अभिभावक शिक्षा लिएका अभिभावकहरूमा सफाइ, पोषण, संवाद, सकारात्मक व्यवहार र स्नेहपूर्ण अनुशासनको अभ्यास बढी देखिन्छ। उनीहरूले अपाङ्गता भएका बालबालिकासहित सबैप्रति समान माया र स्याहार दिन सकेका छन्।
मानव जीवनको सबैभन्दा नाजुक र महत्वपूर्ण समय प्रारम्भिक बाल्यावस्था हो, जसको सुरुवात गर्भधारणदेखि आठ वर्षसम्म हुन्छ। यही अवधिमा बच्चाको शारीरिक, मानसिक, भाषिक, भावनात्मक र सामाजिक विकासको आधार तयार हुन्छ, त्यसैले यसलाई जीवनको ‘सुनौलो जग’ भनिन्छ।
बाल्यकालमै पाउने माया, स्याहार, वातावरण र अनुभवले उनीहरूको भविष्य बलियो वा कमजोर बन्ने तय गर्छ। यस यात्रामा अभिभावक केवल संरक्षक मात्र होइनन्, बल्कि पहिलो शिक्षक, पहिलो मार्गदर्शक र पहिलो प्रेरक हुन्।
उनीहरूले दिने पोषण, सुरक्षा, खेल, संवाद, स्नेहपूर्ण व्यवहार र सकारात्मक अनुशासनले नै बालविकासलाई सही दिशा दिन्छ। समयसँगै समाज, प्रविधि, जीवनशैली र पारिवारिक संरचना बदलिँदै गएको छ।
परम्परागत रूपमा सिकिँदै आएको बालपालनका ज्ञान र सीप हराउँदै जाँदा आजको पुस्ताका अभिभावकलाई वैज्ञानिक तरिकाले बच्चा हुर्काउने सीप आवश्यक भएको छ। अनुसन्धानहरूले पनि देखाउँछ कि बच्चाको विकास गर्भमै रहेको अवस्थादेखि नै वातावरणमा निर्भर हुन्छ।
सानै उमेरमा कठोर अनुशासन, बेवास्ता, असुरक्षा वा कुपोषणको अनुभवले भविष्यमा सिकाइ समस्या, स्वास्थ्य जोखिम, व्यवहारगत विचलन वा आत्मविश्वासको कमी जस्ता चुनौतीहरू ल्याउन सक्छ। तर सही अभिभावकत्वले बच्चालाई आत्मविश्वासी, जिम्मेवार र सक्षम नागरिक बनाउन ठूलो भूमिका खेल्छ।
अभिभावक शिक्षा लिएका अभिभावकहरूमा सफाइ, पोषण, संवाद, सकारात्मक व्यवहार र स्नेहपूर्ण अनुशासनको अभ्यास बढी देखिन्छ। उनीहरूले अपाङ्गता भएका बालबालिकासहित सबैप्रति समान माया र स्याहार दिन सकेका छन्।
अभिभावक शिक्षा नपाएकाहरूमा भने डर, चिन्ता, दुविधा बढी देखिनुका साथै उनीहरूको नकारात्मक व्यवहारका कारण बच्चामा ध्यान नलाग्ने, खेल सिकाइमा चासो नदेखाउने, आचरण समस्या देखिने र दण्ड सजायको वातावरण बन्ने सम्भावना बढी रहेको अनुसन्धानले देखाउँछ।
अभिभावक शिक्षाको मुख्य उद्देश्य गर्भावस्थादेखि आठ वर्षसम्मको बालविकासलाई स्वस्थ, सुरक्षित र प्रेरणादायी वातावरणमा सुनिश्चित गर्नु हो। यसले अभिभावकलाई पोषणयुक्त भोजन बनाउने तरिका, स्वास्थ्य र सरसफाइको अभ्यास, उमेरअनुसार खेल र अन्तरक्रिया गर्ने सीप, बालमैत्री वातावरण निर्माण गर्ने तरिका र विद्यालयसँग सहकार्य बढाउने जस्ता वास्तविक जीवनमा आवश्यक ज्ञान दिन्छ।
साथै बालबालिकालाई हेला, हिंसा वा सजायबाट जोगाउने, भेदभावरहित व्यवहार गर्ने र परिवार तथा समुदायमा सकारात्मक परिवेश बनाउन अभिभावक सक्षम बन्छन्। अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्नुअघि समुदायलाई कार्यक्रमबारे स्पष्ट जानकारी दिनु र उनीहरूको सहभागिता सुनिश्चित गर्नु आवश्यक हुन्छ।
स्थानीय सरकार तथा सरोकारवालासँग समन्वय गरेर, समुदायलाई मिति, समय र स्थानबारे जानकारी दिँदै, नवदम्पती, गर्भवती महिला, आमा बुबा र हजुरबुबा हजुरआमालाई सहभागी गराई कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ।
स्रोत सामग्रीमा धेरै विषय समेटिए पनि कार्यक्रमका लागि आवश्यक शीर्षक सहभागीको आवश्यकता अनुसार छनोट गरिन्छ। अभिभावक शिक्षाका अनिवार्य विषयहरूले अभिभावकलाई प्रारम्भिक बालविकास, बालअधिकार, बुबाको भूमिकासहित बालविकास कार्यक्रम र सम्बद्ध संस्थाबारे स्पष्ट जानकारी दिन्छ।
अन्ततः अभिभावक शिक्षा केवल एक कार्यक्रम मात्र होइन, राष्ट्रको भविष्य सुरक्षित गर्ने दूरदर्शी पहल हो। बच्चालाई सही स्याहार, स्वस्थ वातावरण, सकारात्मक अनुशासन, माया र सम्मान प्रदान गर्न सकेमा उनीहरूको लुकेको प्रतिभा उजागर हुन्छ, कमजोर व्यक्तित्व बलियो बन्छ र समाजले सक्षम, संवेदनशील तथा सिर्जनशील नागरिक पाउँछ।














