रित्तो भाँडो हेर्दै भन्नुहुन्छ आमा
आज केही छैन छोरी !
तिम्रो भोक देखेर म अघाएको छु!
आँखामा तिम्रो आँसु देखेर
यो मन भाँच्चिन्छ कुँडिन्छ
भोकले पेट कराएको कर्कस आवाज
र पल्लो घरबाट आएको खानाको मीठो वासनाले
साँच्चै कति गहिरो प्रश्न सोध्छ
छोरी ! म तिमीलाई के जवाफ दिउँ ?
फाटेका लुगाफाटाले मन टालिदोँ रहेनछ
च्यातिएका जुत्ताले हिँड्ने इच्छा नमर्दो रहेछ
सपना त आँखामा छ
तर किताब हातमा छैन्
ईच्छा त यस्तो छ कि
देशलाई जुरुक्क काँधमा बोकेर हिँडु
तर छोरी ?
यो भोको पेटले म कसरी उचालुँ देशलाई ?
अभावले दिएको पाठ गहिरो छ
घर अगाडि घरै झर्लाजस्तो पहिरो छ
तुइनमा झुन्डिएर वारपार गर्ने
कापी कलमहरु दुख्छन्
एम्बुलेन्स नपाएर सुत्केरी सपना मर्छ
देखेर मुटु चुँडिन्छ, मन कुँडिन्छ
अनि सम्झाउँछु आमालाई
देश गरीब छ त के भो
मन गरीब छैन् आमा !
तपाईंको ओठमा गुराँस फुलाइन भने
म कर्नालीको छोरी होइन
आमा !
हामीसँग अभाव छ र त साहस छ
आँट छ, र त भरोसा छ,
लडेर उठ्छु भन्ने हिम्मत छ
अभाव छ र त
अभावमा जन्मिएका सुन्दर कविताहरु छन् ।
मेरो कर्नालीमा !