्ठभूमि
जुम्ला राज्यको इतिहास मूलतः खस मल्ल साम्राज्य (सिंजा साम्राज्य) सँग जोडिएको छ, जसले १२ औं शताब्दीदेखि १४ औं शताब्दीको मध्यसम्म विशाल कर्णाली र पश्चिमी नेपालमाथि शासन गरेको थियो । सिंजा साम्राज्यका अन्तिम प्रभावशाली राजा पृथ्वी मल्लको मृत्यु (वि.सं. १३८३–१४१०) पछि आन्तरिक कलह र क्षेत्रीय महत्त्वाकांक्षाका कारण यो विशाल राज्य कमजोर हुँदै गयो र विभिन्न साना राज्यहरूमा टुक्रिन पुग्यो (नेपाल, २०५०) । यसै विघटनको क्रममा खस राज्यको भग्नावशेषमा एक स्वतन्त्र राजनीतिक शक्तिको रूपमा जुम्ला राज्यको उदय भएको देखिन्छ । यो राज्यको स्थापना वलीराज शाहीले वि.सं. १४६१ मा सिंजा उपत्यकालाई केन्द्र बनाएर गरेका थिए । जुम्ला राज्यले कर्णाली क्षेत्रको सभ्यता र खस भाषाको विरासतलाई निरन्तरता दिँदै चार शताब्दीसम्म महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
जुम्ला राज्यका राजाहरू
खस राजा पृथ्वी मल्लको पतनपछि जुम्ला राज्यमा कल्याल वंशको शासन चलेको थियो । कल्याल वंशका राजाहरूले शाही’ उपाधि धारण गर्थे । बलीराजदेखि सूर्यभान शाहीसम्मका राजाहरूले करिब चार शताब्दीसम्म यस क्षेत्रको नेतृत्व गरी शासन गरेको देखिन्छ । यी राजाहरूको संक्षिप्त परिचय निम्नानुसार छ :
वलीराज शाही
बलिराज मुगुको कालै गाउँका सामन्त उत्तमराजका छोरा थिए, उनका पिता–पुर्खाले खस राज्यकालमा सेना र प्रशासनका उच्च पदहरूमा रहेर सेवा पुर्याएका थिए । राज्यका अन्तिम राजा अभय मल्लले बलिराजलाई धर्मपुत्र बनाएका थिए, वि.सं. १४५० तिर सिंजासम्म मलयवर्माले शासनगर्दा बलिराजले मुगु र डोल्पाभेक आफ्नै अधीनमा राख्न सकेका थिए । वि.सं. १४५५–५७ का केही अभिलेखमा बलिराजलाई जुम्लाका राजाको हैसियतमा उल्लेख गरिएको छ । बलिराजमा सानै उमेरदेखि राजोचित गुण र नेतृत्व क्षमताका लक्षणहरू प्रस्ट झल्किन्थे ।
मलयवर्माले चारैतिर हस्तक्षेप गर्दैं ल्याएपछि अभयमल्ल राजधानी सिंजा छोडी पलायन हुन बाध्य भए तापनि उनका धर्मपुत्र बलिराजले मुगुतिरबाट झराली सैनिक जम्मा गरी प्रतिरोध गरिरहे । मलयवर्माले बलिराजलाई षड्यन्त्र गरि मार्ने योजना बनाए तर सफल भएनन् । पछि गएर उनका छोरा मेदिनी वर्मा अर्थात् जत्तिसिंहसँग भने बलिराजको राम्रै सम्बन्ध कायम भयो । बलिराजलाई जुम्लाका स्वतन्त्र राजा हुन दिएर मेदिनी वर्मा जाजरकोतिर लागे । यी दुई राजाबीच वैवाहिक सम्बन्ध कायम भएको अनुमान गरिएको छ ।
बलिराजको वि.सं. १४५७ को अभिलेखमा राजधानीको रूपमा “जुम्लास्थाने सुबर्नहारनाम नगरे” अर्थात् जुम्ला तातोपानी नजिक सुनारगाउँको उल्लेख भएको छ । त्यसो हुँदा उक्त मितिभन्दा पहिले नै वलिराजले जुम्ला आफ्नो अधिकारमा ल्याइसकेको देखिन्छ । उनलाई यस कार्यमा देवास जैसी, शिवशर्मा जैसी, विष्णुदास पाध्या, रामदास पाध्या, चैतुवा कठाइत आदिको ठूलो सहयोग प्राप्त भएको देखिन्छ । पछिल्लो समयमा बलिराज जुम्लामा यति बलिया भइसकेका थिए कि मेदिनीवर्माले चाहेर पनि उनलाई हटाउन सक्ने स्थिति थिएन ।
यी दुई–बीच सुलह (दुष्मनहरू बीच गरिने सहमति) सम्झौता भयो र वैवाहिक सम्बन्धसमेत कायम गरियो । बलिराजलाई जुम्लाका स्वतन्त्र राजा स्वीकार गरेर राज्याभिषेक गर्ने निर्णय गरियो । तदनुसार मेदिनीवर्माकै सहमतिले उनकै उपस्थितिमा वि.सं. १४६१ मार्ग सुदि १४ आइतबारको शुभमुहूर्तमा पुरानो राजधानी सिंजामा जम्मा भई धुमधामसँग बलिराजको राज्याभिषेक सम्पन्न गरियो । बलिराज पहिले नै राजा भइसकेका भए तापनि राज्याभिषेक भएको तिथिमिति यही देखिन्छ ।
वलीराज शाहीलाई जुम्लाको कल्याल वंशका संस्थापक राजा मानिन्छ । उनले खस मल्ल साम्राज्यको अन्त्यपछिको अराजकतालाई चिर्दै सिंजा उपत्यका र वरपरका क्षेत्रलाई नियन्त्रणमा लिएर जुम्ला राज्यको जग बसाले (श्रेष्ठ, २०६३) । वलीराजको नेतृत्वमा जुम्लाले एक सुदृढ प्रशासनिक र सैनिक आधारशिला तयार गर्यो, जसले गर्दा उनले वरपरका कमजोर भएका क्षेत्रीय शक्तिहरूलाई नियन्त्रणमा लिन सफल भए । उनको यो कदमले जुम्लालाई कर्णाली क्षेत्रको प्रमुख राजनीतिक शक्तिको रूपमा स्थापित गरेको देखिन्छ ।
बत्सराज
बलिराजपछि उनका बेठा छोरा बत्सराज जुम्लाका राजा भए । वंशावलीमा उनलाई वक्षराज भनिएको छ । उनका भाइहरू कनकराज र विमातृपट्टिका बलालदेव थिए । उनका पालाका एउटै मिति श्रीशाके १३७२ समये आषाढ सुदि द्वितीया… विनगता १५ (वि.सं. १५०७ असार १५ गते) का तीनवटा भूमिदान सम्बन्धी ताम्रपत्र पाइएका छन् । ती ताम्रपत्र सवितु जैसी र वादु जैसीलाई ब्रह्मविर्ता दिँदाका हुन् ।
खस साम्राज्यको पुरानो राजधानी सिंजा लामावाडा थियो । बलिराजले जुम्ला तातोपानी नजिकै सुनारगाउँलाई आफ्नो राजधानी बनाएका थिए । तर बत्सराजका अभिलेखमा ’श्री बत्सराज नरेश्वर उति(सा) मन्त संवृत जाच विस्वयाधिपा जाचाधिपोय’ भन्ने उल्लेख बाएकाले उनले सिंजा उपत्यकामा पर्ने जाँच गाउँको नराकोटलाई आफ्नो नयाँ राजधानी बनाएको देखिएको छ । सुनारगाउँबाट लामाथाडा जाँदा बीच बाटोमा नराकोट पर्दछ । अभिलेखमा उल्लेख भएअनुसार चारखण्ड भएको, चुनाले पोतेर सेतो बनाइएको सर्वतोभद्र’ नाम गरेको उनको दरबार थियो । यही दरबारमा बसेर उनी आफ्ना पिताले आर्जन गरेको राज्य चलाउँथे ।
बत्सराजका अभिलेखमा प्रयुक्त प्राञ्जल संस्कृत गद्यलाई दृष्टिगत गर्दा यीनका दरबारमा संस्कृतका ज्ञाता ठूला विद्वान्हरूले आश्रय र सम्मान पाएको देखिन्छ । उनले विद्याको उन्नतिमा विशेष योगदान दिएको बुझिन्छ । अभिलेखहरूमा गर्वितराजगगनप्रताप,अरिराजभूतभैरव आदि भनेर सामान्त राजाहरूलाई आफ्नो काबुमा राख्न सफल प्रतापी राजाको रूपमा वर्णन गरिएको पाइन्छ ।
विजयराज
बाबुराम आचार्य, योगी नरहरिनाथ, प्रा. जिसेप दूची र ‘यात्री’ ले प्रकाशित गरेका कल्याल वंशावलीहरूमा वत्सराजपछि उनका छोरा विजयराज जुम्लाका राजा भएको उल्लेख छ । तर अन्य केही वंशावलीले वत्सराजपछि विशेषराज राजा भएको बताएका छन् । सूर्यमणि अधिकारीद्वारा २०४३ सालमा प्रकाशित पश्चिम नेपालको ऐतिहासिक अन्वेषण नामक पुस्तकको पृष्ठ (१७–१९) मा वत्सराजपछि विशेषराज राजा भएको भनेर लेखिएको थियो तर अलि गहिरिएर अध्ययन गर्दा विजयराज पनि जुम्लाका राजा भएको देखिन आएको छ ।
पछि हुने राजा बहादुर शाहीको वि.सं. १६९३ को ताम्रपत्रमा “जो रेष विजैराजले मया गरÞ्या थियो उई रेष उजारी पुराना कथा नवा ताना गरि मया भैछ“ अर्थात् विजयराजबाट निगाह भएको भूमिलाई मैले पनि नवीकरण (कायम) गरिदिएको छु भनिएकाले विजयराजको अस्तित्व प्रमाणित हुन आएको छ । यसअनुसार मुगु दोल्फूको प्रसिद्ध बौद्ध गुम्बाको खर्च चलाउन राजा विजयराजले दोल्फू गाउँको भूमि गुठी राखिदिएको देखिन्छ । यसप्रकार बत्सराजपछि उनका छोरा विजयराज जुम्लाका राजा बनेको प्रमाणित भएको छ ।
विशेषराज
विजयराजपछि उनका छोरा विशेषराज जुम्लाका राजा भए । विशेषराजका भाइहरू विशुद्धराज र वामराज थिए भने छोराको नाम विवोषराज (शाही) थियो । विवोषशाहीले वि.सं. १५५५ को ताम्रापत्रमा आफ्ना पिता विशेषराजले दान गरेको थप भूमिसमेत (विशेषराजकि थप सुदा) भन्ने उल्लेख गरेका छन् । विवोषशाहीका काकाहरू विशुद्धराज र वामराज पनि त्यस दानपत्रमा दृष्टसाक्षी रहेका छन् । यसरी राजा विशेषराज र उनका भाइहरूको अस्तित्व वंशावलीका अतिरिक्त अन्य स्रोतहरूबाट प्रमाणित भएको छ ।
विवोषराज (शाही)
विशेषराजपछि उनका जेठा छोरा विवोषराज राजा भएको उल्लेख वंशावलीले गरेको छ। राजा विवोष शाहीले जुम्ला छिनासिम रजस्थानबाट वि.सं. १५५५ मा जारी गरेको एउटा ताम्रपत्र आदेश प्राप्त भएको छ । त्यसो हुँदा वंशावलीका विवोषराज र ताम्रपत्र जारी गर्ने विवोषशाही उही व्यक्ति भएको निश्चित हुन्छ । कल्याण राजवंशमा शाही पद ग्रहण गर्ने यिनी पहिला राजा थिए ।
उक्त ताम्रपत्रका खोजकर्ता योगी नरहरिनाथले विवोषशाहीको नाम अगाडिको पद ‘कार्वरिक’ भन्ने पढेर ‘महाराजाधिराज कार्वरिक… विवोषसाइ पादां’ भनेर लेखेका छन् । तर त्यो पद कार्बरिक नभएर ‘कार्यटिक’ हो भन्ने देखिन्छ । यस अभिलेखको विवोषशाहीको विरुदावली सूर्यमल्लको वि.सं. १४२४ को ताम्रपत्रमा उल्लिखित विरुदावलीसँग अक्षरशः मिल्दछ । त्यसमा ‘महाराजधिराज कार्पटिक… सूर्यमल्ल पादाः’ विवोष शाही कसैको कारोबारिया (कार्वरिक) नभएर स्वतन्त्र राजा थिए भन्ने कुरा निश्चित हुन्छ ।
राजा विवोष शाही मुस्ताङ भोट गई मुस्ताङलाई जुम्लाको अधीनस्थ बनाएर सिर्ती उठाई ल्याउन सफल भएका थिए । उनी मुस्ताङ जाँदा र फर्कदाको यात्रा विवरण लिखितरूपमा प्राप्त भएको छ । त्यस यात्रा विवरणलाई पूर्णप्रकाश नेपाल ’यात्री’ ले राजा गगनिराजको यात्रा नामक शीर्षक दिएर प्रकाशित गरेका छन् । नेपालको यात्रा साहित्यको इतिहासमा त्यो विवरण अहिलेसम्म प्राप्त भएकोमा सबभन्दा पुरानो भएकाले त्यसको असाधारण महत्त्व मानिएको छ ।
राजा विवोष शाहीले राजगुरु यक्षराजलाई सिञ्जाका ५० खेतसहित विभिन्न आलो (खेत) र टालो (पाखो बारी) ब्रह्मबिर्ता दिएका थिए । त्यस दानपत्रको अन्तमा “राजगुरुको प्रतिपालन गर्नु ज्यू” भनिएको छ ।
मणिराज (शाही)
वंशावली अनुसार विवोषराज (शाही) का मणिराज, वृन्दराज, वीरभानराज र भाउसिंहराज नामका चारजना छोरा भए । जेठा मणिराज आफ्ना पितापछि जुम्लाको राजसिंहासनमा बसे ।वंशावलीको उक्त भनाइमा मणिराजका राज्यकालमा उनका चार जना दाजुभाइबीच फाटो परेको, भाइहरू विखण्डिएर कोही बझाङ, कोही अछामतिर लागेपछि मणिराज सहयोगका लागि दैलेख पुगेकोमा दैलेखीहरूले नुन आपूर्ति गरिदिने सर्त राखेको, बाइस पाखा जुम्लाका प्रमुख मानिसहरू बसेर सरसल्लाह गरेको, अरू सबै पछाडि हटेको र श्रीकर आचार्य रिटी गएकोमा त्यहीं सिकिस्त बिरामी परेको, मणिराज गलेखोलातिर – लागेको आदि कुरा परेका छन् । यी कुरालाई आधार मानेमा मणिराजका पालामा कल्याल राजपरिवारमा गृहकलहले चर्को रूप लिएको बुझिन्छ । अहिलेसम्म राजा मणिराजको कुनै प्रामाणिक अभिलेख प्राप्त भएको छैन ।
भान शाही
मणिराजपछि उनका जेठा छोरा भान शाही जुम्लाका राजा भएको उल्लेख वंशावलीमा (अ.सं. ५) मा गरिएको छ । अहिलेसम्म भान शाहीका वि.सं. १५८६ देखि १६४२ सम्मका अभिलेख प्राप्त भएका छन् । तदनुसार उनले बालककालमै राजा भएर कम्तीमा पनि ५६ वर्ष जुम्लाको राजकाज चलाएको देखिन्छ । भान शाहीका भाइ मान शाही थिए ।
मान शाहीका वि.सं. १६४२ देखि १६५९ सम्मका भूमिदानसँग सम्बन्धित अभिलेख पाइएका छन् । तथापि मान शाही स्वयं राजा भएका थिएनन् । उनले आफ्ना दाजु भान शाहीलाई राजकाजमा सहयोग गरेका मात्र थिए । भान शाहीकी रानीको नाम भानमता थियो । उनको नाम निम्नानुसार एक आदेशमा उल्लेख भएकाले राजकाजमा उनको पनि महत्त्वपूर्ण सहभागिता रहेको देखिन्छ । भान शाहीका पालामा जुम्ला राज्यको प्रतिष्ठामा ठूलो वृद्धि भएको थियो ।
नेपालका राजाहरूमा सर्वप्रथम श्री ५ को पदवी लिने भान शाही नै थिए । उनको लामो शासनकालमा उनका मन्त्री तथा सल्लाहकारहरूमा हित प्रताप कार्की, विष्ट रामसिंह, विष्ट जोगु कार्की, विष्ट राइभान, सुमन्तु विष्ट, हितं परिमल राजा, सुर्तान विष्ट आदि थिए । विष्ट तथा हित (हितान) शब्दले काजी र सल्लाहकारलाई जनाउँथे । त्यसै गरी मनु पाध्या, सावल्लो जैसी, माधु जैसी, चिन्तामणि जैसी, करुणाकर उपाध्या, मुकुन्द भण्डारी, शायु (सागर) जैसी, काशीदास पाध्या आदि ब्राह्मणहरूले उनका दरबारमा सम्मान पाएका थिए । तर भान शाहीका पालादेखि अभिलेखहरूको भाषाको स्तर ज्यादै खस्केको पाइएकाले यिनीहरू सामान्य साक्षर मात्र थिए भन्ने देखिन्छ ।
सिलिम शाही
राजा भान शाहीका दुइटा अभिलेखमा राजकुमार सिलिम शाहीको नाम पनि उल्लेख भएको छ । सिलिम शाहीले राजाको हैसियतले जारी गरेका वि.सं. १६४८ देखि १६५६ सम्मका चारवटा अभिलेख प्राप्त भएका छन् । यसो हुँदा भान शाहीपछि उनका छोरा सिलिम शाही जुम्लाका राजा भएका देखिन्छन् । राजकाजमा यिनका प्रमुख सहयोगीहरूमा विष्ट (काजी) अमोघ महत्र, पं. करुणाकर जैसी, विष्ट जसु चाहाड, सन्तु जैसी, विन्त्यारू (दूतक) संसार चाहाड आदि भएको देखिन्छ ।
यिनका पिता भान शाहीको ५६ वर्षभन्दा लामो शासनावधि देखिएकाले यिनी शासन कार्यको अनुभव सँगालेको परिपक्व उमेरमा राजा भएको देखिन्छ तापनि वंशावलीले यिनलाई बौलाहा भयो भनेर लेखेकाले यिनी राजा हुँदै मानसिक रूपले विक्षिप्तावस्थामा पुगेछन् कि भन्ने देखिन्छ । प्रा. रामनिवास पाण्डेले सलिम शाही (सिलिम शाही) ले जुम्लाका प्रजाहरूलाई करको बोझ कम गराई विभिन्न प्रकारका टन्टाबाट मुक्त गराएकाले उनी ’मुक्ति शाही’ नामले प्रसिद्ध भए भनी लेखेका छन् ।
विक्रम शाही
सिलिम शाहीपछि उनका छोरा विक्रम शाही राजा भए । अहिलेसम्म विक्रम शाहीका वि.सं. १६५९ देखि वि.सं. १६८८ सम्मका तीनवटा अभिलेख प्राप्त भएका छन् । विक्रम शाहीले वि.सं. १६७७ मा रास्कोटका सामन्त तथा आफ्ना नातेदार शाइमल शाहीलाई औलमान्म र शिखरमात्म बकस दिएको अभिलेख प्राप्त भएको छ ।
विक्रम शाहीका अभिलेखहरू वि.सं. १६५९ देखि १६८८ सम्मका पाइएकाले यिनले ३० वर्षभन्दा बढी समयसम्म जुम्लाको राजकाज चलाएको देखिन्छ । यिनका प्रमुख सहयोगीमा बियार जैसी, करुणाकर जैसी, विन्त्यारू रारुपढाइ विष्ट, जोगी प्रणव विष्ट, हित चन्दुराज, हित्त परिमलराजा, अमोघराज, विष्ट जोगु महत्र, विन्त्यारू काम्डि महत्र, हरि जैसी, मकुंतन जैसी, जगन्नाथ जैसी आदि थिए ।
राजा विक्रम शाहीले बौद्ध गुम्बाहरूको संरक्षणमा पनि अभिरुचि लिएका थिए । उनले डोल्पा गुम्बातारास्थित धाडसा गुम्बाको संरक्षणमा सहयोग गरेका थिए भन्ने सम्बन्धमा स्थानीय विश्वास यस्तो छ ’राजा विक्रम शाहीले यस गुम्बालाई निकै धनी दिएर परिपूर्ण पार्न सहयोग गरेका थिए । उनले आफ्नी आमाको पुण्यलाभका निमित्त यहाँ नित्यपूजाको व्यवस्था गरेका थिए । त्यसैकारण यहाँ (उनकी) आमाको सालिक देखिन आयो । त्यस सालिकको उचाइ १० इन्च र चौडाइ ७ इन्च छ । सालिकको दाहिने हात बरद मुद्दामा छ र बायाँ हात उत्तानो पारेर खालि राखिएको छ ।
त्यस्तै तिब्रिकोटस्थित त्रिपुरासुन्दरीको मन्दिरभित्र राजा, रानी र राजकुमारका सालिक भेटिएका छन् । उक्त मूर्तिहरू रानी सुनकेसरा र उनका राजकुमारका सालिक हुन् भन्ने निष्कर्ष निकालिएको छ । यिनबाट मध्यकालीन मूर्तिकला, पोशाक तथा आभूषण सम्बन्धमा जानकारी पाउन सकिन्छ ।
बहादुर शाही
राजा बहादुर शाही जुम्लाका शक्तिशाली राजा विक्रम शाहीका पुत्र थिए र उनको शासनकाललाई जुम्ला राज्यको स्थायित्व र विस्तारको महत्वपूर्ण समय मानिन्छ । उनी जुम्लाको संस्थापक बलिराज शाहीको वंशावलीमा आठौँ पुस्तामा पर्दथे । करिब वि.सं. १६९२ देखि १७२२ (ई.सं. १६३५–१६६५) सम्म शासन गरेका बहादुर शाहीले आफ्नो राज्यको आन्तरिक व्यवस्थापनलाई सुदृढ तुल्याए र छिमेकी बाइसे तथा चौबिसे राज्यहरूसँगको सम्बन्धलाई कुशलतापूर्वक सञ्चालन गरे । उनको शासनकालमा जुम्लाले आर्थिक र सैनिक दुवै दृष्टिले उन्नति गरेको मानिन्छ, जसले गर्दा यो राज्य कर्णाली क्षेत्रको एक प्रमुख राजनीतिक केन्द्रको रूपमा कायम रह्यो । उनी केवल प्रशासक मात्र नभई एक कुशल रणनीतिकार पनि थिए, जसले आफ्नो वंशको प्रभुत्वलाई सफलतापूर्वक कायम राखेको देखिन्छ ।
वीरभद्र शाही
बहादुर शाहीका उत्तराधिकारी राजा वीरभद्र शाही, आफ्नो पिताको निधनपछि करिब वि.सं. १७२२ देखि १७३२ (ई.सं. १६६५–१६७५) तिर जुम्लाको सिंहासनमा बसेका थिए । उनी बलिराज शाहीको वंशका नवौँ पुस्ताका शासक थिए । वीरभद्र शाहीले आफ्नो पिताले स्थापित गरेको बलियो आधारलाई निरन्तरता दिए र आफ्नो छोटो शासनकालमा पनि जुम्लाको शक्तिलाई कायम राख्न सफल भए । जुम्लाको ऐतिहासिक वंशावली अनुसार, यी दुवै राजाहरूको शासनकाल बाइसे राज्यहरूको कालखण्डमा जुम्लाको स्वर्णयुगको रूपमा चिनिन्छ, जहाँ उनीहरूले कला, संस्कृति र स्थानीय धार्मिक परम्पराहरूलाई पनि संरक्षण प्रदान गरेका थिए। यसरी बहादुर शाही र वीरभद्र शाहीले जुम्ला राज्यको इतिहासमा एक शक्तिशाली र स्थिर वंशको परम्परालाई अगाडि बढाएका थिए ।
पृथ्वीपति शाही
पृथ्वीपति शाही जुम्ला राज्यको इतिहासमा सबैभन्दा शक्तिशाली र प्रभावशाली शासकहरूमध्ये एक मानिन्छन् (Regmi,1975)। उनको शासनकाल (ई.स. १७ औं शताब्दीको अन्तिम भाग) जुम्लाको उत्कर्षको समय थियो, जहाँ राज्यले सैन्य र आर्थिक दुवै रूपमा बलियो अवस्था हासिल गरेको थियो । उनको शासनकालमा जुम्लाले आफ्नो प्रभाव विस्तार गर्यो । यद्यपि, उनको शासनकालमा नै पूर्वमा गोर्खा राज्यको बढ्दो महत्त्वाकांक्षा र विस्तार नीतिसँग जुम्लाको पहिलो पटक प्रत्यक्ष संघर्ष प्रारम्भ भयो । उनले आफ्नो शक्ति प्रयोग गरी गोर्खाको विस्तारलाई केही समयसम्म रोक्न सफल भए पनि, यसले भविष्यमा आउने ठूलो चुनौतीको सङ्केत देखाएको स्पस्ट हुन्छ ।
सुरथ शाह
सुरथ शाह जुम्लाको कल्याल राजखलक अन्तर्गतका एक महत्त्वपूर्ण शासक थिए । उनी राजा मान शाहका सुपुत्र थिए र उनको शासनकाललाई जुम्ला राज्यको स्थायित्व र निरन्तरताको कडीका रूपमा हेरिन्छ । सुरथ शाहले आफ्नो समयमा राज्यको आन्तरिक व्यवस्थालाई मजबुत पार्दै छिमेकी राज्यहरूसँगको सम्बन्धलाई सन्तुलित बनाएको विश्वास गरिन्छ । उनको शासनकालको सुदृढ जगले गर्दा नै उनका उत्तराधिकारीले भौतिक विकासका ठूला कार्यहरू गर्न सफल भएका थिए । उनलाई जुम्लाको कल्याल वंशको शक्तिलाई आफ्नो पुस्तामा स्थिर राख्ने राजाको रूपमा लिइन्थ्यो ।
सुदर्शन शाह
सुदर्शन शाह जुम्लाका राजा सुरथ शाहका प्रभावशाली पुत्र तथा कल्याल वंशका एक प्रख्यात शासक हुन् । उनको शासनकाल (विशेष गरी १७औँ शताब्दीको मध्यतिर) भौतिक निर्माणका लागि अविस्मरणीय छ । ऐतिहासिक अभिलेखहरूले सुदर्शन शाहको नेतृत्वमा वि.सं. १७०२ देखि १७०९ सालको अवधिमा जुम्लाको राजधानी छिनासिममा अत्यन्तै भव्य दरबारको निर्माण भएको प्रमाणित गर्छन् । यो दरबार उनको शक्तिको प्रतीकका साथै जुम्लाको कला र वास्तुकलाको महत्त्वपूर्ण नमुना थियो । दरबार निर्माणसँगै उनले राज्यको प्रशासनिक र धार्मिक व्यवस्थालाई पनि व्यवस्थित गरी जुम्ला राज्यलाई समृद्ध र शक्तिशाली अवस्थामा पुर्याएको देखिन्छ ।
सूर्यभान शाही
जुम्ला राज्यको कल्याल वंशका अन्तिम स्वतन्त्र राजा सूर्यभान शाही थिए । उनले वि.सं. १७७८ देखि १८४६ सम्म जुम्लामा शासन गरेको अनुमान गरिन्छ । उनको शासनकाल जुम्लाको इतिहासमा सबैभन्दा निर्णायक मोडको रूपमा चिनिन्छ। उनको समयमा, नेपाल एकीकरणको अभियानमा रहेको गोरखा राज्यले जुम्लालाई आफ्नो निशाना बनाएको थियो । शक्तिशाली बाइसे राज्यको रूपमा जुम्लाले लामो समयसम्म गोरखाली सेनाको प्रतिरोध गरेको थियो । तर, वि.सं. १८४६ मा, गोरखाका राजकुमार बहादुर शाहको नेतृत्वमा आएको ठूलो सैन्य अभियानका सामु जुम्लाले आत्मसमर्पण गर्नुपर्यो ।
ऐतिहासिक मतहरूका अनुसार, राजा सूर्यभान शाहीका काका सुभान शाहीको घमण्ड र गोरखासँग सम्झौता नगर्ने अडानका कारण जुम्लाले युद्ध रोजेको र अन्ततः हार बेहोरेको मानिन्छ, जसले गर्दा सिजा (जुम्लाको राजधानी) ध्वस्त भयो र जुम्ला राज्य नेपाल अधिराज्यमा गाभिन पुग्यो । सूर्यभान शाहीको पतनसँगै जुम्ला राज्य गोर्खा अधिराज्यमा विलय भयो र करिब ४०० वर्ष लामो कल्याल वंशको शासन समाप्त भयो । उनको शासनसँगै मध्यकालीन कर्णाली क्षेत्रको एक गौरवशाली स्वतन्त्र राज्य जुम्लाको अन्त्य भयो ।
निष्कर्ष
जुम्ला राज्य नेपालको मध्यकालीन इतिहासमा खस सभ्यताको राजनीतिक र सांस्कृतिक धरोहरको रूपमा खडा रहेको एक शक्तिशाली बाइसे राज्य थियो । वलीराज शाहीद्वारा वि.सं. १४६१ मा स्थापित यो राज्यले लगभग चार शताब्दीसम्म कर्णाली क्षेत्रमा आफ्नो प्रभुत्व कायम राख्यो । यो राज्य केवल एउटा प्रशासनिक केन्द्र मात्र नभएर खस भाषा र संस्कृतिको उद्गमस्थल सिंजा उपत्यकाको राजनैतिक निरन्तरताको रूपमा पनि महत्त्वपूर्ण रह्यो (श्रेष्ठ, २०६३) ।
राजा पृथ्वीपति शाहीको नेतृत्वमा यो राज्य आफ्नो सैन्य र भौगोलिक उत्कर्षमा पुगेको थियो, जसले गर्दा तत्कालीन अवस्थामा शक्तिशाली गोर्खा राज्यको विस्तारलाई समेत यसले चुनौती दिन सकेको थियो। जुम्ला राज्यको शक्तिले यसका छिमेकी राज्यहरू, डोटीदेखि लिएर तिब्बतसम्मका व्यापारिक मार्गहरूमा समेत प्रभाव पारेको थियो। जुम्लाको पतन केवल एक राज्यको विलय मात्र थिएन, यो बाइसे राज्यहरूको स्वतन्त्र राजनीतिक युगको समाप्ति को एउटा महत्त्वपूर्ण कडी थियो ।
सूर्यभान शाहीको पराजयसँगै वि.सं. १८४६ मा जुम्ला नेपालमा समाहित भएपछि, कर्णाली क्षेत्रको राजनैतिक इतिहासमा नयाँ मोड आयो । जुम्ला राज्यको इतिहासले कर्णाली क्षेत्रको गहिरो राजनैतिक, भाषिक, र सांस्कृतिक जराहरूलाई मात्र उजागर गर्दैन, बरु यसले तत्कालीन नेपालको सङ्घीय स्वरूप र त्यसको एकीकरणको जटिल प्रक्रियालाई बुझ्नका लागि पनि एक महत्त्वपूर्ण आधार प्रदान गर्दछ (अधिकारी, २०४६) । आज पनि जुम्लाको इतिहासले नेपालको राष्ट्रिय पहिचान, भाषाको विकास र क्षेत्रीय विविधताको अध्ययनका लागि अमूल्य सामग्री प्रदान गर्दछ ।
सन्दर्भ सूची
अधिकारी, सूर्यमणि (२०४६), नेपालको एकीकरणको इतिहास (दोस्रो खण्ड), साझा प्रकाशन ।
नेपाल, ज्ञानमणि (२०५०), नेपालको मध्यकालीन इतिहास, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
श्रेष्ठ, डिल्लीराम (२०६३), कर्णाली प्रदेशको इतिहास तथा संस्कृति, रत्न पुस्तक भण्डार ।
Regmi, D.R. (1975).Modern Nepal (Vol .I & II). Firma K. L.Mukhopadhyay.














