राजनीतिक दलका स्थानीय नेता आए, ‘तँ अब हाम्रो पार्टीको भविष्य होस्। यो समिति तँलाई हाम्रो तर्फबाट उपहार।’
विक्रम संवत् २०१८ साल कात्तिक १८ गते तिब्रिकोटको तिघ्रेबहादुर तिब्रिकोटे १८ वर्ष पुग्यो। उसको लागि यो जीवनकै ठूलो उपलब्धि मध्येको एक थियो। अब उ फलानो निर्माण उपभोक्ता समितिको अध्यक्ष बन्न योग्य भयो।
बिहानै उसले आफ्नो आमाबुबालाई बोलाएर भन्यो, बा आजदेखि म पनि यो देशको विकासमा योगदान दिन चाहन्छु। अब मलाई स्कूल जानु पर्दैन, पढ्नु पर्दैन, सिप सिक्नु पर्दैन।
मैले त केवल १८ वर्ष पुग्नु थियो र पुगेँ।अब मलाई समितिमा काम गर्ने अधिकार मिल्यो। बा खुसी भए।
छोराले यति चाँडै देशको सेवा गर्न सक्छ भन्ने सोचेका थिएनन्। आमा भने अलिकति चिन्तित भइन्, ‘बाबु, तँलाई सडक बनाउने सिप छ र ?’
तिघ्रेबहादुर हाँस्दै भन्यो, ‘आमा, सिपको के काम? सडक बनाउने ठेकेदारले बनाउँछ, इन्जिनियरले जानेसम्म नाप्छ, लेखापालले जानेसम्म हिसाब राख्छ। मेरो काम त केवल हस्ताक्षर गर्नु, कागजमा नाम लेख्नु, र कमिसन बाँड्नु हो। यो त १८ वर्षको बालकले पनि सजिलै गर्न सक्छ।’
त्यसै दिन गाउँको चिया पसलमा ठूलो समारोहको आयोजना गरियो। वडाध्यक्षले माला लगाइदिएर भने, ‘हाम्रो नयाँ अध्यक्षलाई स्वागत छ।’
राजनीतिक दलका स्थानीय नेता आए, ‘तँ अब हाम्रो पार्टीको भविष्य होस्। यो समिति तँलाई हाम्रो तर्फबाट उपहार।’
पुरानो अध्यक्षले सल्लाह दिए, ‘पहिलो ठेक्कामा २०-२५% कमिसन लिने, दोस्रोमा ३०% सम्म पुर्याउने। बाँकी पैसा गाउँमा बाँड्ने, केही विकास पनि देखाउने, जनता खुसी हुन्छन्।’
तिघ्रेबहादुरले सोध्यो, ‘तर सडक त राम्रो बन्नुपर्यो नि? सबै गललललललल हाँसे।
‘सडक राम्रो भए कमिसन कम हुन्छ नि बाबु! अलिकति अलपत्र, अलिकति साँघुरो, अलिकति भत्किने’ यही त हाम्रो विकासको मुलमन्त्र हो। जनता फोटो खिचेर विकास आयो भन्छन्, हामीले पैसा कमाउँछौं।’
आज तिघ्रेबहादुर तिब्रिकोटे १८ वर्षको उमेरमा नेपालको विकासको मुख्य खेलाडी बनेको छ। यो त हाम्रो व्यवस्थाको आधिकारिक योग्यता र मापदण्ड हो।
तिघ्रेबहादुर जस्ता हजारौं युवाहरू आज विकासको पहरेदार बन्दा समेत देश अझै अलपत्र छ। यदि तपाईंको छोराछोरी १८ वर्ष पुगेका छन् भने चाँडै निर्माण उपभोक्ता समितिको अध्यक्ष बनाउनुहोस्।
















