म त्यो घरको
दैलो नाघेर आएको हुँ
जुन घरको धुरी पुरुषको सोच र ढोका पुरुषको जुँगाले बनेको थियो।
मैले त्यो आँगनको तगारो नाघेको हुँ।
जहाँ
एउटै समयमा
आधा मान्छे खुशी
आधा मान्छे दुःखी देखिन्थे।
मैले महसुस गरेको हुँ,
सुख जोड दुःख
बराबर शून्य
हुन्छ।
म पनि सुन्दै हिँडेको हुँ
शून्यको गीत
शून्यको गीत गुनगुनाउँदै सकिन्छ जिन्दगी।
म त्यही टोलको बाटो निस्किएको हुँ –
जहाँ मिठो संगीतको धुनमा
अल्लल्लि-अल्लल्लि
छाती पिटी-पिटी
रुने गर्छ
सिंगो बस्ती।
जहाँ पितृ रिझाउन,
पुत्रीको बली दिइन्छ।
हिजो सुधार्न
भोलिलाई तिलाञ्जलि दिइन्छ।
मैले
त्यही चौतारीमा गम खाएको हुँ।
जसको एकातिर कोक्रो बनाउँदै थिए।
भने अर्कातर्फ बन्दै थियो ताम्दानी।
म यस्ता मान्छेहरू ससँ कुरा गरेर आएको हुँ,
जसले आजसम्म प्रश्न गरेको छैन:
न आफूसँग
न अर्कासँग
न सरकारसँग
उनीहरूको गुरु उर्फ ज्ञान भाग्य हो।
उनीहरू बाँच्नु नै भाग्य हो।
उनीहरूको मर्नुलाई पनि भाग्य भन्छन्।
अचम्म त के छ भने
उनीहरू भाग्यको नाममा बली दिने गर्छन्।
र
उनीहरूको हरेक जवाफ, भाग्य हो।
तर
त्यो बस्तीलाई
कर्मले जसोतसो धानेको छ।
हो, मैले त्यही धाराको पानीले गलो रुझाएको हुँ।
जसको मुखमा छ सुनको लेपन।
धारा स्वयं
सामन्तवादको समर्थक हो।
विभेदको मैदान हो।
पक्षपातको ‘र’ हो।
त्यही धाराको पानीमा हो,
सिन्दूरभन्दा बढी रगत बग्ने।
त्यही धाराको पानीमा हो
श्रमिकको पसिना गनाउने।
त्यही धाराको पानी हो, आँसु नुनिलो।
त्यही धाराको
पानी ढुंगामा
झर्दा निकाल्छ
एक आवाज
जुन आवाज
मेरी आमा, बहिनी,
प्रेमिका, दिदी
महिनावारी हुँदा
उनका नरम
ओठबाट
निस्कने गर्छ:
सुँक्क-सुँक्क
ऐया-ऐथ्था।
म त्यही बस्तीको बीच बाटो भएर
आएको हुँ।
जहाँ बधशालाको
छानामा बसेर
एक जोडी चिरबिर
निर्धक्कसँग
कोरल्छन् संसार।
उमार्छन् प्याख।
त्यही एउटा किंवदन्ती छ,
सबैभन्दा पहिले ईश्वरको हत्या त्यही बधशालामा भएको हो।
म यस्तो खेतको आली-आली अगाडि बढेको हुँ,
जसको एकातर्फ क्षितिजसम्म सेतै विष फुलेको थियो।
भने
अर्कातर्फको क्षितिजसम्म कालै अमृत फुलेको थियो।
अमृतभन्दा मिठो विषको सुगन्ध थियो।
म यस्तो नदी
तरेर आएको हुँ
जसको एउटा मात्रै किनारा छ।
म त्यही स्वास्थ्य चौकीलाई बायाँ पारेर अगाडि बढेको हुँ
जुन स्वास्थ्य चौकीको प्रमुखले भूत धपाउने कालो जादु पनि जानेको छ।
म त्यही सडकको फुटपाथै फुटपाथ हिँडेको हुँ।
जुन सडकले चरित्रमा दाग नलागेको मान्छेको बली लिन्छ।
भनिन्छ, त्यो सडक
सत्ताको धमनी हो।
म त्यही सरकारी बेश्यालयमा
रात बिताएर आएको हुँ।
जहाँ फूललाई फक्रीन वर्जित छ।
म एका बिहानै
त्यही सार्वजनिक शौचालयमा
ठगिने पहिलो ग्राहक हुँ।
जुन शौचालयको भित्तामा कालो मार्करले कोरिएको छ
स्त्रीको चित्र।
र
त्यही चित्रमाथि सेतो वीर्यले
व्याख्या गरेको छ आधा आकाशको चरित्र।
म त्यही देउतालाई
छलेर आएको हुँ।
जो रिसायो भने राक्षस बन्छ।
देउता राक्षस नबनोस् भनेर
आफ्नो पेट काट्छन् भक्तजन
र चढाउँछन् देउतालाई
यसमा देउताको कुनै गल्ती छैन।
किनकि देउता बोल्न जान्दैन।
किनकि ऊ सुन्न जान्दैन।
ऊ बासना जान्दैन। महसुस गर्न जान्दैन।
बस, देउताले जानेको भनेको विराजमान हुन हो।
मेरा आँखा त्यही आकाशमुनि लागेका हुन्।
जसको ठीक माथि
न कुनै चम्किलो लोभ थियो।
न कुनै टिलपिलाउँदै सपना थिए।
न बग्थ्यो हावामा आशाको कुनै तान्द्रा।
मैले ढुंगा बिउँझनुअघि नै त्यो सहर छोडेको हुँ
जुन सहरमा
मान्छे बिँउझनु भन्दा
पहिले ढुंगा ब्युँझिने गर्छन्।
अनि ढुंगाको निर्देशनमा चल्छ
मान्छेको दैनिकी।
त्यसैले हरेक मन
ढुंगा बन्न जाग्छ हरेक बिहान।
जुनसुकै बेला मान्छे ढुंगामा परिणत हुन सक्छ।
र
ढल्छ – खाट खाडलमा।
मेरो यात्रामा यस्ता पनि साथी भेटिएका थिए,
जसको स्वभाव उनीहरूको मालिकजस्तो थियो।
मेरो यात्रामा यस्ता पनि सन्तान भेटिएका थिए,
उनीहरू ठिक आफ्ना पिताजस्ता थिए।
म आज फेरि
त्यही विद्यालय छेउ आइपुगेको छु।
जहाँ सुरुमा
मेरो मस्तिष्कलाई
सुगा बन्ने तालिम दिइएको थियो। र अन्त्यमा मलाई गधाको रूपमा बिदाइ गरिएको हो।
यो एक गधाको यात्रा स्मरण हो।














