सोमबार, ९ भाद्र, २०८२

खस साम्राज्यको संक्षिप्त इतिहास : एक अन्वेषण

लेखसार
प्रस्तुत अन्वेषणात्मक लेखमा मध्यकालीन नेपालको इतिहासमा मत्त्वपूर्ण भूमिका खेलेको खस साम्राज्यको उदय, विकास, र पतनको संक्षिप्त विश्लेषण गरिएकोछ । पश्चिमी नेपालको कर्णाली क्षेत्रमा केन्द्रित यस साम्राज्यले १० औं शताब्दीदेखि १४ औं शताब्दीसम्म एक शक्तिशाली राजनैतिक, सांस्कृतिक र धार्मिक शक्तिको रूपमा आफ्नो प्रभुत्व जमाएको थियो । यो लेखले खस मल्ल राजाहरूको शासनकालमा भएको कला, वास्तुकला, साहित्य र न्यायिक प्रणालीको विकासलाई केलाउँदै तत्कालीन समाजको सामाजिक–आर्थिक संरचनामाथि प्रकाश पार्ने प्रयास गरेको छ । यसका साथै, भौगोलिक विस्तार, विभिन्न राज्यहरूसँगको सम्बन्ध, र साम्राज्यको पतनका प्रमुख कारणहरू जस्तै आन्तरिक कलह, बाह्य आक्रमण र वातावरणीय कारकहरूको पनि संक्षिप्त चर्चा गरिएकोछ । यस अध्ययनले खस साम्राज्यको इतिहासलाई केवल राजनैतिक घटनाक्रमको रूपमा मात्र नहेरी, यसको दीर्घकालीन सांस्कृतिक र भाषिक प्रभावलाई पनि अन्वेषण गर्नेछ, जसले आधुनिक नेपाली समाजको निर्माणमा मत्त्वपूर्ण योगदान पुर्‍याएको छ । यो लेख इतिहासकारहरू, शोधकर्ताहरू र खस साम्राज्यको गौरवशाली विगतबारे जान्न उत्सुक पाठकहरूका लागि उपयोगी हुनेछ ।

विषयप्रवेश
जुम्लामा केन्द्रित खस साम्राज्य, जसलाई सामान्यतया खस मल्ल साम्राज्य भनेर चिनिन्छ, मध्यकालीन नेपालको इतिहासमा एक मत्त्वपूर्ण शक्ति थियो । नेपालको केन्द्रीय शासन कमजोर भएको समयमा वि.सं. ११५० तिर नागराजले खस राज्यको स्थापना गरे । यस राज्यको राजधानी जुम्लाको सिञ्जा उपत्यकामा थियो । यो भन्दा पहिले पनि त्यो क्षेत्रमा पालहरूले शासन गरेका थिए । इसाको बाह्रौँ शताब्दीमा सिंजा उपत्याकालाई राजधानी बनाई राजा नागराजले खडा गरेको साम्राज्य सामान्यतः खस साम्राज्यका नामले चिनिन्छ ।

नागरनागराज यसअघि तिब्बतको खारी (ङारि) प्रदेशका शासक थिए अर्थात त्यहाँबाट भूक्षेत्र बिस्तार गर्दै दक्षिण झर्ने क्रममा यिनले सिंजालाई राजधानी बनाई नयाँ साम्राज्य खडा गरेको दुल्लुस्थित पृथ्वी मल्लको कीर्तिखम्बबाट थाहा हुन्छ । अचेल खस साम्राज्य भन्नाले वर्तमान कर्णाली प्रदेशलाई मात्र बुझाउने र बुझ्ने परम्परा छ । तर, यो सड्कुचित बुझाइ हो । वर्तमान कर्णाली प्रदेश त खस साम्राज्यको केन्द्र मात्रै थियो । खारी प्रदेशबाट सिंजामा आएर खस साम्राज्य स्थापना गरे पनि खारी पछिसम्म खस साम्राज्यकै अधीनमा रहेको देखिन्छ । यही एउटा तथ्यको आधारमा पनि खस साम्राज्यको ठुलो भूभाग हिमालयवारि र हिमालयपारि फैलिएको भन्न सकिन्छ । ‘लगभग पाँचौँ शताब्दीदेखि खसआर्य मूलका मानिसहरू कुमाऊँबाट पश्चिम नेपाल प्रवेश गर्न थालेको अनुमान हुन्छ । बाह्रौँ शताब्दीमा खस साम्राज्य स्थापना हुनुभन्दा पहिले नै कर्णाली प्रदेशमा खसहरूको बसोबास कायम भइसकेको बुझिन्छ । पूर्व मध्यकालमा त पश्चिम नेपालको राज्यव्यवस्था र समाजमा उनीहरूको आधिपत्य र बाहुल्यता नै कायम हुन गयो (अधिकारी, २०६७ पृ २९) ।

खस साम्राज्य स्थापनाको पृष्ठभूमि
खस साम्राज्यका संस्थापक नागराज को हुन्, कुन वंशजका हुन् वा उनको अभिजन को हुन् भन्ने सम्बन्धमा विवाद छ । कसैले उनलाई तिब्बती मूलका मानेका छन् भने कसैले खस नै भनेका छन् । उनलाई तिब्बती मान्नेहरूको आधार तिब्बती वंशावली हो । राजधानी ल्हासामा बौद्ध धर्मका विरोधी राजा लाङदार्माको हत्या (ई.सं. ९०२) पछि सिङ्गो तिब्बती साम्राज्यमा नेतृत्वको अभाव देखियो र विखण्डनको स्थितिमा पुग्यो । यस अवस्थामा राजकुमारहरू विभिन्न ठाउँमा स्वतन्त्र राज्य खडा गर्न गएको र दक्षिण–पश्चिम तिब्बतमा बेग्लै राजपरम्परा सुरु भएको पाइन्छ । तिब्बती वंशावलीमा विभिन्न शासकहरूको नामका साथै तिनीहरूको समयका भएका महŒवपूर्ण घटना टिपिएका छन् । प्रसिद्ध बौद्ध विद्वान् आचार्य अतीसा दीपंकर श्रीज्ञानलाई बौद्ध धर्मको उत्थानका लागि भारतबाट आमन्त्रण गर्ने तिब्बती राजा भनिएका ज्ञानप्रभा (ल्हा–लामा यस्से–वे) यही राज्यका राजा थिए । यिनीहरूकै राजपरम्परामा पछि नागराज पनि शासकको रूपमा देखा पर्छन् ।

खारी प्रदेशको भूमि बिस्तार गर्दै दक्षिण झर्ने क्रममा सिंजालाई राजधानी बनाई यहीं बसेको तथ्य उनैका वंशज पृथ्वी मल्लद्वारा दुल्लुमा स्थापित कीर्तिखम्बको अभिलेखमा पाइन्छ । यस भेकमा नागराजको आगमनअघि नै विभिन्न राज्य व्यवस्था कायम रहेको तर ती सबै राज्यहरूलाई आफ्नो साम्राज्यमा विलय गरेको तथ्यहरू प्राप्त भएका छन् । यहाँ पालहरूको राज्य व्यवस्था भएपनि सिंजा तथा यस वरिपरि खसहरूको बाक्लो बसोवास नै भएकाले यस क्षेत्रलाई खशान भनिन्छ ।

खशानका राजा वा खसहरूका राजा भएका कारण अरु नै पृष्ठभूमिबाट आएका भएपनि नागराज तथा उनका उत्तराधिकारीहरूको पहिचान खस वा खशानसँग स्वभावतः जोडिन पुग्यो । नेपाल मण्डलको गोपाल राजवंशावलीले तिनीहरूलाई ’खसिया राजा’ र तिब्बती स्रोतमा यात्से ग्याल्बो’ (खश राजा) भनिएको छ । यस प्रकार खश राजा भनिए पनि उनीहरू खस जातिकै नभएको बुझाइ छ ।

राजा नागराजको अभिजनका सम्बन्धमा उनी खश समुदायकै हुन्, तिब्बत मूलका होइनन् भन्ने अर्को मत पनि पाइन्छ । यस मतअनुसार राजा नागराज खारी प्रदेशमा पुगेका थिए र तिब्बतीकरण भई राज्य बिस्तार दक्षिणतिर गर्ने क्रममा जावेश्वर पसेको र त्यहाँबाट पुनः दक्षिण आई सिंजामा राजधानी बनाई खस साम्राज्य स्थापना गरेका हुन् ।

तिब्बती वंशावलीमा उल्लिखित ‘ल्दे’ राजपरिवारको वंशक्रममा नागराजलाई समावेश गरिए पनि bkrasis Lde पछि क्रम भङ्ग भएको मत यहाँ अगाडि सार्ने गरिन्छ । वंशावलीमा उहाँ (र् चेल्वे) का छोरा द्वार–ल्दे र त्यसपछि ब्कसिस–ल्दे, भा–ल्दे, नागदेव (नागराजा) हुनु भयो“ भनिएका कारण यहाँ ब्कसिस–ल्देलाई हुवार–ल्दे (Hbar–Lde) का छोरा नभनिएको हुँदा Hbar–Lde र नागराज एउटै वंशका नभएको, Hbar–Lde पछि राजवंशमा परिवर्तन आएको भनाइ रहेको पाइन्छ ।

राजवंशमा भएको यो क्रमभंगलाई कुमाऊँका खशहरूसँग सम्बन्धित गरेर अध्ययन गरेको पनि पाइन्छ । यसरी नागराजलाई खशसँग सम्बन्धित गरेर अध्ययन गर्नेहरूले पूर्व प्रयाणमा लागेका खसहरू कुमाऊँ पुगेर कोही स्थायी बसोवास गर्न थाले भने कोही अझ पूर्वतिर नै लागेका हुन् । कुमाऊँमा बसेका खशहरूकै एक हाँगा कत्यूरीवंशले सातौँ शताब्दीको अन्त्यतिर त्यहाँ राजवंश स्थापना गरेको कान्तिप्रसाद नौटियालको भनाइ रहेको छ ।

कत्यूरीहरूको यस राजवंश दसौं शताब्दीसम्म कामय नै रह्यो तर भारतको मैदानी भागबाट आएका चन्द राजपूतहरूले बिस्तारै घुसपैठ गर्दै अन्ततः कुमाऊँमा नै अधिकार गर्नुका साथै खसविरुद्ध दमनकारी नीति अवलम्बन गरे । यही बेला कुमाऊँका केही खस दक्षिण–पश्चिम तिब्बतमा गएर आफ्नो प्रभाव जमाउन सफल भएको मान्यता देखिन्छ र खारी प्रदेशमा शासक हुन पुगेका खसहरूकै एक उत्तराधिकारी नागराज हुन् । ती खशहरू तिब्बतमा स्थानीयकरण भएको अनुमान पनि गरिएको पाइन्छ । उनीहरूका सबै कुरा तिब्बतीकरण हुने क्रममा पछि तिब्बतीमूलकै जस्तो लाग्न थाल्यो । तिनै नागराज खारी प्रदेशको सीमा बिस्तार गर्दै दक्षिण लाग्ने क्रममा सिंजा नगरलाई नै नयाँ राजधानी बनाई बस्न थालेको भनाई स्थापित हुन पुगेको हो ।

दुल्लुस्थित राजा पृथ्वी मल्लको कीर्तिखम्बमा आफ्नो पुर्खा राजा नागराजको सिंजा विजयपछिको विवरण मात्रै दिई अभिजनका सम्बन्धमा मौन रहेको छ । स्पष्ट शब्दमा नागराज खारी प्रदेशबाट आएको उल्लेख भएपनि तिब्बती मूल नै हुन् वा खस मूलका हुन् भन्ने जानकारी नदिँदा समस्या भएको हो । कीर्तिखम्बमा रहेको विवरण तिब्बती वंशावलीमा पनि परेको छ साथै राजा नागराजको पुर्खालाई तिब्बती मूलसँग सम्बन्धित गरिएको पाइन्छ । कुनै पनि देशमा जुन जातिको बाहुल्यता छ, त्यस देशको राजा पनि त्यही जातिको हुनुपर्छ भन्ने अनिवार्यता नभएको तर ती जातिको पनि राजा भएका आधारमा ती राजाहरूको पहिचान सोही अनुसार भएर जाने तथ्यलाई ध्यानमा राख्दा राजा नागराज वा उनको वंशज खस जातिसँग सम्वन्धित नभएर तिब्बती मूलको भएपनि पछि खसहरूको राजा भई खस पहिचानसँग जोडिन गएको मान्न सकिन्छ ।

खस साम्राज्यको उदय र विस्तार
खस मल्ल साम्राज्यको जग १२ औं शताब्दीमा नागराजले राखेका थिए । उनी जुम्लाको सिन्जा उपत्यकामा आएर आफ्नो शक्ति स्थापित गरे । सिंंजालाई नै यस साम्राज्यको राजधानी बनाइएको थियो । नागराजपछिका शासकहरूले साम्राज्यलाई अझ विस्तार गरे । १३ औं शताब्दीमा क्राचल्ल र अशोक चल्ल जस्ता शक्तिशाली शासकहरूले यसको प्रभावलाई हिमालयपारि तिब्बतसम्म र दक्षिणमा कुमाउँ–गढवालसम्म फैलाए ।

अशोक चल्लले त लुम्बिनीमा एक स्तम्भसमेत निर्माण गर्न लगाएका थिए, जसले उनको शक्तिको प्रदर्शन गर्छ । यस साम्राज्यको विशेषता भनेको यसले बौद्ध धर्म र हिन्दू धर्म दुवैलाई संरक्षण दिएको थियो । शिलालेखहरूमा दुवै धर्मका देवी–देवताहरूको उल्लेख भएको पाइन्छ । खस भाषा र देवनागरी लिपिको विकासमा यस साम्राज्यको महत्त्वपूर्ण योगदान रहेको मानिन्छ ।

नागराजका उत्तराधिकारीहरूमध्ये चाप, चापिल्ल, क्राशि चल्ल र क्राधि चल्लका बारेमा जान्ने ऐतिहासिक स्रोतको अभाव छ । यही भएर केहीले तिनीहरूलाई निकै कमजोर वा राजा नै नभएको बरु नागराज दीर्घजीवी भएको समेत अनुमान गरेका छन् । तर, पूर्णप्रकाश नेपाल ’यात्री’लगायत केहीले ती राजाहरू अझ प्रभावशाली भएको चर्चा गरेका छन् (२०४२) । यी राजाहरूले पनि साम्राज्य बिस्तारका क्रममा साँधसीमालाई टाढाटाढासम्म फैलाएको देखिन्छ ।

बालेश्वरको ताम्रपत्रबार राजा काचल्लले कुमाऊँ विजय गरेको र त्यहाँका शासकलाई स्थानीय शासन गर्ने जिम्मा दिएको वर्णन पाइन्छ । उनका छोरा अशोक चल्लले त उक्त साधसीमालाई अझ बढाएर गढवालसमेत विजय गरी गोपेश्वर गढवालमा विजयस्तम्भ खडा गरेका थिए भन्ने प्रमाण छ । यही भएर हुन सक्छ उनलाई’सपादलक्षशिखरिक्ष्मापालचूडामणि’ (सवा लाख पर्वत देशका राजाहरूका मुकुटमणि) भनी विरुदावली नै प्रयोग गरिएको छ । ’सपादलक्षशिखरि’ को अर्थ पण्डित भगवानलाल इन्द्रजीले यस प्रकार गरेका छन् ।

“सपादलक्ष सिवालिक पर्वतहरूको पुरानो नाम हो । सपादलक्षको शाब्दिक अर्थ सवालाख हुन्छ जुन यस पर्वतमालाहरूका शिखरहरूका सड्ख्याको आधारमा दिइएको निश्चित हुन्छ । संस्कृत नाम (सपादलक्ष) प्राकृतमा सवालक्ख भयो अनि सिवालिक हुन गयो (अधिकारी, २०५५ पृ. १७ ) ।”

अशोक चल्लकै समयमा पूर्वमा गण्डकी प्रदेशसमेत जितेर त्रिशूली नदीसम्म साँधसीमा पुर्‍याइसकेको पनि देखिन्छ । उनका उत्तराधिकारीहरूमा जितारी मल्ल लगायतले ठुलो सेनाको नेतृत्व गरी त्रिशूलीभन्दा पूर्व अवस्थित नेपाल मण्डलमा पटक पटक प्रवेश गरे पनि त्यो अभियानमा साँधसीमा बिस्तार गर्ने उद्देश्य नभएको बुझिन्छ । यस प्रकार खस साम्राज्यको पूर्वी सीमा त्रिशूली नदी भन्न सकिएको हो । यसरी नै कुमाऊँका एक राजा पुरुषोत्तम सिंह, जो खस साम्राज्यका सामन्तका हैसियतमा थिए, जसले बोधगया (भारत) मा गन्धकुटी बनाउन सम्राट अशोक चल्ललाई विनम्रतापूर्वक ढोगेर अनुमति लिएको उल्लेख पाइन्छ ।

उत्तरी साँधसीमाका सम्बन्धमा तिब्बतका विभिन्न वंशावलीले खस सम्राटहरूलाई खारी (ङारि ल्नबचष्) प्रदेशको शासकका रूपमा प्रस्तुत गरेका छन् जुन दक्षिण–पश्चिम तिब्बतको भूक्षेत्र हो। त्यस प्रदेशको भौगोलिक स्थितिका बारेमा अलेक्जेन्डर कनिङघम लेख्छन् :

“ङारी प्रदेश गुगे, गांग्री र पुरङ नामका तिन वटा साना जिल्लामा विभाजित थियो । ती मध्येमा गुगे सबैभन्दा ठुलो थियो । यसमा थोलिङ र त्सपराङ्गका प्रसिद्ध नगर पर्दछन् । पवित्र तालहरू (मानसरोवर र राक्षसताल वरपरको क्षेत्रलाई गांग्री (कैलाश) भनिन्छ । गाग्रा अर्थात् कर्णाली नदीको माथिल्लो उपत्यकालाई पुराङ भन्दछन् (अधिकारी, २०५५ पृ. ११) ।“

यसरी नै जिसेप टुचीले बारौं शताब्दीको अन्तमा खसहरूले गुगे र पुराङ राज्यमाथि सम्भवतः (लद्दाखमा पनि) आक्रमण गरेको र तेरौं शताब्दीको अन्तमा पुराङ, गुगे र पश्चिम नेपाल एकीकृत भएको वर्णन गरेका छन् (त्गअअजष् १९५६ः१२९–३०) ।

यी विवरणहरूबाट थाहा हुन्छ, दक्षिण पश्चिममा सम्पूर्ण कुमाऊँ र गढवाल इलाकासम्म र उत्तर पश्चिममा पश्चिम तिब्बतको खारी (ङारि) इलाकाको स्याङसुङ अर्थात् सम्पूर्ण गुगे–पुराङ क्षेत्र र पूर्व र दक्षिणमा वर्तमान नेपालको नुवाकोट इलाकासम्म तथा उत्तर पूर्वमा तिब्बतको माङयुल–गुङथाङ इलाकातर्फसम्म फैलिएको छ । यस अर्थमा खश साम्राज्य हिमालवारि र हिमालपारि दुबैतर्फ फैलिएको एक शक्तिसम्पन्न विशाल साम्राज्य थियो जुन इसाको पन्ध्रौं शताब्दीसम्म कायम रहेको देखिन्छ ।

११ औं शताब्दीदेखि १४ औं शताब्दीसम्म यसले पश्चिम नेपालका ठूला भूभागहरू, तिब्बतको पश्चिमी भाग र भारतको कुमाउँ–गढवाल क्षेत्रसम्म आफ्नो प्रभाव विस्तार गरेको थियो । यसले खस साम्राज्यको स्थापना लगभग ११ औं वा १२ औं शताब्दीतिर नागराज नामक राजाले गरेका थिए । उनी तिब्बतको ङारी (खारी) प्रदेशबाट सिंजा उपत्यकामा प्रवेश गरी आफ्नो राज्य स्थापित गरेको मानिन्छ ।

समयक्रममा पूर्वमध्यकालीन समयको नेपाल एकीकृत र केन्द्रीकृत रूपमा एउटै राज्यको रूपमा रहन सकेन । केन्द्रीय प्रशासन कमजोर भएको मौका छोपी पश्चिम कर्णालीमा छुट्टै राज्यको रूपमा खस राज्य अस्तित्वमा आयो । पहिल्यैदेखि पश्चिम एशियाबाट ककेशिया मानसरोवर हुँदै खसआर्य नेपालको पश्चिम भागमा आएर बसोबास गरेका थिए । यो जाति आर्य भए पनि वैदिक आर्य नभएर मस्टो कुलदेवता मान्ने खसआर्य जाति हो । यो जातिको मुख्य बसोबासको क्षेत्र डोटी र जुम्ला आसपास भएपनि यिनीहरू नेपालको पश्चिम, गढवाल र गंगाको मैदानसम्म फैलिएका थिए ।

खसमण्डलको नामले समेत चिनिने कर्णाली प्रदेशमा नागराजले खस साम्राज्यको जग हाल्नुपूर्व पनि खसहरूले शासन गरेका थिए । ‘मल्ल, चल्ल, झल्ल, इल्ल, पाल’ जस्ता थर भएका खस राजाहरूले राज्य गरेका थिए । यी राज्य कहिले विस्तारित हुन्थे कहिले खुम्चिन्थे । ती राज्यहरूका राजधानीका रूपमा सिञ्जा, दुल्लु, सुर्खेत र धुलीकोट विकसित भएका थिए ।

शासन व्यवस्था र सांस्कृतिक पक्ष
खस साम्राज्य, मध्यकालीन नेपालको एक शक्तिशाली राज्य, यसको सुदृढ शासन व्यवस्था र समृद्ध सांस्कृतिक पक्षका लागि परिचित छ ।

शासन व्यवस्था
खस साम्राज्यको शासन व्यवस्था सुव्यवस्थित र केन्द्रीकृत थियो । राजालाई सर्वोच्च शासक मानिन्थ्यो र उनको शक्तिमाथि धार्मिक मान्यताको ठूलो प्रभाव थियो । प्रशासनलाई विभिन्न तहमा विभाजन गरिएको थियो । मन्त्रिपरिषद्ले राजालाई शासन सञ्चालनमा सहयोग पुर्‍याउँथ्यो, जसमा महामात्य (प्रधानमन्त्री), अमात्य (मन्त्री), दौवारिक (द्वारपाल), भाण्डारिक (कोषाध्यक्ष) जस्ता पदहरू प्रमुख थिए ।

न्याय प्रणाली पनि व्यवस्थित थियो । स्थानीय स्तरमा पञ्चायत र कोट प्रणालीमार्फत न्याय निरोपण गरिन्थ्यो । खस राज्यमा कर प्रणाली पनि विकसित थियो, जसमा भूमिकर, व्यापारिक कर र अन्य विभिन्न प्रकारका शुल्कहरू समावेश थिए । सैन्य संगठन सुदृढ थियो र यसले राज्यको विस्तार र सुरक्षामा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

सांस्कृतिक पक्ष
खस साम्राज्यको सांस्कृतिक पक्ष विविध र समृद्ध थियो। हिन्दु धर्म राज्यको प्रमुख धर्म थियो र शैव तथा शक्ति परम्पराको प्रभाव अधिक देखिन्थ्यो । यसका साथै बौद्ध धर्म पनि सहअस्तित्वमा थियो । वास्तुकला, मूर्तिकला र चित्रकलामा पनि यसको प्रभाव देख्न सकिन्छ । खस राज्यले कला र साहित्यलाई प्रश्रय दिएको थियो । संस्कृत र खस भाषा (हालको नेपाली भाषाको आदिम रूप) मा धेरै साहित्यिक कृतिहरू रचिएका थिए ।

सामाजिक संरचना वर्णाश्रम प्रणालीमा आधारित थियो, यद्यपि खस समुदायमा आफ्नै विशिष्ट सामाजिक रीतिरिवाज र परम्पराहरू थिए । चाडपर्व र उत्सवहरूले सामाजिक जीवनमा महत्त्वपूर्ण स्थान राख्थे । खस साम्राज्यले व्यापार र वाणिज्यमा पनि उल्लेखनीय प्रगति गरेको थियो, जसले छिमेकी राज्यहरूसँगको सांस्कृतिक आदानप्रदानमा सहयोग पु¥यायो । यसरी खस साम्राज्यले राजनीतिक स्थायित्वका साथै सांस्कृतिक विकासमा पनि महत्त्वपूर्ण योगदान पु¥याएको देखिन्छ ।

खस साम्राज्यको पतन र यसको महत्त्व
खस साम्राज्य, मध्यकालीन नेपालको एक शक्तिशाली र विस्तृत राज्य भए तापनि, विभिन्न आन्तरिक तथा बाह्य कारणले गर्दा अन्ततः यसको पतन भयो । यद्यपि, यसको पतनका बाबजुद पनि खस साम्राज्यको ऐतिहासिक महत्त्व अतुलनीय छ । खस साम्राज्यको पतनका विभिन्न कारणहरू थिए, जुन आन्तरिक र बाह्य दुवै पक्षबाट जिम्मेवार थिए । कुनै एक कारणले मात्र नभई धेरै कारणहरूको समिश्रणले गर्दा यो विशाल साम्राज्य टुक्रिन पुग्यो ।

(यो अनुसन्धानमूलक लेखको बाँकी अंश अर्को भागमा आउनेछ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार