हाम्रोतिर एक जनाको अन्तरजातीय प्रेम विवाह भएको छ। केटा थापा थरका क्षेत्री र केटी दलित हुन। तर केटा पक्षले घरबाट निकालेर गाउँदेखि तल राखेका छन्। छुट्टै घर बनाएका छन्।
नमस्कार मेरो नाम कविता वि.क हो। मेरो घर जाजरकोट जिल्ला बारेकोटमा पर्छ। म स्नातक तहमा पढिरहेकी थिएँ। मेरो मेजर विषय नेपाली र स्वास्थ्य हुन। तर पढ्दापढ्दै विवाह भएकाले मेरो पढाइ रोकियो।
आज म तपाईंहरूलाई हाम्रो तिर भएका जातीय विभेद र महिनावारी विभेदको विषयमा जानकारी दिन चाहन्छु।
हाम्रो गाउँघर तिर जनचेतनाको अभाव भएकोले महिनावारी हुँदा मेरो आफ्नै आमाले पनि खाना दिँदा अलग्गै दिनुहुन्थ्यो। अनि बाबाले चाहिँ नुहाइधुवाइ गरेपछि मात्र घरभित्र आउन मिल्छ भन्नुहुन्थ्यो।
घरभित्र पनि अलग्गै बसाल्नुहुन्थ्यो। खाना पनि अलग्गै दिनुहुन्थ्यो। तर दूध, दही चाहिँ खान दिनुहुन्थ्यो। यो हो माइतीको कुरा। त्यहाँ आमा भन्दा बाबा सजिलो हुनुहुन्थ्यो।
आजभोलि पोइली घरतिर महिनावारी विभेद झन् धेरै छ। करेसाबारी तिर गएर हरियो खुर्सानी र अन्य बिरुवा छुन नपाउने, दूध दही जस्ता पोसिला खानेकुरा खान नपाइने, अनि गाईवस्तुलाई पानी दिन नहुने। महिनावारी हुँदा घाँस काट्न पाइने तर घाँस हाल्न नपाइने समस्या छ।
यस्तो खालको विभेद दलित भन्दा गैरदलितहरूमा अझ धेरै छ। सुत्केरी भएको ४, ५ दिनसम्म धामीझाँक्रीलाई छुन नपाइने, गोठभित्र बस्नुपर्ने। सुरक्षा त कता हो कता अझै सुत्केरीलाई मानसिक रुपमा समेत असर पारेको छ।
मैले स्कुलमा जातीय विभेद त्यस्तो भोगिनँ। एक दिनको कुरा हो हाम्रो तिर पानी घट्ट हुन्छन्। म लगायत केही साथीहरू घट्ट गएका थियौँ। त्यहाँ एकजना गैरदलित दाइ हुनुहुन्थ्यो।
उहाँले आफ्ना लागि खानेकुरा लिनुभएको रहेछ। अनि भन्नुभयो, ‘नानी नानी, त्यसमा मेरो खानेकुरा छ, नछुनु है, फेरि छोइन्छ। छोएपछि म खान्न।’
पिठो पिस्न घट्ट जाँदा गैरदलितहरू पछाडि आएका भएपनि अगाडिबाट पिस्न पाउँथे। हामी भन्द। पछाडि पिस्दा छोइन्छ भन्थे।
अर्को एक दिन घर छाप्ने खर लिन गयौँ। धेरै साथीहरू गाउँभन्दा माथि जाँदा एक जना गैरदलित अंकलको घरमा बसे। त्यहाँ बस्दा उहाँले रोटी दिनुभयो। रोटी पनि अलग्गै राखेर दिनुभयो। उहाँले अलग्गै गरेर दिनुभयो। त्यसरी दिँदा मलाई नमज्जा लाग्यो। साथीहरूले खाए, मैले खाइनँ।
हाम्रोतिर भने खलो पर्था अझै छ, हलिया पर्था अलि कम भएको छ। हाम्रो मामाले त्यो काम गर्नुहुन्थ्यो। मगरको रोपाइँ गर्ने ठाउँमा गएका थियौँ। त्यहाँ चुलो लिएका थिए। तर चुलोको दाउरा छोइयो। अनि ‘त्यो दाउरा’ भनेर दाउरा निकालेर बाहिर फाले। अरूभन्दा मगरहरूले बढी गर्छन् जातीय विभेद।
बाहुन, मगरहरूको भोजमा बोलाउँछन्, त्यहाँ त्यति विभेद देखिँदैन, किनकि भान्सा एउटै हुन्छ। दलित गैरदलितहरू सँगै खान्छन्, त्यति विभेद देखिदैन।
तर दलितहरूको भोजमा आउँछन्, तर कोही खान मान्दैनन्, कोही खान्छन्। ‘बाहिर पकाएको खान हुँदैन’ भन्दै केहीले चिउरा लिएर जान्छन्। पाका र पुराना पुस्ताका मान्छेहरु खान मान्दैनन् तर पछिल्लो पुस्ताकाले केही नमानी खान्छन्।
हाम्रोतिर एक जनाको अन्तरजातीय प्रेम विवाह भएको छ। केटा थापा थरका क्षेत्री र केटी दलित हुन। तर केटा पक्षले घरबाट निकालेर गाउँदेखि तल राखेका छन्। छुट्टै घर बनाएका छन्। पानी पनि चल्दैन दलित केटी विवाह गरेको कारण।
(कविता वि.क. समता फाउन्डेसनको दलित मानव अधिकार रक्षक हुनुहुन्छ र उहाँ जाजरकोट जिल्लामा दलित अधिकारको पैरवी गर्दै समतामूलक समाज निर्माण गर्ने गतिविधिमा सक्रिय हुनुहुन्छ।)














