सोमबार, २८ पुष, २०८२

संगीताको अनवरत संर्घष….

जंगल फाडेर एउटा झुप्रो बनाइन् र चाउचाउ, बिस्कुटको किनारा पसल राखिन् । पसल बिस्तारै चल्न थाल्यो । उनले ऋण पनि तिरिन् । केही पैसा जम्मा पनि गरिन् । त्यसको केही समयपछि छोरी जन्मिइन् ।

आशाका किरणहरू जब फिक्का हुन्छन्, तबमात्र हामीलाई महसुस हुन्छ जीवन भोगाइ के हो भनेर । एक विकट गाउँ, साँगुरो आगन, ढुंगाका चेपचापबाट निस्किएका घाँस र फूलका थुङ्गाहरू अनि विहानको न्यायो घाम, त्यही ठाउँमा जन्मिएकी थिइन्, संगीता । उनका बाबाआमा साधारण किसान भए पनि छोरीलाई पढाउनुपर्छ भन्ने भावाना थियो । संगितालाई डाक्टर पढाउने सपना बुनेका थिए ।

संगीता अरूभन्दा फरक थिइन् । उनी विद्यालयका सबैजसो क्रियाकलापमा सहभागी हुन्थिन् । नाच्ने, गाउने, खेलकुदमा उनी अब्बल थिइन् । दुर्भाग्य, कक्षा आठमा पढ्दै गर्दा उनलाई प्यारालाइसिस जस्तो गम्भीर रोग लाग्यो । तर पछि उपचार गरेपछि भने ठिक भएको थियो । संगीताले प्लस टुसम्मको मात्र अध्ययन गर्न सकिन् ।

अध्ययनकै क्रममा जुम्लाका गैरदलित युवकसँग विवाह भयो । उनी डोल्पामा एक कम्पनीका काम गर्थे । संगीता क्याम्पस पढ्न जाने आउने क्रममा बाटोमा बसेर ती युवकले उनलाई जिस्काउँथे । उनलाई मन पराएको कुरा गर्थे । एक दिन उनको छिमेकी भाइलाई घरमा लिएर आइ संगितालाई चोरी (भगाएर) लिएर गएका थिए । बेलुकाको समयमा जंगलको बाटो हुँदै सात जना अरू युवकहरूले उनलाई डोल्पाबाट भगाएर लगेका थिए । त्यसको केही दिनपछि मन्दिरमा लगी विवाह गरेका थिए । त्यसको सत्र दिनपछि संगितालाई युवकले आफ्नो घर जुम्ला लिएर गएका थिए ।

संगीता दलित समुदायकी थिइन् । श्रीमान्को घरमा बाससम्म बस्न पाए तर बाआमाले दलितको छोरी विवाह गरी लिएर आयो भन्दै गालीगलोज, कुटपिटसमेत गरे । जुम्ला घर लगको चार दिनपछि उनका श्रीमान् काठमाण्डौ गए । उनीमाथि भेदभाव र हिंसा हुन थाल्यो । यो कुरा उनले आफ्नो माइतीमा जानकारी गराइन तर उनका माइतीले बोलाएनन् । उनलाई दलित भएकै कारण जातीय भेदभाव र अपमान भयो । खाना खानसम्म दिएनन् । उनी बेस्सरी विरामी परिन् । त्यसै बीच उनी गर्भवती भएको थाहा पाइन् ।

संगीताले सासुससुराले गरेको व्यवहार श्रीमानलाई कहिल्यै भनिनन् । चुपचाप हिंसा सहँदै गइन् । असह्य भएपछि करिब तीन महिनापछि माइत गइन् । माइतमा पनि उनीप्रति त्यती राम्रो व्यवहार भएन । उनका बाले अपमान गर्न थाले । संगीताको आत्मसम्मानमा चोट पुग्यो । त्यसपछि उनी श्रीमान्को घर फर्किनुको विकल्प थिएन । उनी फेरी जुम्ला आइन् । उनी आफू गर्भवती छु भन्दा पनि सासुसुराल दिनहुँ गालीगलोज, अपमान र कुटपिट गरे । आफूमाथि हिंसा भएको कुरा श्रीमान्लाई भनिन् । बच्चा नराख्ने, गर्भपतन गर्छु भन्दा श्रीमान्ले मानेनन् । यद्यपि, संगीता नेपालगञ्ज गई गर्भपतन गर्ने निधो गरिन् । प्लेनको टिकट काटिन् तर उनकी साथी सुनिताले आफू पनि नेपालगञ्ज जाने र बसमै जाने भनेपछि संगीताले प्लेनको टिकट रद्द गरी दुवै जनाले बसमा नेपालगञ्जको यात्रा गरे ।
दुःखको कुरा बाटोमा अचानक बस दुर्घटनामा पर्‍यो ।

बसमा सवार ३५ जना यात्रुहरूको मृत्यु भयो । तर संयोगले सुनिता भने बाँचिन् । उनकी साथी सुनिताको दु:खद निधन भयो ।
उनको घर र माइतमा उनको मृत्यु भएको खखर पुगेछ । माइतमा उनी मरिसकेको भनी काजक्रियासम्म गरिएको थियो । उनी भने जिउँदै थिइन् । उनको हात र खुट्टा भाचिएको थियो । टाउकोमा तेह्र वटा टाँका लगाइको थियो । संगीता उपचार भइ घर फर्कँदा सबैजना छक्क परेका थिए । उनी नरहेको खबरले आमालाई हृदयघात भएको थियो । त्यही पिरले पछि आमाको पनि निधन भयो ।

बिस्तारै संगीता ठिक हुँदै गइन् । पेटको बच्चा पनि हुर्किँदै गयो । दुर्घटनामा परी अस्पताल बस्दा उनका श्रीमान् काठमाण्डौबाट भेट्न आएनन् । घर जुम्लाबाट पनि कोही आएनन् । फोनमा कुरा भएपनि श्रीमानले खासैसाथ र सहयोग गरेनन् । पछि अलि ठिक भएपछि उनी घर जुम्ला गइन् । पेटमा बच्चा थियो तर सासु र ससुराले गरेको विभेद र हिंसाका कारण उनी फेरी डोल्पा माइत फर्किन् । माइतमा चौध लाख जति खर्च गरेर बुबाले उनलाई बचाए ।तर आमाको मृत्युपछि बाबाले राम्रो व्यवहार गरेनन् । त्यसपछि ८ महिनाको बच्चा बोकेर उनी घर र माइतबाट निस्किन् । गाउको एक जना साथीसँग पाँच हजार सापट लिइन् ।

जंगल फाडेर एउटा झुप्रो बनाइन् र चाउचाउ, बिस्कुटको किनारा पसल राखिन् । पसल बिस्तारै चल्न थाल्यो । उनले ऋण पनि तिरिन् । केही पैसा जम्मा पनि गरिन् । त्यसको केही समयपछि छोरी जन्मिइन् । त्यस्तो आपतको समयमा उनले श्रीमान्, घरपरिवार र माइतबाट कसैको पनि साथ र सहयोग पाइनन् । छोरी जन्मिएको चारदिन पछि उनी फेरी जुम्ला गइन् । घरका मानिसले उनलाई गर्ने व्यवहारमा परिवर्तन भएन । कतिसम्म भने सुत्केरी अवस्थामा उनलाई सासुले पछाडिबाट लात्ताले प्रहार गरिन् । त्यसको प्रतिवाद गर्दै उनले पनि सासुलाई दाउराको चिरपटले आक्रमण गरिन् र छोरीलाई लिएर जुम्लाबाट निस्किन् । त्यसपछि पहिलाको पसल विस्तार गरिन् ।

बीचमा छोरी धेरै बिरामी भइन् । पछि अस्पताल लैजाँदा छोरीको दुई वटा मिर्गौला फेल भएको रहेछ । संगीताले दिनरात मेहनत गरिन् । छोरी चार वर्षको भएपछि मिर्गौला प्रत्यारोपण सफल भयो । त्यसको केही समयपछि माइतीका बाबाको पनि मृत्यु भयो । माइतमा दाइ भाउजुमात्र थिए । दाइले रक्सी खाएको कारणले गर्दा भिरबाट लडेर मृत्यु भयो । त्यसपछि उनी माइत आइ दाइका छोराछोरीलाई हेर्न थालिन् ।

भाउजुले दोस्रो विवाह गरेर गएपछि उनी माइतमै बस्न थालिन् । अहिले उनी छोरी र दाइका छोराछोरी सबैलाई हेर्छिन् र पढ्न पठाउछिन् । छोरी एघार वर्षकी भएकी छिन् । छोरी दश वर्षको हुँदा दोस्रो पटक मिग्रौला फेर्नु परेको थियो । उनले अहिले छोरीलाई काठमाण्डौको बौद्धमा होस्टेलमा राखेर पढाएकी छन् ।

अहिले पनि संगीताले कानूनी रूपमा श्रीमान्सँग सम्बन्ध विछेद गरेकी छैनन् । श्रीमान्ले कहिले काहीँ छोरीसँग फोनमा कुरा गर्छन् । उनीसँग पनि बाचचित हुन्छ । श्रीमान्ले अहिले पनि विवाह गरेका छैनन् । सँगै बस्नुपर्छ, छोरीलाई धेरै पढाउनुपर्छ भनी बारम्बार फोन गर्छन् । दुःख र पीडाको बेला साथ र सहयोग नगरेकाले संगीताको मन र सम्मान श्रीमान्का लागि मरिसकेको छ ।

उनी भन्छिन्, ‘बाह्र वर्षपछि मेरो श्रीमान् फर्केर आयो भने म उसलाई बुहारी बनाएर घर भित्राउँछु, ज्वाइ होइन ।’ केही समयपछि छोरी ठूलो भएपछि छोरीले जे भन्छिन् त्यही गर्ने निर्णय गरेकी छिन् संगीताले ।
एक विकट र अविकसित जिल्लामा त्यसमा पनि दलित समुदायमा जन्मेकी संगीता प्रत्येक महिलाहरूको निम्ति एक साहसी र आत्मबल भएकी महिलाका रूपमा चिनिन्छिन् । अहिले उनलाई गाउँ, समाज र परिवारमा उनले गरेको काम, त्याग, मेहनतको कदर र सम्मान गर्छन् । उनी विभिन्न संघसंस्था र आमा समूहमा आबद्ध भई सक्रिय छन् ।
महिला अधिकार र हिंसाविरुद्ध आवाज उठाउँछिन् ।

एउटा दलित समुदायमा जन्मिएकी संगीताले जीवनमा भोगका तिता, नमिठा कथाहरू छन्, जातका आधारमा, अन्तरजातीय विवाहका आधारमा । एउटा गैरदलित पुरुषले जबरजस्ती चोरी विवाह गरेकाले उनको जीवन बर्बाद भयो । तर संगीताले हिम्मत हारेकी छैनन् । पितृसत्तात्मक सोचका कारण उनले जे जति विभेद, हिंसा, अपमान र दुव्र्यवहार भोगिन्, त्यो उनको छोरी र समाजका अरू महिलाहरूले भोग्नु नपरोस् । त्यसकै निम्ति संगीता सक्रिय छिन् ।

(संगिता वि.क. समता फाउन्डेसनको दलित दलित मानव अधिकार रक्षक हुनुहुन्छ र उहाँ हाल विकट हिमाली जिल्ला डोल्पामा दलित अधिकारको पैरवी गर्दै समतामूलक समाज निर्माण गर्ने गतिविधिमा सक्रिय हुनुहुन्छ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार