सोमबार, २८ पुष, २०८२

घुमाउरो तरिकाले ‘डी’ भन्दै जातीय विभेद गरिन्छ

चेतनाको विकास गराउने अभियान तिब्र भएनन् भने विभेदका शृङ्खलाहरु चल्ने नै छन्। त्यसलाई ब्रेक लगाउन मेरो तर्फबाट सेकेको कोसिस गरिरहनेछु।

नमस्कार मेरो नाम प्रमिला वि.क. हो। मेरो घर हुम्ला जिल्ला सिमिकोट गाउँपालिका ७ नम्बर वडामा पर्छ। म १८ वर्षकी भएँ। कक्षा ११ मा पढदै छु।

मेरो घरमा दुई भाइ, तीन दिदी बहिनी र बुबा, आमा हुनुहुन्छ। बुबा शिक्षक हुनुहुन्छ। मेरो घरको आर्थिक स्थित मध्यम खालको छ। घर व्यवहार बुबाको कमाई र आमाको मेहनतले चलेको छ।

म यहाँ हरुलाई मेरो जीवनको भोगाइ बताउन गइहेकी छु। मेरा कुराहरु मेरो स्कुल जीवनबाट सुरु गर्न चाहन्छु।

एक दिनको कुरा हो म स्कुल जाँदै थिएँ। बाटोमा मेरो साथीले मलाई ‘छोइएला है। उता जाउ’ भनिन्। मैले किन? भन्दै प्रश्न गरेँ। उनले भनिन्, ‘मेरो झोलामा खाने कुरा राखेकी छु छोइन्छ।’

अहिलेको परिवेशमा पनि स्कुल पढ्ने विद्यार्थीहरुबाट यस्तो विभेद? मलाई अचम्म लाग्यो। विद्यालयमा गैरदलित साथीहरू सिधै डुम नभनी घुमाउरो तरिकाले ‘डी’ भन्दै होच्याउँछन्।

यसरी स्कुलमा हामी दलित समुदायका विद्यार्थीलाई गैरदलित साथीहरूले जातको नाउमा विभेद गर्छन्। अनायासै तनाव झेल्नुपर्छ।

यस्तै मेरो गाउँमा धेरै थरका मानिसहरुको बसोबास छ। त्यसमा शाही, सिंह, बाहुन, दमाई, विक, क्षेत्री लगायत छन्।

म दलित समुदायकी हुनाले धारा, पाटी पौवा, सार्वजनिक काम काजहरुमा जातको आधारमा विभेद भोग्नु परेको छ। दलित भएकै कारण धारामा पानी भर्दा लास्टमा भर्नु पर्ने स्थिति छ।

गैरदलितहरु ढिलो आए पनि सुरुमा पानी भर्न पाउनु अधिकार जस्तै बनेको छ। कहिले काहिँ तिर्खा लागेको बेला उनीहरुको घर गएर पानी माग्दा पानीको भाँडामा नदिएर हात थाप्न लगाउँछन्। त्यतिबेला हात थापेर पानी खानु पर्ने बाध्यता आइलाग्छ।

दलित मर्दा गैरदलित मलामी जाँदैनन्। गैरदलित मर्दा दलितहरु मलामी जान्छन्। हरितालिका तिज आयोभने दलितहरु व्रत बस्न हुन्न, मठमन्दिर छुन हुन्न, जानू हुन्न भन्ने मानसिकता निर्माण गरिएको छ।

गैरदलित मात्र व्रत बस्ने हो भन्छन्। छुवाछूत हुन्छ भनेर गाउँमा दलित र गैरदलितका धाराहरु छुट्टाछुट्टै बनाइएका छन्। गैरदलितको विवाहमा दलितलाई बोलाउँछन्। तर खाना सँगै दिदैनन्। अलग्गै बसालेर दिन्छन्।

गाउँमा यो विभेद त छँदैछ तर अर्को विभेद पनि हामीले भोग्नुपरेको छ। त्यो हो महिनावारी विभेद। जुन आफ्नै घरबाट समेत भोग्नु पर्छ।

म महिनावारी भए पछि आफ्नै घरको भाँडा, गाइ, वस्तुभाउ, बोटबिरुवा छुन पाउँदैन। न्यानो घर भित्र बस्न पाउँदैन। दुध दही लगायत मिठो मसिनो खान पाइँदैन।

महिनावारी भएको बेला तीन दिनसम्म पेट दुखेर हैरान हुन्छ। अझै भन्ने हो भने हाम्रो तिर छाउगोठ बनाइएका छन्। महिनावारी भएको बेलामा त्यही गोठमा तीन दिन कटाउनुपर्छ। बाहिर निस्कन सकिन्न।

महिनावारी भएको बेला काम निरन्तर गर्नु पर्छ। महिनावारीको समयमा मिठोमसिनो खाएर आराम गर्नु त कल्पना मात्रै हो। यस्तो बेला छोरी भै जन्मेकोमा आफैलाई धिक्कार्न मन लाग्छ। यो मेरो भोगाइ हो।

महिनावारी भएको बेला पाँच दिनसम्म अरुघरको आगनमा जान पाइन्न। दलित महिला र गैरदलित महिला महिनावारी हुँदा पनि विभेद छ। गैर दलितको महिनावारी ठुलो हो, दलितहरुको महिनावारी सानो हो भन्छन्।

जातीय र महिनावारी विभेदका कारण हाम्रो समाज अगाडि बढ्न अझ धेरै समय लाग्ला जस्तो लाग्छ। चेतनाको विकास गराउने अभियान तिब्र भएनन् भने विभेदका शृङ्खलाहरु चल्ने नै छन्। त्यसलाई ब्रेक लगाउन मेरो तर्फबाट सेकेको कोसिस गरिरहनेछु।

(प्रमिला वि.क. समता फाउन्डेसनको दलित मानव अधिकार रक्षक हुनुहुन्छ र उहाँ हाल विकट हिमाली जिल्ला हुम्लामा दलित अधिकारको पैरवी गर्दै समतामूलक समाज निर्माण गर्ने गतिविधिमा सक्रिय हुनुहुन्छ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार